५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्। नेपाल सरकारबाट अनुदान पाउँदै आएको रकम सरकारले पठाउन ढिलाइ गर्दा किसानहरू समस्यामा परेका हुन्।

गत आर्थिक वर्षमै पाउनुपर्ने करोडौँ रुपैयाँ किसानले अहिलेसम्म पाउन सकेका छैनन्। रौतहटको गढीमाई नगरपालिका २ का अगुवा उखु किसान कामेश्वर सहनीले नेपाल सरकारबाट अनुदानमा पाउनुपर्ने करिब तीन लाख रुपैयाँ अहिलेसम्म नपाउँदा मलखाद किन्न समस्या भइरहेको बताए। नगदे बालीको रुपमा नेपाल सरकारले नै वर्गीकरण गरेको उखुको मूल्य नेपाल सरकारले समयमा भुक्तानी नगर्दा धान खेती तथा उखु खेतीमा लगानी गर्न समस्या भएको उनको भनाइ छ।

उखु बेचेको चिनी मिलले सबै भुक्तानी समय तालिकाअनुसार दिइसकेको तर, नेपाल सरकारले दिनुपर्ने भुक्तानी अझै दिन नसक्दा आफूलाई खेतीपाती र घर व्यवहार चलाउन निकै समस्या भएको अर्का किसान नरेन्द्र ठाकुरको भनाइ छ। सङ्ग्रामपुर पर्साका किसान ठाकुरले सरकारबाट अनुदानमा पाउनुपर्ने करिब दुई लाख रुपैयाँ बाँकी नै रहेको तथा चिनी उद्योगले सम्पूर्ण भुक्तानी दिइसकेको भएपनि सरकारले भने अझै भुक्तानी दिन नसकेको ठाकुर बताउँछन्।

सर्लाहीको हरिऔनमा रहेको इन्दु शङ्कर चिनी उद्योगलाई उखु किसानले उपलब्ध गराएको उखुमध्ये नेपाल सरकारले किसानलाई १९ करोड ७४ लाख ३९ हजार ९१० रुपैयाँ ५० पैसा अनुदान भुक्तानी दिन बाँकी रहेको उद्योगका केन म्यानेजर योगनारायण रजकले जानकारी गराए।

गत क्रसिङ सिजनमा २८ लाख २० हजार ५७०.१५ क्विन्टल उखु इन्दु शङ्कर चिनी उद्योगले खरिद गरेको थियो। जस बापत उद्योगले उखु किसानलाई १ अरब ५० करोड ८९ लाख ८४ हजार ७४३.२५ रुपैयाँ भुक्तानी गरिसकेको म्यानेजर रजकले जानकारी गराएका छन्।

पहिले चिनी उद्योगहरुले किसानहरुलाई समयमा उखुको मूल्य भुक्तानी नगर्दा किसानले उखु खेती गर्न कम गरिसकेका छन्। सर्लाहीको इन्दु शङ्कर चिनी उद्योगले किसानलाई नियमित भुक्तानी दिइरहँदा किसानको विश्वास पनि जित्दै गएको छ।

गत वर्षदेखि नेपाल सरकारले पाउनुपर्ने अनुदान समयमा नपाउँदा किसानमा निराशा छाउनुका साथै किसानलाई खेतीपाती र घरायसी काममा अप्ठ्यारो हुन थालेको छ।

प्रकाशित: १३ भाद्र २०८० ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App