५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अतिथिलाई उपहारकिनेर नदिन विद्यालयलाई भरतपुर महानगरको आग्रह

भरतपुर महानगरपालिकाले बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ। वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई उपहार नदिन आग्रह गरेको हो। महानगरले सोमबार विद्यालयहरूलाई चिठी लेखेर निर्णय कार्यान्वयनको लागि अनुरोध गरेको छ।

महानगरपालिकाको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा किनेर उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिन निर्देशन दिने निर्णय गरेको थियो। ‘एउटा विद्यालयले वार्षिकोत्सवमा मायाको चिनोमा मात्रै २० हजार रुपैयाँमा भन्दा बढी खर्च गर्दथ्यो, नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले भने ‘त्यो खर्च रोक्न नगर शिक्षा समितिबाट नै पारित गरेका हौँ।’

उनले फजुल खर्चलाई विद्यालयले शैक्षिक सामाग्रीमा खर्च गर्न सक्ने बताए। मायाको चिनो र उपहार वितरणमा पैसा सँगै समय समेत खेर जाने उनले बताए। ‘डेढ बर्ष भयो मैले अहिलेसम्म विद्यालयबाट मायाको चिनो तथा उपहार लिएको छैन। वार्षिकोत्सवमा गयो प्रमुख उपप्रमुख ज्युसँगै मलाई पनि दिनुहुन्छ। त्यो मैले नलिने निर्णय गरेको थिए। मायाको चिनो तथा उपहार लिन पर्छ भनेर कार्यक्रम भन्दा अगाडि नै निस्कने गर्दथ्थे,’ नगर शिक्षा अधिकारी पौड्यालले भने ‘नगरप्रमुखहरुले थाहा पाएपछि नीतिगत रुपमा सबैलाई रोक्न अनुरोध गर्नुभयो। सोही निर्देशन अनुसार निर्णय गरेका हौँ।’

नगर शिक्षा अधिकारीको काम विद्यालयको अनुगमन गर्ने भएकाले अनुगमन गरेबापत मायाको चिनो लिन नहुने उनले बताए। प्रधानमन्त्री, मन्त्री लगायतका विशिष्ट व्यक्ति आउँदा मायाको चिनो तथा उपहारमा धेरै खर्च हुने गरेको उनको भनाइ छ। भरतपुरका विद्यालयको वार्षिकोत्सवमा प्रधानमन्त्री समेत आउने गरेका छन्।

आर्थिक अभावका कारण शिक्षा क्षेत्रको बजेट पनि खुम्चँदै गएको छ। अहिले भरतपुर महानगरपालिकाले शिक्षामा २० करोड बजेट विनियोजन गरेको छ। प्रतिविद्यालय मसलन्द खर्चमा २० हजारभन्दा माथि बजेट विनियोजन हुने गरेको छ।

महानगरपालिकाले विद्यालयमा उपलब्ध स्रोतलाई बालबालिकाको सिकाइ सामग्री व्यवस्थापन र पठनपाठनमा अधिकतम सदुपयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

भरतपुर महानगरपालिका भित्र माध्यमिक तहमा सामुदायिक र संस्थागत गरी एक सय ७५ वटा विद्यालय छन्। माध्यमिक तहमा सामुदायिक विद्यालय ५२ र संस्थागत विद्यालय ७५ वटा छन्। यस्तै आधारभूत तहमा सामुदायिक विद्यालय ६० र संस्थागत विद्यालय १६ वटा रहेका छन्। यी विद्यालयमा ९० हजारभन्दा बढी विद्यार्थी रहेको उनले बताए। 

प्रकाशित: १२ मंसिर २०८० १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App