१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वर्षेनी बाढीको कहर

बुधबार साँझ गाउँमा पसेको बाढीपछिको तिल्ताली गाउँ । तस्बिर : अरूण बम

डोटी – बुधबार साँझ अकस्मात भारी वर्षा भयो । वर्षापछि शिखर नगरपालिका–८ तिल्तालीमा बाढीले ‘अनौठो’ रुप धारण ग¥यो । ‘यस्तो बाढी आफ्नो जीवनकालमा दोस्रो पटक देखें । पोहोर पनि त्यसरी नै आएको थियो,’ स्थानीय ६३ वर्षिया वृद्धा चन्द्रा बलायरले भनिन्, ‘एकैपटक ठूल्ठूला ढुंगा, माटो, रुखसँगै बगाएर घरैमाथिबाट बगेर गयो ।’ आफूले भागेर ज्यान जोगाएको उनी बताउँछिन्। 

उनीजस्तै स्थानीयवासीले भागेर ज्यान जोगाए । एकाएक वर्षा शुरु भएको आधा घण्टामै आएको बाढी गाउँमा पस्दा स्थानीय ३२ घरधुरीमा क्षती पुगेको छ । केही पशुचौपाया बगेका छन् । एउटा पोल्ट्री फार्म पूर्ण रुपमा बगेको छ । गाउँ पुरै बगर बनेको छ । ‘घर त धन्न बचे सबैले भागेर ज्यान जोगायौं,’ स्थानीय भक्त बहादुर बलायरले भने, ‘बाँकी आँगन, खेत, जमिन सबै बगर बन्यो ।’ बाढीका कारण १९ परिवार विस्थापित भएका छन् । उनीहरूलाई बुधबार साँझ प्रहरी, रेडक्रस र सर्वसाधारणको सहयोगमा अन्यत्र सारिएको छ । 

यस्तै बाढी गाउँमा गतबर्ष पनि पसेको थियो । गतवर्ष जेठ २२ र २६ गते आएको बाढीले गाउँलाई त्रस्त पारेको थियो । ‘गतवर्ष वर्खाभरी नै डरैडरमा दिन काटेका थियौँ,’ स्थानीय भक्त बहादुर टमटाले भने, ‘हिउँद लागेपछि बाँचेझैँ लागेको थियो । यसवर्ष फेरि बैशाखमै शुरु भैसक्यो ।’

खहरे खोलाको आतंक 

तिल्तालीमा यसरी वर्षेनी आतंक मच्चाउने खोला अन्य समय सुख्खा नै रहन्छ । केहीवर्ष अघिसम्म माथि डाँडाबाट आउने वर्षायामको भेललाई व्यवस्थित पार्न किनारैकिनार स–सानो निकास बनाइएको  थियो । पछिल्लो केही समय यता भने सानो पानी पर्दापनि ठूलो भेल गाउँमा पस्न थालेको छ । ‘खोलो पनि होइन । सामान्य भेल निकास गर्न कुलो बनाएका थियौँ,’ स्थानीय महादेब बलायरले भने,‘अहिले ठूलै बाढी आउँछ । त्यो पनि अनौठो ।’ 

गाउँमाथिबाट लाटामाण्डौ जाने सडक निर्माण गरिएको छ । सडक निर्माण गरिएको पनि धेरै वर्ष भएको छैन् । सोही सडकका कारण गाउँमा बाढी पस्न थालेको स्थानीयको बुझाई छ । 

गाउँ अझै जोखिममा 

बाढीपछि गाउँमा अझै जोखिम कायम छ । बाढीले ल्याएको ढुंगामाटोले पुरै खोला पुरिएको छ । खोलाले धार परिवर्तन गर्दै गाउँमा पसेको मात्र छैन् आकार पनि फराकिलो पारेको छ । बगेर आएको ढुंगामाटोले खोला अग्लो भएको छ भने घरहरु होचो ठाउँमा परिणत भएका छन् । जसले एक सय भन्दा बढी परिवार रहेको गाउँ जोखिममा छ । ‘खोलो अग्लो भैसक्यो यही अवस्था रहे अर्कोपटक पानी पर्दा अरु घरमा पनि क्षति पुग्छ,’ घटनास्थल पुगेका डोटीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भने, ‘यसको तत्कालै समाधान खोजिनुपर्छ । नत्र पछि मानवीय जोखिम पनि हुनसक्छ ।’ 

तत्कालका लागि डोजरको प्रयोग गरेर खोलाको ट्रयाक कोर्नुपर्ने र गाउँमाथि ठुलो बाँध बाध्नुपर्ने आवश्यकता देखिएको उनले बताए । उनले भने,‘वर्षायाम शुरु हुनु अगावै यति गरिसक्नुपर्छ । नत्र वर्खामा ठुलो क्षति हुनसक्छ ।’ 

तटबन्धनमा कम बजेट

गतवर्षको बाढीपछि गाउँको जोखिम हेरेर जिल्ला दैवी प्रकोप उद्धार समितिले जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयलाई तटबन्धनका लागि लागत इष्टिमेट उठाउन निर्देशन गर्याे । सो निर्देशनपछि गरिएको इष्टिमेटमा अढाई करोड भन्दा बढी रकम आवश्यक पर्ने देखाइएको छ । 
त्यसयता ८० वटा ग्याविल जाली उपलब्ध गराइएको छ । लाटामाण्डौ गाविसले दुई लाख १९ हजार रकम विनियोजन गरेर काम भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट १० लाखको काम भएको छ । तर त्यसले पूर्ण रुपमा बाढी नियन्त्रणका काम हुन नसकेको स्थानीयहरूको गुनासो छ । भर्खरै जल उत्पन्न तथा प्रकोप नियन्त्रण डिभिजन कार्यालय दिपायल मार्फत सोही ठाउँमा २० लाख बराबरको तटबन्ध तथा खोला नियन्त्रणको कार्यक्रम आएको स्थानीयले जानकारी पाएका छन् । तर, काम भने शुरु भैसकेको छैन् । ‘सुनेका छौ । आजैमात्र(बुधबार) ईन्जिनियरहरू पुगेर गएका छन्,’ स्थानीय भक्त बहादुर बलायरले भने,‘खोला नापजोखको काम शुरु गर्ने भनेका थिए । आजै यस्तो भैहाल्यो ।’ २० लाखले मात्रै काम नहुने उनले बताए ।

प्रकाशित: २८ वैशाख २०७४ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App