८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मोरङका ३ स्थानमा आगलागी हुँदा ३१ लाखभन्दा बढीको क्षति

मोरङको विराटनगर र बेलबारीमा आगलागी हुँदा ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। विराटनगर महानगरपालिका–६ का महेन्द्र सिंहको घरमा मंगलबार राति साढे ८ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार सिंहको कर्कटपाताको छानो भएको दुई तले पक्की घरमा आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य करिब २७ लाख बराबरको सामाग्री जलेर नष्ट भएको छ।

सिंहको घरको माथिल्लो तलाको कोठामा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगोले घरसहित काठपात, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जलेर ध्वस्त भएको थियो।

त्यस्तै, विराटनगर–५ चाँदनी चोकस्थित शान्ता भट्टराईको गाई गोठमा राति १२ बजेतिर आगलागी हुँदा आगोले जलेर गाईको बच्छो मरेको छ। आगलागीबाट गोठसहित काठ र भुस जलेर ध्वस्त हुँदा करिब २ लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ।  

यसैगरी, बेलबारी नगरपालिका–८ त्रिवेणी चोकका गोविन्द चौधरीको घरमा राति पौन ११ बजेतिर आगलागी हुँदा कर्कटपाताको छानो भएको एक तले घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायत जलेर ध्वस्त भएको छ। विद्युत् सर्ट हुँदा आगलागी भएको हुनसक्ने डिएसपी दाहालले बताए।  

आगलागीबाट करिब १ लाख ७५ हजार रूपैयाँको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।  

प्रकाशित: १३ मंसिर २०८० ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App