पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानव अधिकार उल्लंघनका घटना एक सय ४० प्रतिशतले वृद्धि भएको प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको छ।
इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार ताप्लेजुङमा सन् २०२३ मा मानव अधिकार उल्लंघनका ४८ वटा घटना भएका छन्। उनका अनुसार सन् २०२२ मा यस्ता २० वटा घटना मात्र अभिलेखीकरण भएको थियो।
मानवअधिकार वर्ष पुस्तक २०२४ को वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ४८ वटा मानव अधिकार उल्लंघनका घटनामा ४९ जना पीडित भएका छन्।
इन्सेक जिल्ला प्रतिनिधि दियालीले विभिन्न १३ वटा शीर्षकमा मानव अधिकारविरोधी घटनाको अभिलेखीकरण गरेकी छन्। जसअनुसार सबैभन्दा बढी १८ वटा घरेलु हिंसाका घटना भएका छन्। बलात्कारका १२ वटा घटनामा सात बालिका र पाँच महिला पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यस्तै कुटपिटका पाँचवटा घटना भएका छन्। उनका अनुसार हत्या र हत्या प्रयासका तीन–तीनवटा, अभद्र व्यवहार र बहुबिबाहका दुई–दुईवटा र राजनीतिक अधिकारसँग सम्बन्धित एकवटा घटनामा दुईजना पीडित भएका छन्। गाली गलौज र भौतिक संरचना क्षतिसँग सम्बन्धित एक–एकवटा घटना भएको दियालीले प्रतिवेदनमा उल्लेख गरेकी छन्।
सन् २०२२ मा सबैभन्दा धेरे बलात्कारका ११ वटा, हत्याका तीनवटा, बाल यौन दुव्र्यवहार र कुटपिटका दुई–दुईवटा र बहुविवाह तथा बलात्कार र मानव बेचबिखनसँग सम्बन्धित एक–एकवटा गरी २० वटा घटना अभिलेखीकरणमा रहेको दियालीले जनाएकी छन्।
प्रकाशित: १८ पुस २०८० ०३:३९ बुधबार