१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुर रिङरोडको काम आधा सकियो

भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको रिङ रोडको निर्माण कार्य आधा सम्पन्न भएको छ।  

स्थानीय सरकार आएपछि महानगरपालिकालाई चारै तर्फबाट जोड्न पाँच बर्षअघि सुरु गरिएको सडकको काम आधा सम्पन्न भएको हो।

संघिय, प्रदेश र स्थानीय तहको लगानीमा बन्न लागेको सडकको काम ५० प्रतिशत सकिएको महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्। ‘८८ किलोमिटर रहेको रिङरोडको काम अहिलेसम्म ४५ किलोमिटर सकिएको छ,’ महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले भनिन् ‘बाँकी कामलाई तिब्रताका साथ अगाडि बढाउँछौँ।’ रिङ रोडले महानगरपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्।

महानगरीय रिङ रोडको शिलान्यास २०७५ असार २९ गते प्रधानमन्त्री पुष्पकलम दाहालले पुलचोकमा गरेका थिए। बाँकी काम खण्ड खण्डमा भइरहेको महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए। उनका अनुसार, हाल ४२ किलोमिटरको काम जारी छ। संघिय सरकारबाट २६ किलोमिटर, प्रदेश सरकारबाट ११ किलोमिटर र भरतपुर महानगरपालिकाको बजेटबाट छ किलोमिटरको काम भइरहेको छ।

भरतपुर महानगरपालिकाको लगानीमा गोन्द्राङदेखि पाडेघुम्तीसम्मको पाँच किलोमिटर र वडा नम्बर १३को सिमानादेखि सितामाईसम्मको एक दशमलव तीन किलोमिटरको काम भइरहेको उनले जानकारी दिए। प्रदेश सरकारको बजेटबाट पश्चिम चितवनको टाउनदेखि भगनी चोकसम्मको साढे आठ किलोमिटर र मगनी चोकदेखि बेलुवासम्म एक दशलमव सात किलोमटिर सडक बन्ने क्रममा छ।

संघिय सरकार अन्तरगतको सडक विभागबाट गोन्द्राङदेखि बिसहजार ताल, सितामाई र फुर्तिचोक क्षेत्रको १६ किलोमिटर र सघन सहरी विकास मन्त्रालयबाट पुलचोकदेखि रामघाट, कसरा चोकदेखि चिहान डाँडा हुँदै छाता चोकसम्मको ११ किलोमिटर सडकको काम निर्माणको क्रममा रहेको छ।  

महानगरीय रिङ रोड सडकको चौडाइ ठाउँ हेरेर सात, नौ र एघार मिटरसम्म पिच रहेको छ। सडकको ३० मिटर वरपर भौतिक सरचना निर्माण गर्न नपाइने महानगरपालिकाले रातो किताबमा नै उल्लेख गरेको छ।

आधा ठाउँमा समपन्न भएर पनि उद्घाटन गरिसकिएको छ। भरतपुर महानगरपालिकाको महानगरीय रिङरोड पश्चिम खण्डको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा बनेको करिब आठ किलोमिटर सडकको बिहिबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गरेका हुन्। 

उद्घाटन गर्दै मन्त्री दुलालले भरतपुरको विकासका लागि रिङरोडले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। ‘रिङरोडले भरतपुरको मात्र होइन समग्र चितवनको विकासमा ऐतिहासिक भूमिका खेल्छ,’ उनले भने, ‘निर्माण गर्नेले भन्दा भोलिको पुस्ताले गर्भ गर्ने गरी काम गरेका छौँ।’ उनले यस परियोजनाले भरतपुरलाई जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताए। ‘अहिले राजधानीमा २८ किलोमिटर मात्र रिङरोड छ। यहाँ ८८ किलोमिटर बन्दै छ। यसले सिंगो भरतपुर महानगरपालिकालाई समेट्छ,’ उनले भने, ‘यसले महानगरपालिकाको विकासका लागि गमे चेन्जर प्रोजेट हो भन्ने मैले लिएको छु।’ उनले बागमती प्रदेश सरकारको स्रोतबाट एक हजार किलोमिटर सडक पिच गरिएको बताए।

पूर्वाधार विकास कार्यालय चितवनको नेतृत्वमा निर्माण भएको करिव आठ किलोमिटर सडक शिसवार, शिशै, वनकट्टा, मगनी नमुनाचोक, पिपरा, ददहनी क्षेत्रलाई समेटेको छ। पश्चिम खण्डको ८ किलोमिटर सडक १५ करोड ७६ लाख ८१ हजार रुपैयाँ निर्माण भएको हो। सडकको भाग १० मिटरको रहेपनि स्थानीयले ३० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख धिरेन्द्र कुमार चौधरीले जानकारी दिए।

महानगरिय रिङ रोड दुई अर्ब रुपैयाँको परियोजना हो। तत्कालिन समयमा  चितवन क्षेत्र नम्बर तीनको सांसद हुँदा दाहालले बजेट चितवनमा ल्याएका थिए। शहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्रे रहेका छन्। यसअघि भएका नगरसभामा सबैभन्दा बढी रिङरोडलाई प्राथमिकतामा राखिएको थियो। महानगरले तयार पारेको रिङरोड पुलचोकबाट नारायणी तिरैतिर गोलाघाटसम्म पुग्छ र यता गोन्द्राङबाट जंगलको किनारैकिनार पटिहानी जगतपुर हुँदै गोलाघाटमै गएर ठोक्किन्छ।  

प्रकाशित: १६ कार्तिक २०८० १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App