५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

साली नदीमा १ सय ९९ महिला र २१ पुरुष स्वस्थानीको कठोर व्रतमा

कसरी गरिन्छ व्रत?

सधैँ झैँ यस वर्ष पनि स्वस्थानी व्रत कथाको महिना बिहीबारदेखि सुरु भएको छ। यसै अवसरमा काठमाडौँको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेला पनि सुरु भएको छ।

स्वस्थानी व्रत कथामै उल्लेख भएको शालीनदी मेलामा यस वर्ष २ सय २० जना व्रतालु रहेका छन्। यसमध्ये १ सय ९९ जना महिलाले कठोर व्रत लिइरहेका छन्।

श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।

शाली नदीमा एक महिना श्री स्वस्थानीको व्रत बस्ने क्रममा शाली नदी नजिकै कोठा भाडा लिएर व्रत बस्ने व्रतालुहरूले बताए। उनीहरू माघ १० बाटै शाली नदी मेलामा सहभागी भएका छन्। श्री स्वस्थानी व्रत कथा तथा शाली नदी मेलाको अन्त्य नभएसम्म व्रतालुहरू त्यही बस्छन्।

श्री स्वस्थानीको व्रत शालीनदीमै महिना दिन पूजा आराधना र स्नान गर्दै बसेकी काठमाडौँ चाल्नाखेलकी प्रमिला कार्की रहेकी छिन्। उनी महिनादिन घर फर्किनन्। घरमा श्रीमान्, छोराछोरी रहेता पनि उनलाई शाली नदीमा श्री स्वस्थानीको व्रतले तानेको छ। पहिलो पटक श्री स्वस्थानी व्रत शाली नदीमा लिन पाउँदा उनी धेरै खुसी छिन्।

‘पोहोर सालमा श्री स्वस्थानीको व्रत लिएकी एक व्रतालुले प्रसाद खुवाउँदै मनमा लागेको कुरा स्वस्थानीलाई सम्झँदै माग्नु पुरा हुन्छ भनेकी थिएन,’ उनले भनिन्, ‘त्यो साँच्चै पुरा भयो। श्री स्वस्थानीलाई सम्झँदै मागेको थिए पुरा भयो। म धेरै खुसी भए। त्यसैकारणले यो वर्ष शालीनदीमै आएर एक महिना श्री स्वस्थानीको व्रत बस्दै छु। घरमा बालबच्चा बुढालाई जिम्मा लगाएर आएकी हुँ।’

उनले थपिन्, ‘मैले जसरी बालबच्चा हेरेको थिए। त्यसरी नै छोराछोरीलाई हेर्नु बुढालाई भनेकी छु। एक महिनाको श्री स्वस्थानीको व्रत समाप्त भएपछि घर फर्किन्छु। स्वस्थानीको व्रत बस्न यो वर्ष खै केले जुरायो। अब पुरा गरेरै जाने हो।’

प्रमिलाले शाली नदी नजिकै कोठा भाडामा लिएर बसेकी छिन्। उनी श्री स्वस्थानी व्रतकथामा सहभागी हुन पाउँदा आफैलाई संसार जितेको आभास गरेकी प्रमिलाले बताइन्।

प्रमिला जस्तै महिना दिन शाली नदीमा श्री स्वस्थानीको व्रतमा सामेल भएकी भक्तपुरकी कान्छी श्रेष्ठ पनि हुन्। उनी पनि आफ्नो घरपरिवार छाडेर महिनादिन सम्म श्री स्वस्थानीको व्रत शाली नदीमा बस्ने अठोट लिएकी छिन्। गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर, गुरु साक्षात् परंब्रम्हा तस्मै श्री गुरुवे नमः ओम श्री माधवमय केशवाय सिरमै नमामी जप्दै उनी १ सय ९९ जना महिला व्रतालुको भिडमा थिइन्। यसअघि पनि उनले श्री स्वस्थानीसँग मागेको कुरा उनलाई पुगेको बताइन्। त्यसैले उनी श्री स्वस्थानीको भजनकृतमा मग्न थिइन्। उनीमात्रै नभएर शाली नदीमा थुप्रै महिला र पुरुषहरू पनि श्री स्वस्थानीको पूजा आराधना गर्दै बसेका थिए।

हिन्दु धर्म एवं त्यसभित्र रहेका विभिन्न परम्परा धर्म संस्कृतिको आफ्नो छुट्टै पहिचान एवं नियममा रही आफ्नो व्रत, उपवास वा अन्य इत्यादि पूजा रही आएको अझ पनि छ। सोही धर्म, संस्कृतिमा नै यस देश र नेपालीको पहिचान पनि गाँसेको जनक जानकी सिद्धार्थ धर्मकर्म सेवा संघले बताएको छ।

