१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डोम जाति गाउँमा घुसे वस्तीमा आगो लगाइदिने धम्की

‘साँझपख थियो, डोमको बच्चाले खेतमा आएर केराउ नोक्सानी गर्यो भन्दै घरको अगाडि खरले बनाइएको टाटमा गाउँका एकजनाले आगो लगाइदिए। त्यो दिन घरमा हामी महिला मात्र थियौं। आमाले बोल्न जाँदा धेरै बोले वस्ती नै उजाडेर आगो लगाइदिन्छौं भन्दै धम्की दिएपछि हामीहरू चुपलागेर बस्यौं।’

यो घटना भएको एक वर्ष बित्यो। पुसको महिना जाडो भएकाले आगोबाट आफूहरूको झुपडी जोगिएको बताउँछिन्, बाराको फेटा गाउँपालिका भरवलिया डोम वस्तीकी शिला देवी डोम। छुवाछुतको नाममा बारम्बार गाउँवासीको धाँधलीको सिकार बन्नुपरेको उनको भनाइ छ। यो घटना एकपटकको होइन गाउँलेले डोम भनेर छुतको सरुवा रोगजस्तै व्यवहार गरेको वस्तीका डोमहरूको भनाइ छ।  

‘इज्जत गर्दैनन् हामीलाई सानो जाति भनेर घृणा गर्छन्, गाउँलेहरूले फोहोरफोहोर गाली गर्छन्। के गर्ने सहेर बस्नुपरेको छ। हाम्रो पीडा सुनिदिने को छ र यहाँ?,’६० वर्षीय उदय नारायण मल्लिले भने, ‘पानी भर्न जाँदा डोम भनेर चापाकल छुन दिँदैनन् माथिबाटै उनीहरूको बाल्टिनले पानी हालेर दिन्छन्।’

बारा जिल्लाको फेटा गाउँपालिका–१ भरवलिया गाउँको किनारमा डोम वस्ती छ। ५ वटा झुपडी भएको डोम वस्तीमा २५ जना बस्ने गरेका छन्। छुवाछुतको विभेदले गर्दा डोमहरू गाउँको किनारमा बस्ने परम्परा रहेको छ। हिन्दु परम्पराअनुसार डोम जातिका दलितहरू हरेक क्रियाकर्ममा चाहिन्छन्। जसकारण मधेसको हरेक गाउँको किनारमा उनीहरूको बसाइँ रहेको डोम समुदायका मानिसहरू बताउँछन्। गाउँको छेउमा बसेर उनीहरू आफ्नो जीविकोपार्जनका लागी काँचो बाँसबाट विभिन्न किसिमका डाला, सुपली पंखा जस्ता सामान बनाई हाट बजारमा बेच्ने गर्छन्। गाउँमा कोही मरेको छ भने पहिलो दागबत्ती दिने आगो डोम जातिबाट लिने परम्परा छ। यसरी गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ। विवाह छठपूजा कुलदेवताको पूजापाठमा डोमले बनाएको सामान अनिवार्य चाहिन्छ। समाजिक हरेक कार्यमा डोमहरू चाहिए पनि जातका आधारमा उनीहरूमाथि अझै छुवाछुतको विभेद कायमै छ।  

भरवलियाका डोम वस्तीमा कसैको नागरिकता नहुँदा उनीहरूमाथि हँुदै गरेको ज्यादतीप्रति कोही जनप्रतिनिधि बोल्न आउँदैनन्। भोटको राजनीतिले गर्दा उल्टै गाउँलेको पक्षमा उभिन्छन्। समाजका ठूला जतिले गर्ने अवहेलना र राज्यको सेवा सुविधाबाट वञ्चित डोमहरू अहिले स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुविधासमेत पाउन सकेका छैनन्।  

‘चापाकलबाट पानी मागेर पिउनुपर्छ हामी पानीविनै मरे पनि नेताहरूलाई कुनै मतलव छैन गाउँका सबैको घरमा बिजुली छ हामीकहाँ छैन कसैले आफ्नो घरको अगाडि बस्न दिँदैनन् सिँढी चढ्न दिँदैनन्,’चाँदनी देवी डोमिनले भनिन्, हामीले नै बनाएको बाँसका पंखा सबैले घरमा लग्छन् तर किन्ने बेलामा छोइन्छ भनेर टाढै बाट लिन्छन्।’  

१८ वर्षीय ममता देवीको २ सन्तान कलैयाको बरेवा अस्पतालमा जन्म भयो। उनीसँग नागरिकता नहुँदा उनले सुत्केरी भत्ता पाइनन्। गर्भवती भएका बेला गाउँपालिकाबाट कहिल्यै पोषणयुक्त खानेकुरा पाउन सकिनन्।

प्रकाशित: ८ श्रावण २०८० ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App