६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

प्रेममय लेकसाइड

लेकसाइडको प्याराडिजो स्पोर्टस् बार मंगलबार बेलुकी युवा जोडीले खचाखच थियो। हुन त अरुबेला पनि त्यहाँ पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए। विभिन्न सांगीतिक धुनमा उनीहरू मस्त पनि थिए।

भ्यालेन्टाइन डे (प्रणय दिवस) ले अहिले पोखराको पर्यटकीय क्षेत्र प्रेमिल बनेको छ। उनै युवा पुस्ताका जोडीलाई लक्षित गर्दै पर्यटन व्यवसायीले विभिन्न अफर पनि पस्केका छन। रेस्टुरेन्टमा खानेदेखि आकाशमा रमाउने प्रडक्टमा समेत व्यावसायीले छुट दिएका छन्। त्यसैगरी चल्तीका होटलदेखि रेस्टुरेन्टसम्मले ‘क्यान्डललाइट डिनर’ पस्कने तयारी गरेका छन्।

‘पोखरा आफैंमा पर्यटकीय सहर भएकाले युवायुवतीको गन्तव्य नै हो। यहाँ प्रेमिप्रेमिका घुमघामका लागि आउने कुनै दिन कुर्नुपर्दैन तर, भ्यालेन्टाइन डेले यसलाई झनै विशेष बनाइदिएको छ’, प्याराडिजोका सञ्चालक गोपी भट्टराई भन्छन्, ‘पोखराले अरुबेलाभन्दा फरक फ्लेबर पस्केको छ। प्रेमिल जोडिीका लागि विशेष बनेको छ।’

प्रणय दिवसको यही छेको पारेर पोखरा घुम्न आउनेमा पछिल्लो समय युवायुवती मात्र नभई परिवार नै हुन थालेको पनि उनले बताए। ‘पारिवारिक प्रेमले अहिले बढी महत्व पाउँदै गएको छ। प्रेम युवायुवतीमा मात्र नभई परिवारमा पनि उत्तिकै महत्व छ। त्यसैले यही अवसर पारेर परिवारै घुम्न आउने पनि गरेका छन्’, उनले भने।  

‘भ्यालेन्टाइन डे’ को अवसर पारेर विभिन्न पर्यटकीय प्रडक्टमा छुट पनि व्यावसायीले दिएका छन्। पोखराको आकाशमा हट एयर बेलुनमा उडान गर्नेलाई १४ प्रतिशत छुट दिइएको छ। हट एयर बेलुनमा दिइएको छुट फागुन ८ सम्म रहने कम्पनीका अध्यक्ष विक्रम बाडेले बताए। छुट पाउनका लागि दुईजनाको बुकिङ हुनुपर्ने पनि उनले बताए। ‘प्रणय दिवसलाई स्मरणयोग्य बनाउका लागि यो छुट दिएका हौं। प्रेमिप्रेमिकालाई आकर्षण गर्ने प्रयास हो’, उनले भने।  

त्यस्तै अल्ट्रालाइट उडानमा पनि यो बेला छुट घोषणा गरिएको छ। पोखरा अल्ट्रालाइट कम्पनीका सञ्चालक पोमनारायण श्रेष्ठले शुल्कमा २० प्रतिशत छुट दिएको बताउँछन्। ‘पोखरा सबै उमेर समूहका पाहुनाको गन्तव्य हो, तर प्रणय दिवसले नयाँ पुस्ताका पाहुनालाई बढी आकर्षण गरेको छ’, श्रेष्ठले भने, ‘प्रणय दिवस यादगार बनाउनका लागि अल्ट्रालाइटमा छुट दिएका छौं। यसले केही हदसम्म भए पनि आकर्षण बढाउने अपेक्षा छ।’

आकाशको उडानमा मात्र नभई खानामा पनि उत्तिकै प्याकेज व्यवसायीले ल्याएका छन्। सामाजिक सञ्जालमा प्याकेज सार्वजनिक गर्दै चल्तीका होटल तथा रेस्टुरेन्टले छुट दिएका छन्। फेवातालको मनोरम दृश्य नियाल्न पाइने द बिच रेस्टुरेन्टले १५ प्रतिशत छुट दिएको छ। भ्यालेन्टाइन केक र रुमको सजावट पनि गरिदिने द बिचले बताएको छ। एक जोडीका लागि ६ हजार रुपैयाँको प्याकेज बिचले सार्वजनिक गरेको छ।

त्यसैगरी वाराही होटलले पनि क्यान्डल लाइट डिनर भन्दै ७ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ। त्यसैगरी चारतारे होटल पोखरा ग्रानडले पनि १४ हजार रुपैयाँको भ्यालेन्टाइन प्याकेज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।

प्याराडिजोको सञ्चालकसमेत रहेका रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्व अध्यक्ष भट्टराई युवायुवतीलाई आकर्षण गर्नका लागि फरक प्याकेज ल्याइएको बताउँछन्। ‘माया, प्रेम, सम्बन्धलाई यादगर बनाउने उपायको खोजीमा प्रेमी–प्रेमीका हुने गरेका छन्, व्यवसायीले उनैलाई लक्षित गर्दै प्याकेज ल्याएका छन्’, उनले भने।

उनका अनुसार प्रणय दिवसका पारेर आएका जोडी पाहुनाका कारण पर्यटन क्षेत्रले केही रोमाञ्चकता पनि पाएको छ। ऋरू पाहुनाका लागि यो बेला अफसिजन भए पनि युवा पुस्ता भने यस्तो समयमा बढी आकर्षित हुने गरेका छन्। स्वदेशी मात्र नभई यो समयका लागि भनेर भारतीय पाहुना पनि पोखरा आउने गरेका छन्।

प्रकाशित: २ फाल्गुन २०८० ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App