८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जयशंकरको शव ७२ घन्टादेखि सडकमै

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएको जयशंकर साहको शव ७२ घन्टादेखि सडकमै छ। अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रवार जयशंकरको शव तेस्रो दिनसम्म पनि उठ्न सकेको छैन।

आन्दोलनरत पक्ष र पीडित परिवारको मागलाई राज्ले सम्बोधन गर्न नसकेपछि शुक्रवार प्रहरीको गोलि लागेर ज्यान गुमाएका जयशङ्करको शव घटना स्थलमै हुँदा घरपरिवार बिचल्लीमा परेका छन्।

परिवारको एक्लो सहारा पनि गुमेपछि र शव पनि उठ्न नसकेपछि जयशंकरका परिवारमा बज्रपात परेको छ।

बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेससहितका पाँचदलिय गठबन्धन नगरपालिकाको मेयर कल्पना कटुवालको विरोधमा आन्दोलनमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपको क्रममा सडक पेटिमा हिँडिरहेका जयशंकरको प्रहरीले गोली चलाउँदा घटनास्थलमै मृत्यु भएको थियो। जय शङ्कर आन्दोलनमा सहभागी भने थिएनन्। कुखुराको फारमबाट दाना राखेर फर्किदै गर्दा बाटोमै प्रहरीले चलाएको गोली टाउकोमा लागेर उनको घटना स्थलमै मृत्यु भएको थियो।

शनिवार गृह मन्त्रालयले घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्दै राहत स्वरुप मृतक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपनि मृतकको शव तेस्रो दिनसम्म उठ्न सकेको छैन।

सर्लाहीको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलासहितका सुरक्षा निकायका प्रतिनिधि, आन्दोलनरत पक्ष र पीडित परिवारबीच ईलाका प्रहरी कार्यालय बरहथवामा शनिवार साँझबाट सुरु भएको छलफल राति अबेरसम्म भएको थियो तर, निष्कर्समा भने पुग्न सकेन।

छलफलमा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्करको परिवार तथा आन्दोलनरत पक्षले सामुहिक रुपमै मृतकलाई सहित घोषणा, मृतकको नामबाट प्रादेशिक अस्पतालको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा घटनाका मुख्य दोषी बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई निलम्बन तथा घटनाको न्यायिक छानबिन लगायतका माग राखेका छन्। पीडित पक्ष र प्रशासनबीच आज पनि छलफल हुने तयारी छ।

जयशंकरको मृत्युपछि स्थानीय प्रशासनले शुक्रवार साँझदेखि बहथवा क्षेत्रमा लगाएको कर्फ्यु शनिवार बिहान ८ बजेसम्म लागू थियो। शनिवार बिहान आठ बजेपछि कर्फ््यु हटाएर निषेधाज्ञा जारी गरिएको छ।  

प्रकाशित: २२ पुस २०८० ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App