५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रिसइबी मिलापत्र गर्ने निहुँमा भेला भएको समूहबीच खुकुरी हानाहान

म्याग्दीमा भएको ग्याङ फाइटमा एकजनाको ज्यानै गयो

म्याग्दीको बेनीमा ग्याङ फाइट भएपछि भेला भएका सर्वसाधारण। तस्बिरः हरिकृष्ण गौतम/नागरिक

म्याग्दी सदरमुकाम बेनी र आसपासका गाउँका युवाको समूहबीच बेलाबेला ‘ग्याङ फाइट’ परिरहन्थ्यो। सामान्य विवादले पनि उग्ररुप लिँदै जाँदा बेलाबेला ती समूह एकअर्कासँग भीड्दै आएका थिए। युवाबीचको त्यही विवादलाई सल्टाउने गरि विहीबार बेनीमा दुई समूह भेला भए।  

पूरानो रिसइबीलाई मिलापत्र गर्ने निहुँमा भेला भएका उनै दुई समूहबीचको विवादले विहीबार बेलुकी पुन उग्र रुप लियो। अनि त्यही भीडमा अन्धाधुन्ध खुकुरी प्रहार भयो। खुकुरी प्रहारबाट एकजना युवाको ज्यानै गएको छ। अर्का एकजना युवा घाइते भएका छन।  

म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेग घर भई हाल बेनी नगरपालिका–८ पिपलचोकबस्ने २२ बर्षिय सुशील गर्वुजाको ज्यानै गएको प्रहरीले बताएको छ। सुशीलकै समूहका सदस्य बेनी–६ अर्थुङगेका अनुराग शाही घाइते भएको म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक कुमार गुरुङले जानकारी दिए।  

घटनामा संलग्न भएको आरोपमा प्रहरीले अमृत पुर्जा, शंकर घर्ती, प्रविण जिसी र उत्सव पुनलाई पक्राउ गरेको छ। उनीहरु मृतकको विपक्षी समूहका युवा हुन्। प्रहरी निरिक्षक गुरुङका अनुसार दुई समूहमा बाँडिएका युवामध्ये केही सदरमुकाम बेनीका छन भने केही आसपासका गाउँपालिकाका बासिन्दा हुन।  

‘दुइ समूहमा बाँडिएका युवाको सामान्य खालको विवाद पहिले देखि नै रहेछ। विवाद ठूलो होईन तर, रमाइलो गर्ने क्रममा झै झगडा गरिरहने समूह भएको खुलेको छ,’ उनले भने, ‘ठूलो खालको रिसइबी भन्दा पनि मादक पदार्थ सेवन गर्ने र झगडा गर्ने समूहबीचको विवाद हो।’  

पहिला पहिला परेका झगडालाई मिलापत्र गर्ने भनेर दुई समूह विहीबार भेला भएको र त्यही भेला पुन झगडामा परिणत हुँदा खुकुरी हानाहानसम्म भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए। ‘हुन त योजनावद्ध नभई भवितव्य देखिन्छ। तर, हतियार प्रहार भएको छ। देखादेख हतियार लिएर त आएनन तर, पछि ग्रुप बीच नै विवाद भएपछि प्रतिकारमा उत्रने तरिकाले खुकुरी प्रहार गरेको अनुमान छ,’ उनले भने, ‘विवादलाई समाधान गर्ने निहुँमा भेला भएको समूहबीचकै झगडा भएको हो। तर, अनुसन्धान भईरहेको छ।’

घटनापछि प्रहरीले विहीबार बेलुकी नै २ जना र शुक्रबार थप २ जनालाई पक्राउ गरेको उनले बताए। ‘रातभर खोजी गरेर बल्ल बिहान थप २ जना पक्राउ गर्न सक्यौं,’ उनले भने।  

यही समूहबीच माघे संक्रान्ति मेलामा पनि ग्याङ फाइट भएको थियो। उनीहरुको विवादबारे प्रहरीलाई पनि जानकारी रहेको श्रोतले बतायो। संलग्नलाई पक्राउ गर्नका लागि बेनीबजारबाट ग्रामिण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत ब्यापक चेकजाच गरिएको प्रहरीले बताएको छ। यो घटनामा संलग्नहरु २०–३० वर्ष उमेर समूहका यूवा रहेको प्रहरीको अनुमान छ।

प्रकाशित: १२ माघ २०८० ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App