७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

लागुऔषध कारोबारीमाथि निगरानी बढाउँदै कपिलवस्तु प्रहरी

गत फागुन १० गते लागुऔषध खैरो हेरोइनका मुख्य कारोबारी भारतबाट बाणगंगा नगरपालिकातिर आउँदै छन् भन्ने प्रहरीलाई सूचना आयो। पहिलेदेखि नै निगरानीमा रहेका कपिलवस्तु नगरपालिका–११ जहदीका सुरज चौधरी लु२२प ७५० नम्बरको सुपर स्प्लेन्डर मोटर साइकलमा बाणगंगा नगरपालिकातर्फ आउँदै छ।

प्रहरीले कपिलवस्तु नगरपालिकाको वडा नम्बर ११ बनगाई बग्दी भित्री सडकखण्डबाट उनलाई पक्राउ गरी खानतलासी लिँदा प्लास्टिकमा राखिएको अवस्थामा १५ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन बरामद भयो।

पक्राउ परेका चौधरीलाई जालमा पार्न प्रहरीले धेरै दिनदेखि योजना बनाएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालबहादुर रायमाझीले बताए। चौधरी ६ महिनाको अवधिमा सबैभन्दा बढी परिमाणमा खैरो हेरोइनसहित पक्राउ पर्ने व्यक्तिसमेत हुन्।

उनले बाणगंगा र आसपासमा भारतबाट खैरो हेरोइन ल्याएर बेच्ने गरेको रायमाझी बताउँछन्। पकडीबाट लु२५प २७०६ नम्बरको मोटरसाइकलमा सवार भई आइरहेका २५ वर्षीय युवराज थारुलाई खैरो हेरोइन आठ ग्राम ८९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको थियो। मोटरसाइकलको टुल बक्समा दुईवटा प्लास्टिकको थैलीमा लुकाइराखेको अवस्थामा खैरो हरेरोइन बरामद गरिएको थियो।

मंसिर अन्तिम साता कपिलवस्तुको बाणगंगा नगरपालिका–३ कर्महनामा चार ग्राम बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका थिए। तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ आउँदै गरेको लु१८प ५५०८ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाच गर्ने क्रममा दुईजना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

बाणगंगा नगरपालिका–१ का वर्ष ३० का विजय राई र उक्त मोटरसाइकल पछाडि सवार बाणगंगा नगरपालिका–२ वर्ष ३४ का दिनेश घिमिरे चार ग्राम २०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। चेकजाँच गर्ने क्रममा प्रहरीले पोका लुकाई छिपाई राखेको अवस्थामा सो लागुऔषध फेला पारेको थियो।

लागुऔषधको जालो तोड्न पिपरा प्रहरले मुख्य कारोबारीतर्फ ध्यानकेन्द्रित गरेको रायमाझीले बताए। सोही क्रममा चलाइएको विशेष अभियानपछि कारोबारी धमाधम पक्राउ परिरहेका छन्। साढे ६ महिनाअघि इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक गोपाल रायमाझी आएपछि बाणगंगामा लागुऔषधविरुद्ध विशेष अभियान चलाएका थिए। जनगुनासो बढेपछि आफूले लागुऔषधविरुद्ध विशेष अभियान चलाएको प्रहरी निरीक्षक रायमाझीले बताए।

बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुर्व्यसनी रहेको नगरवासीको भनाइ छ। इप्रका पिपराले लागुऔषध दुव्र्यसनी र कारोबारी बढेपछि चलाएको विशेष अभियानमा ६ महिनामा ३३ कारोबारी पक्राउ गरी मुद्दा चलाइएको रायमाझीले बताए।

सो अवधिमा ४५ ग्राम ६५ मिलिग्राम लागुऔषध बरामद गरिएको छ। दुव्र्यसनी र कारोबारीहरू भारतीय बजारमा गएर खैरो हेरोइनसहित अन्य लागुऔषध पनि लुकाई छिपाई ल्याउने गर्छन्। कारोबारीले पुरिया बनाई प्रतिपुरिया पाँच सयदेखि एक हजार सम्ममा बिक्री गर्ने गर्छन्। लागुऔषधको कारोबारी र दुव्र्यसनीमा विशेष गरी युवा र विद्यार्थी नै फसेका छन्।

‘हामीले बाणगंगा क्षेत्रमा लागुऔषधविरुद्ध आक्रामक अभियान चलाएका छौं,’ रायमाझीले भने। बाणगंगा र कृष्णगनर क्षेत्रमा लागुऔषधको कारोबार र दुव्र्यसनी बढेपछि आफूले त्यस क्षेत्रमा निगरानी बढाउन निर्देशन दिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

त्यहीअनुसार प्रहरीलाई सफलतासमेत मिलेको उनको भनाइ छ। उनले प्रहरीको यो अभियानमा नागरिकले समेत साथ दिनुपर्ने बताए। कृष्णगनरमा समेत ६ महिनाको अवधिमा ३५ किलो बढी चरेससहित ६ जना पक्राउ परेका छन्। बाणगंगा नगरपालिका क्षेत्रमा लागुऔषधविरुद्धको जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए।

प्रकाशित: २० फाल्गुन २०८० ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App