६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

छ महिनामा ५३६४ फरार प्रतिवादी पक्राउ, सवा एक अर्ब जरिवाना असुल

नेपाल प्रहरीले चालु आर्थिक वर्षका ६ महिनामा अदालतले कसुर ठहर भई फरार सूचीमा रहेका पाँचहजार ३६४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। साउनदेखि पुस महिनासम्मको अवधिमा अदालतको फैसला कार्यान्वयनबाट भागेर सम्पर्कबिहीन रहेका ती प्रतिवादीलाई पक्राउ गरेर जेल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका प्रतिवादीहरूमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)बाट ५४ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ६१३ जना, कोशी प्रदेश प्रहरीबाट ८२५ जना, मधेश प्रदेश प्रहरीबाट एक हजार ७९७ जना, बागमती प्रदेश प्रहरीबाट ५२२ जना, गण्डकी प्रदेश प्रहरीबाट ४४७ जना, लुम्बिनी प्रदेश प्रहरीबाट ९१६ जना, कर्णाली प्रदेश प्रहरीबाट ८३ जना र सुदूरपश्चिम प्रदेश प्रहरीबाट १०७ जना पक्राउ परेका हुन्।

पक्राउ परेको यो संख्या अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिभन्दा तीन १५० जनाले बढी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै फरार प्रतिवादीहरू पक्राउ परेपछि अदालतले तोकेको दुईहजार १३५ वर्ष १० महिना र २६ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ।

यस्तै पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको एक अर्ब १९ करोड ८४ लाख ४९ हजार ३६१ रूपैयाँ जरिवाना पनि असुल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जुन अघिल्लो वर्षको ६ महिनाको अवधिभन्दा करिब ३१३ प्रतिशतले बढी रहेको जनाइएको छ।

फरार प्रतिवादीहरूको पक्राउ संख्या बढ्नुमा नेपाल प्रहरीको प्राथमिकता र सक्रियता प्रमुख कारण रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी)भिमप्रसाद ढकालले बताए।

उनले भने,‘सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय लगायतका निकायसँग समन्वय गरी प्रहरी परिचालनबाट न्यायिक दण्ड जरिवाना उन्मुक्ति लिने/भाग्ने प्रवृत्तिलाई निरूत्साहित र नियन्त्रण गर्ने गरिएको छ। यसलाई अहिले प्रहरीले प्राथमिकतामा राखेर सक्रियता बढाएपछि यो उपलब्धी हासिल भएको हो।’

उनका अनुसार प्रहरीले सबै जिल्लामा फैसला कार्यान्वयनको लागि अदालतसँग समन्वय गरी विशेष अभियान नै चलाइएको छ।

प्रकाशित: २७ माघ २०८० १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App