२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे निकै चलाख निस्किए। बाँदर नियन्त्रणका लागि ’मेरो रुख म काट्छु’ अभियान चलाउन गत माघ १५ गते  विज्ञप्तिमार्फत आव्हान गरेका वडाध्यक्ष पाण्डेले गाउँलेलाई सूचना पहिले नै रुख काट्न लगाएको तथ्य बाहिर आयो।

वडाध्यक्ष पाण्डेले गाउँलेलाई ‘तपाईँहरू घर वरपरका रुख काटनुस, परेको म व्यहोर्छु’ भनेपछि विज्ञप्ति जारी गरेको मिति भन्दा एक सता अघिनै त्यहाँका रुखहरू भटाभट काटिए। यस घटनाले स्पष्ट हुन्छ, वडाध्यक्ष पाण्डेलाई पहिलै थाहा रहेछ विज्ञप्ति जारी भएपछि रुख काट्न पाइँदैन भनेर। अहिले गाउँले भन्दै छन्, ‘त्यसैले उनले यो उपाय निकालेको हुनुपर्छ।

बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान चलाउन मंगलबार आव्हान गरेका थिए। तर, गाउँलेले उनकै अनुमतिमा त्यस अघि नै रुख काटिसकेका थिए। रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो। पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिनभित्र घर वरपरका रुख काट्न सार्वजनिक अपिल जारी गरेका थिए।

वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यस विरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यसलगत्तै पोखरा महानगरपालिकाले रुख काट्ने अभियान रद्द गर्न निर्देशन पनि दिएको थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रुख काट्ने नीति महानगरको नभएको भन्दै कोही पनि भ्रममा नपर्न आग्रह सहित रुख काट्ने अभियान सञ्चालन नगर्न, नगराउन भन्दै सूचना जारी गरेका थिए।

स्थानीयका अनुसार वडाले सूचना निकाल्नु एक हप्ताअघि स्थानीय स्तरमा गठन भएको बाँदर नियन्त्रण कार्यक्रमको पहलमा छलफल भएको थियो। सो छलफलमा वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने बताएका थिए। त्यसका लागि वडाले सूचना जारी गर्ने भन्दै तत्काल रुख काट्न स्थानीयलाई आग्रह गरेका थिए। वडाध्यक्ष पाण्डेको भनाई उद्धृत गर्दै एक स्थानीयले भने, ‘बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सञ्चालन गर्नुपर्छ। त्यसको वातावरण म मिलाउँछु। तपाईँहरू अहिलेदेखि नै त्यस तर्फ लाग्नुस्।’

त्यसबेला स्थानीयले रुख कटान गरेको आरोपमा कानुनी झन्झटमा फसिन्छ कि भनेर आशंकित हुँदै प्रश्न पनि गरेका थिए। तर, स्थानीयको त्यो आशङ्कालाई चिर्दै वडाध्यक्ष पाण्डेले भनेका थिए,‘तत्काल सूचना निकालिन्छ। तपाईंहरुलाई कुनै समस्या पर्दैन।’

वडाध्यक्ष पाण्डेको प्रतिबद्धतापछि स्थानीयले रुख काट्न सुरु गरेका थिए। बाँदरका कारण हत्तु परेका स्थानीय वन ऐनका कारण रुख काट्न नपाइने हो कि भन्ने चिन्तामा थिए। तर वडाध्यक्षले नै रुख काट्न मौखिक सहमति दिएको र सूचना निकालेर नै वैधानिक बनाउने आश्वासन दिएपछि स्थानीयले घर वरपरका रुख काट्न थालेका थिए।

एक स्थानीयले भने, ‘वडाध्यक्षले नै जिम्मा लिन्छु भनेपछि हामीले भटाभट रुख काट्यौँ।’ उनका अनुसार अहिले पोखरा–१९ घार्मी साइडका अधिकांशले रुख काटिसकेका छन्। ‘अब बाँकी भनेको गाउँ छाडेर सहर झरेका र घरमा पुरुष नभएकाहरूको मात्र छ,’उनले थपे।

बाँदर नियन्त्रण कार्यक्रमकी संयोजक तथा स्थानियबासी लीला पौडेलले रुख काट्ने सहमति भएपछि घर वरपरका रुख काटेको स्विकार्छिन्। ‘रुख काटेको भनेर वन नै मासेका त होइनौँ,’ उनले भनिन्, ‘बाँदरका कारण घर वरपरका फलफूल खानै पाइएन । त्यसैले बाँदर नियन्त्रणका लागि रुख काटेका हौँ।’

वन ऐन अनुसार रुख काट्नुअघि स्थानीय तह वा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ। तर वडाध्यक्ष पाण्डेले स्थानीयलाई प्रक्रिया नपुर्‍याई रुख काट्न लगाएको पाइएको छ। डिभिजन वन कार्यालय कास्कीका प्रमुख पूर्णेश्वर सुवेदी अनुमति नलिई रुख काट्दा झमेला हुनसक्ने बताउँछन्। ‘काटेको रुख ओसारपसार गर्दा त समस्या पर्न सक्छ,’ उनले भने, ‘यदि अनुमति नलिई रुख काटेको रहेछ भने त्यसबेला वन ऐन आकर्षित हुनसक्छ।’

रुख काट्ने अभियान सञ्चालन गरेका पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे व्यक्तिको निजी जमिनमा रहेको रुख काट्न पाउनु उसको अधिकार भएको बताउँछन्। ‘बाँदरले आक्रान्त स्थानीयलाई राहत होस् भनेर रुख काट्ने अभियान सञ्चालन गर्न खोजिएको हो,’ उनले भने, ‘तर यहाँ वन नै मासे जसरी प्रचारबाजी गरिएको छ।’ उनका अनुसार स्थानीयले पहिलेदेखि नै रुख काट्दै आएका थिए। तर घर छाडेर सहर पसेका वा घरमा काम गर्ने मान्छे नभएकाहरूले रुख नकाट्दा बाँदरको आतङ्क नरोकिएको उनले बताए।

उनले भने, ‘नकाटिएका रुख पनि काट्नका लागि प्रेरित गर्न सूचना निकालिएको हो।’ उनले काटिएका रुखका काठ, दाउरा ओसारपसार गर्ने व्यवस्था जसरी पनि आफैले मिलाउने दाबी गरे। अहिले महानगरले सामाजिक सञ्जालमा उर्लिएको भीडको कुरा सुनेर रुख काट्ने अभियान रद्द गर्न भनेको जिकिर गर्दै उनले अगाडि थपे, ‘अभियान सफल बनाउने र काटिएका रुखका काठ, दाउरा ओसारपसार गर्ने व्यवस्था जसरी पनि मै मिलाउँछु।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने रुख काटिसकेको बारे अनभिज्ञता प्रकट गरे। ‘खै यसबारे जानकारी भएन,’ उनले भने, ‘रुख काट्ने भनेर सूचना निकाल्ने बित्तिकै खारेज गर्न चाहिँ भनेका छौँ। त्यसरी पहिल्यै काटिसकेको त मेरो जानकारीमा छैन।’ उनले प्रक्रिया नपुर्‍याई रुख काट्ने र काट्न लगाउनेलाई के गर्ने भन्नेबारे छलफल गरेपछि मात्रै बताउन सक्ने बताए।

प्रकाशित: १८ माघ २०८० ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App