१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

तरकारी पसलमा महानगरको अनुगमन

पोखराको तरकारी बजारमा अनुगमन गर्दै पोखरा महानगरको टोली। तस्बिरः नागरिक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। 

सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।

कुनैपनि खाद्य उत्पादक, व्यवसायी वा विक्रेताले खाद्य प्रदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंगाइएको कागजलाई प्रयोग नगर्न पनि महानगरले अनुरोध गरेको छ। खानेकुरासँग सिधा सम्पर्क हुनेगरि त्यसरी खानेकुरा बिक्री गर्नेलाई कारबाही गर्ने पनि महानगरले बताएको छ।

पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरीपुरी तरकारी पसल, पकौडा, समोसा सहित र मासु तारेर खुलमखुला कागजमा बिक्री गर्ने गरेको महानगरले बताएको छ। 

मसीले लेखेका कागजमा खाद्य सामाग्री नबेच्न पहिलो पटकका लागि सचेत गराइएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए।

‘मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बिक्री गर्दा खानेकुराको सम्पर्क मसीसँग हुने र त्यो मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकोले रोक लगाइएको हो,’ कडरियाले भने। 

उनका अनुसार खाद्य ऐन २०२३ को दफा (७) मा भएको अधिकार प्रयोग गरी खाद्य बस्तुको गुणस्तर निर्धारण सम्बन्धमा २०८० जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गरी खाद्य प्रदार्थमा यस्ता प्रकारका काजगको प्रयोग नगर्न सूचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि रोक लगाएको उनले बताए।

खाद्य ऐन २०२३ दफा ५ को उपदफा(२) विपरीत हुने भएकाले सोही अनुसार कारबाही गर्न सकिने व्यवस्था रहेको उनले बताए। यो ऐनको उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

तरकारी पसलमा अनुगमन

बजारमा गुणस्तरहीन तरकारी बिक्री भएको गुनासो आएको भन्दै पोखरा महानगरपालिकाको बजार अनुगमन समितिले पोखराका आलु प्याज सहित मौसमी तरकारी बिक्री गर्ने पसलमा अनुगमन गरेको छ।

पोखरा महानगरपालिकाकी उपप्रमुख एवं बजार अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्तिवनबाटिका स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चारवटा आलु, प्याजका पसलमा अनुगमन गरेको थियो।

पोखरा बजारमा कुहिएको प्याज बिक्री वितरण भइरहेको भन्नेबारे प्रधानमन्त्री कार्यालयमा रहेको हेलो प्रधानमन्त्रीमा गुनासो परेपछि कृषि उपज तथा थोक बजारमा रहेका आलु, प्याज गोदाममा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा पसल फोहोर भएको, मूल्य सूची नरहेको, नापतौल दर्ता नभएको, व्यवसाय नवीकरण नगरिएको तथा बिक्री बिल नभएको, तरकारी अव्यवस्थित रुपमा राखेको भेटिएको थियो। 

पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीका अनुसार थोकबजारका चारजना व्यवसायीलाई व्यवसायमा सरसफाई गर्न र मूल्य सूची राख्न तथा नापतौल दर्ता गर्न भनिएको छ।

प्रकाशित: १ फाल्गुन २०८० १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App