४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

गलेश्वर मन्दिरमा साउने सोमबारको भेटी ९ लाख

भक्तजनले पनि गन्न पाउँछन् आफैँले चढाएको भेटी

बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा भेटी सार्वजनिक गरिदैं।

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा साउन महिनाका पाँच सोमबारमा भक्तजनबाट ९ लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ।

मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा पूजापाठका लागि आएका भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको हो।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीका अनुसार पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, दोस्रो सोमबार ९६ हजार १४१, तेस्रो सोमबार १ लाख ४१ हजार ९५६, चौथो सोमबार १ लाख ४४ हजार ७९१ र पाँचौँ सोमबार १ लाख ७८ हजार ४९० रुपैयाँ भेटी संकलन भएको छ।

‘सङ्कलित भेटी कोषको खातामा जम्मा गरिएको छ। ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’ सचिव खत्रीले भने।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। उनका अनुसार कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा सङ्कलित भेटी गनिएको हो।

‘भक्तजनले समेत चाहना गरेमा सहजै भेटी गन्न पाउँछन्, ‘गन्न आउने बैंकका कर्मचारीको साथमै जम्मा गर्न पठाउँछौ, ‘दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ’ अध्यक्ष रेग्मीले भने।

यस पटक मलामास परेकाले भक्तजनको संख्यामा कमी आएको छ। भक्तजनको सहजताका लागि प्रवेशद्धारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयंसेवक तथा सिसी क्यामेराले समेत निगरानी गरिएको छ। गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका थिए। मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल स्नान गर्ने व्यवस्था मिलाइएको छ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ। 

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

प्रकाशित: ३० श्रावण २०८० ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App