श्री स्वस्थानी व्रत अन्य व्रत जस्तो नभई निकै कठिन एवं कष्टकर रहेको संघका अध्यक्ष शंकर मल्ल ठकुरीले बताए। यो व्रतमा छुट्टै नियमहरू पनि रहेको छ। जुन कुनै पनि व्रत, उपवासहरूमा नभएको उनले जानकार गराए।

श्री स्वस्थानीको व्रतको क्रममा व्रतालुले माछा, मासु, मरमसला (नाम समेत लिन नहुने परापूर्व कालदेखि चलिआएको माधवनारायण व्रतका नियमहरू रहेको अध्यक्ष ठकुरीले बताए। दूध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्रै र  फलफूल मात्र व्रतालुको हकमा भोजन गर्न हुने उक्त सेवा संघले बताएका छन्।

शाली नदीमा बसेका व्रतालुले दैनिक शंखरापुर, सक्व (साँखु ) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र चोखोपानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने छ। व्रतालुको हकमा भोजन दिनको १ पटक मात्रै गरिने हो। साथै आफन्तको जुठो, सुतक बार्न नहुने पनि रहेको छ।

एक महिना श्री स्वस्थानीको व्रत अवधिमा व्रतालुको परदेश यात्राका रहेको छ। शालिनदीबाट बज्रयोगिनी ढोकाहुदैँ पशुपति, फर्पिङ्ग, दक्षिणकाली, पनौती, चाँगुनारायण, शंखमुलसम्म खाली खुट्टाको परदेश यात्रा गर्नु पर्ने ठकुरीले बताए।

‘पुरुष व्रतालुहरूले कुनै पनि किसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैनन्,’ अध्यक्ष ठकुरीले भने, ‘नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष व्रतालुहरूले चन्दनको टिका लगाएको हुनुपर्नेछ।’

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ। स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भएअनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि। स्वस्थानी कथाबारे गरिएका अनुसन्धानले यसलाई स्कन्दपुराणको केदार खण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएको भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाऊँ भनी व्रत बसेको भन्ने आधार पनि चर्चित छ।

शाली नदीमा महिलाले स्नान गर्दाको फोटो खिच्न नपाइने श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो वर्षको मेलालाई सभ्य र भव्य गर्न सम्पूर्ण तयारी गरेका बताए। पहिलो दिन बिहीबार मात्रै करिब ७ हजार जना भक्तजन श्री स्वस्थानीको दर्शन गर्न शाली नदी आएको उनले बताए।

देशका विभिन्न भागबाट एक महिनाको अवधिमा २५ देखि ३० लाख भक्तजन मेला भर्न आउने अनुमान गरेको उनले बताए। भक्तजनको सेवा सुविधालाई ध्यानमा राखी शाली नदी यातायात प्रालि र बाबा गोकर्णेश्वर प्रालिले जस्तोसुकै अवस्थामा सेवा दिने उनले बताए।

बस व्यवसायीले यसका लागि काठमाडौँको ठाउँ ठाउँबाट चल्ने बसको संख्या नियमितभन्दा बढाएर २ सय बस रातिसम्म पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।

‘प्रत्येक बसमा भाडा दर देखिने गरी मुल्यसूची टाँसिएको छ। यदि कुनै बसले ठगेमा कारबाही पनि गरिन्छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालयले मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, चोरी, पकेटमार नियन्त्रणलगायतका लागि सम्पूर्ण सुरक्षा तयारी अवस्थामा रहेको छ। व्रतको क्रममा स्नान गर्ने महिलाको फोटो भिडियो खिच्न रोक लगाएको छ। साथै प्रत्येक पसलले मूल्य सूची राख्नुपर्ने र सूचीभन्दा बढी लिए कारबाही गर्ने बन्दोबस्त मिलाएको छ।’

सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए। ‘यातायात, सुरक्षा, ट्राफिक, फोहोर मैलालगायत विभिन्न उपसमिति गठन गरी काम गरिरहेको उनले बताए। व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लगत सङ्कलनका लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिएको छ,’श्रेष्ठले भने। साथै श्री स्वस्थानीको दर्शन गर्न आएका भक्तजनहरू बिरामी तथा चक्कर लागेर ढलेमा एक स्वास्थ्य चेकजाँचको स्टल पनि राखेको उनले बताए।

शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शाली नदी परिसरभित्र विभिन्न ठाउँमा सिसिटिभी क्यामेराको व्यवस्था रहेका छ। सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गरिएको अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: १२ माघ २०८० ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App