५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

फाइल तस्वीर

दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन। नेपालगन्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए। कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरूले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे। त्यसपछि उनीहरू सवार बस विमानस्थलतर्फ लाग्यो।

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए। विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो।

हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ। महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरूको अनुहार उज्यालिएको थियो। ‘विमानले जसै टेकअफ गरी उत्तरतर्फ उचाइ बढाउँदै यात्रीहरूको मनमा कौतूहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो। झन्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो’, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने।

विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरूले दुई हात जोडेर नमस्कार गरे। उनीहरूका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत बिराजमान थियो। उनीहरू मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे। यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरूको ध्यानाकर्षण गराए।

सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे। सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्त्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले।

महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरू पण्डितले बताएका हरेक विषयमा चासोपूर्वक सुनिरहेका थिए। विमानले तीनचार फन्को लगाइसकेको थियो।

कैलाशलाई साक्षात् दर्शन गर्न पाउँदाको खुसी यात्रुहरूका आँखाबाट छल्किरहेको थियो। कोही आँखाभरि खुसीका आँसु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केही मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप गरिरहेका थिए।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ। यात्रीहरूको  आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ।

बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो। जसमा आठ जना नेपाली र दुई सय ३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए।

कैलाश पर्वत दर्शनपछि उनीहरूले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए। पथिल होलिडेजले नयाँ गन्तव्यका रूपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ।

‘हाम्रा लागि भारत ठुलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउन्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौं’, न्यौपानेले भने, ‘तिर्थयात्रीहरूलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौं।’

भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मंगलबार साँझपख नेपालगन्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्त्वपूर्ण पल भएको बताए। ‘हामी यहाँ योजना बनाएर आएका थिएनौं, सायद महादेवको आशीर्वाद थियो होला, हाम्रो यो पारिवारिक यात्रा निकै राम्रो भयो,’ उनले भने।

उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाउनुभयो। पछिल्ला केही वर्षयता भारतीयहरू भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन्।

भिसा, समय तथा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको कैलाश पर्वतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए। कैलाश पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आएका विनोद शर्माले सुनाए।

उनले भने, ‘जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइँन। म यो खुसीको बयान गर्न निशब्द छु।’

उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए। आफूहरू कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएको महसुस भएको सुनाए।

गत माघदेखि नेपालगन्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म ५ सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन्।

साथै यही वैशाख १० गतेका लागि करिब २०० भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ। उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीले नेपालगन्जमा नयाँ पर्यटकीय गन्तव्यका रूपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे। उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए।  

प्रकाशित: ९ वैशाख २०८१ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App