१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि सर्लाहीमा तनाव

सर्लाहीको चन्द्र नगर गाउँपालिकाका पूर्व अध्यक्ष सवार भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा चन्द्र नगर गापाका पूर्व अध्यक्ष महेद्र महतो सुडी सवार भारतीय सवारी साधन स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन्।

मृत्यु हुनेमा चन्द्र नगर गाउँपालिका २ का करिब ४० वर्षीय मनोज महतो रहेका छन्। महतोको मृत्यु भएपछि स्थानीय तथा मृतकाका आफन्तले सडकमा टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शकारीहरुले पूर्व गापा अध्यक्षलाई पक्राउ गरी कारबाही गर, महेन्द्र महतो मुर्दावाद लगायतको नारा लगाएका छन्। चन्द्र नगर गाउँपालिकाका स्थानीय अजय महतोले पूर्व गापा अध्यक्ष महेन्द्र महतो सुडीले सुनियोजित तरिकाले घटना घटाएको आरोप लगाएका छन्।

पूर्व अध्यक्ष सुडी र मृतकको गाउँ एउटै भएको कारण पुरानो व्यक्तिगत रिसइवीले आफ्नो दिशा छोडेर मोटरसाइकल भएको दिशामा स्कारपियो ल्याई मनोजलाई ठक्कर दिई हत्या गरेको अजयको आरोप रहेको छ। पूर्व गापा अध्यक्षलाई कारबाही नगरुन्जेल स्थानीयले आन्दोलन चर्काइरहने अजयको दाबी छ।

दुर्घटनाका प्रत्यक्षदर्शी दलेश्वर जैशले सवारी दुर्घटनालाई दुर्घटना नभई दुर्घटनाको आडमा नियोजित हत्या भएको आरोप लगाएका छन्। प्रत्यक्षदर्शी जैशले अध्यक्ष महेन्द्र महतो सुडी सवार स्कारपियो आफ्नो दिशा छोडेर मृतक मनोजले मोटरसाइकल गुडाइरहेको दिशामा आएर ठोक्किएपछि ठूलो आवाज आएको बताएका छन्।  

अर्का प्रत्यक्षदर्शी प्रदीप चौधरीले पनि स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा ठुलो आवाज आएको, घटना स्थलमा पुग्दा मृतकको तिघ्राको मासु र हाड छुटिएको अवस्थामा आफूले देखेको बताएका छन्।  

यसै गरी अर्का प्रत्यक्षदर्शी रामकैलाश चौधरीले स्कारपियोले मृतक सवार मोटरसाइकल ठोकिएपछि आफूहरूले रोक रोक भनेको र केही पर गएर पूर्व गापा अध्यक्ष सुडी गाडीबाट ओर्लेको बताउँदै मानिसको संख्या बढी देखेपछि पुनः स्कारपियोमा चढेर फरार भएको बताएका छन्।

बयलबास भेल्ही सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ बैयलबास जाँदै गरेका मृतक मनोज सवार ज २ प ६४५२ नम्बरको मोटरसाइकललाई उत्तर दिशाबाट दक्षिण बबरगंजतर्फ जाँदै गरेको पूर्व गापा अध्यक्ष सुडी सवार बिआर ३९ पी २४५९ नम्बरको भारतीय स्कारपियोको मंगलवार ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मनोजलाई उपचारको लागि बर्दिबास लाँदै गर्दा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पूर्व गापा अध्यक्ष सवार स्कारपियो ठक्कर दिएर भागेको भनिएको सवारी साधनलाई प्रहरीले बरामद गरेको र चालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दोषीमाथि कारबाही गरिने बताइरहेको भए पनि पीडितहरूले अझै पनि फरार पूर्व गापा अध्यक्ष सुडीलाई पक्राउ गर्न दबाब दिइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र पंजियार थारुले अझै पनि अवस्था तनावग्रस्त रहेको बताएका छन्।

आफूहरूले ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिइसकेको भए पनि घटनालाई राजनीतिकरण गरिएको र पूर्व गापा अध्यक्ष सुडीलाई नियन्त्रणमा लिई कारबाही नगरेसम्म आन्दोलन जारी रहने पीडितहरूको अडान रहेको बताएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८० ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App