११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आयोजना निर्देशकको यौन हर्कत !

सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक रहेका पोखरेलले आफ्नै घरमा घरायसी क्षेत्रमा काम गर्ने २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार  गरेको भिडिओ बाहिरिएको हो।  

पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्। सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका छन्। त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका छन्। त्यसपछिको दृश्य भने स्पष्ट देखिएको छैन। जसमा धक्कामुक्की भइरहेको बुझिन्छ। युवतीले पोखरेललाई अवरोध गर्न खोज्दै चिच्याइरहेकी छिन्।

पीडित युवतीका अनुसार उनी पोखरेलको सिनामंगलस्थित घरमा एक वर्षदेखि घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन्। अविवाहित रहेकी उनले दैनिक एक डेढ घण्टा काम गर्नेगरी मासिक ६ हजार तलब बुझ्दै आएकी थिइन्। आमाबुवाको अवस्था नाजुक रहेको र ऋणमा रहेकाले आफू यसैगरी घरायसी कामदारका रूपमा काम गरेर जीविका चलाइरहेको पीडित युवती बताउँछिन्। ‘यसैगरी दुईतीनवटा घरमा दैनिक एक डेढ घण्टा भाँडा माझ्ने, पुछा लाइदिने काम गरेर थोरथोरै रकमले जीविका चलाउँदै आएकी छु,’ उनले भनिन्, ‘तर श्रम गरेर खान खोज्दा पनि समाजले दिने रहेनछ।’

पोखरेलको घरमा चिनजानकी दिदी नाता पर्नेले काममा लगाइदिएको पीडित युवती बताउँछिन्। उनी भन्छिन्, ‘म उहाँ(पोखरेल)लाई अंकल र उहाँकी पत्नीलाई आन्टी भनेर आदर गरेर बोल्थेँ। पहिला केही थिएन। पछि उहाँ जिस्कन थाल्नुभयो। मैले इग्नोर गर्दै आइरहेकी थिएँ।’  

त्यसै क्रममा फागुन २७ गते पोखरेलले आफूमाथि पहिलोपटक दुर्व्यवहार  गरेको पीडित युवतीले बताइन्। ‘त्यसपछि म केही समय उहाँको घरमा काम गर्न गइनँ। केही दिन नगएपछि आन्टीले फोन गरेर कर गर्नुभयो। मेरो आर्थिक अवस्थाले जानैपर्ने भयो,’ उनले भनिन्। काममा गएको दिन नै पोखरेलले कोही नभएको मौका पारेर खुट्टा छोएर माफी मागेको उनी बताउँछिन्।  

केही समय फेरि सामान्य ढंगबाट काम गरिरहिन्। फेरि वैशाखको १० गते कोही नभएको मौका पारेर पोखरेलले आफूमाथि उसैगरी दुर्व्यवहार  गरेको पीडित युवती बताउँछिन्। ‘त्यसपछि मलाई ठूलो मानसिक तनाव भयो। मैले आन्टी (पोखरेलकी पत्नी) लाई भन्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘तर फेरि खुट्टामा परेर माफी माग्न थाल्नुभयो। अब एक अन्तिम मौका दे, अब म कहिल्यै यस्तो गर्दिनँ, कसैलाई नभन्। मेरो छोरी जस्तै छौ, मेरो बुद्धि बिग्रिएको थियो। एकचोटि मलाई माफ गर भनेर बिन्ती गर्नुभयो। मैले उहाँको परिवारलाई हेरेर अन्तिम पटकलाई भनी छोडेँ।’  

पीडित युवतीका अनुसार त्यसपछि फेरि सामान्य ढंगबाट काम चलिरहेको थियो। यसै क्रममा असार ८ गते उनी पोखरेलको घरमा काममा जाँदा थोरै ढिलो भयो। ‘उहाँ (पोखरेल)ले मलाई कल गरेर किन ढिला गरेको ? छिटो आऊ काममा भन्नुभयो,’ पीडित युवतीले भनिन्, ‘मलाई शंका लागिसकेको थियो, खास्सै ढिलोचाँडो हुँदा फोन नगर्ने मान्छेले फोन गरेपछि।’ त्यो दिन पोखरेलको घरमा श्रीमती र छोराछोरी कोही रहेनछन्। ‘शंका लागेकाले बाहिरबाटै क्यामरा खोलेर गएकी थिएँ। उहाँले फेरि उसैगरी दुर्व्यवहार  गर्नुभयो। त्यही रेकर्ड हो यो,’ पीडित युवतीले भनिन्। आफूमाथि लगातार भइरहेको दुर्व्यवहार को प्रमाण खोजिने भएकाले भिडिओ रेकर्ड गर्नुपरेको पीडित युवती बताउँछिन्। त्यसपछि पोखरेलकी श्रीमतीलाई त्यो भिडिओ देखाउँदा उल्टै ‘तँ फसाउन लागेकी’ भनेर प्रतिक्रिया दिएको पीडित युवतीले दुःखेसो गरिन्।  

घटनापछि आफूले त्यही भिडिओ लगेर गौशाला प्रहरी वृत्तमा जाहेरी दिन पुग्दा त्यहाँ सविन नामका प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले आफूलाई ‘हाई लेभेल’को जस्तो छ। मिलापत्र गर पैसा पाउँछौं’ भनेर फर्काइदिएको पीडित युवतीले दुःखेसो गरिन्। ती इन्स्पेक्टरको नाम सविन भए पनि थर भने आफूलाई यकिन थाहा नभएको बताइन्।  

त्यसपछि माइती नेपाल, जिल्ला प्रहरी परिसर, काठमाडौंमा समेत पुग्दा पनि आफूले सहयोग नपाएको उनको गुनासो छ। यस्तै विभिन्न सञ्चारमाध्यमका कार्यालय धाउँदा पनि आफूलाई कुनै न्याय नमिलेको उनी बताउँछिन्। ‘मलाई लाग्छ, उहाँले धेरै माथिसम्म पैसा र पावर लगाएर सबैलाई पैसाले किन्नुभयो। मेरो पीडा कहीँकतैबाट सुनुवाइ भएन,’ उनले भनिन्, ‘अहिले मलाई समेत पैसामा बिक्नका लागि दबाब दिइराख्नुभएको छ। मेरो परिवार, आफन्तलाई मानसिक तनाब, पैसामा मिलाउने दबाब दिइरख्नुभएको छ। मैले इनकार गरेपछि मेरो पछाडि गुन्डा लगाइएको छ। हुँदाहुदै मेरो पिछा गरेर मेरो कोठासम्म आइपुगे। मेरो ज्यानको खतरा छ।’

यस विषयमा वरिष्ठ इन्जिनियर पोखरेलसँग कुरा गर्न खोज्दा फोन उठेन। उता सडक विभागको उच्च तहसम्ममा पोखरेलले गरेको दुर्व्यवहार को कुरा पुगिसकेको छ। ‘कुरा थाहा भएको छ। तर, त्यो हाम्रो अफिसियल विषयभित्र नपरेकाले कुनै निर्णय गर्नुपर्ने अवस्था छैन,’ विभागका उच्च अधिकारीले भने, ‘कानुनी प्रक्रिया सुरु भए प्रचलित कानुनअनुसार हुने सजाय हुने कुरा आफ्ना ठाउँमा होला।’  

उता शुक्रबार पीडित युवतीको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बताए। ‘उहाँहरू छलफलमा हुनुहुन्थ्यो कि क्या हो। कुरा मिलेन सायद, आज (शुक्रबार) जाहेरी दर्ता भइसकेको छ,’ उनले भने।  

प्रकाशित: ६ श्रावण २०८० ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App