१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उद्योग खोलेको महिना नपुग्दै आगलागी, सञ्चालक बेहोस

दिक्तेलस्थित देवीथान कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्दै सुरक्षाकर्मी र स्थानीय। तस्बिरहरुः दमन राई

खोटाङ– खोटाङको सदरमुकाम दिक्तेलमा स्थापना भएको महिना दिन नबित्दै एक कपास उद्योगमा आगलागी भएको छ।

रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको देवीथान कपास उद्योगमा मंगलबार दिउँसो विद्युत सर्ट हुँदा आगलागी भएको हो। महिना दिनअघि स्थापना भएको उद्योग भवन, उद्योगको मेसिन र कपासलगायतका सामान जलेर नष्ट भएको छ।

पुरानो कपास प्रशोधन गरी सिरक, डस्ना, चकटी, सिरानी बनाउनुका साथै कालो कपास बिक्री गर्दै आएको कपास उद्योगमा विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नवीन किशोर प्रधानले बताए। आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले केही घण्टापछि नियन्त्रणमा लिएका छन्।

आगलागीबाट भएको क्षतीको यकिन विवरण आइसकेको छैन । आगलागीमा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। कामदार युवराज कार्कीले मेसिन स्टार्ट गर्न लाग्दा उद्योगमा आगो उठेको जनाइएको छ। आगलागीपछि बेहोस बनेका कार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उदयपुरको गाईघाटमा व्यवसाय गर्दै आएका खड्काले महिना दिनअघि मात्र दिक्तेल फर्किएर कपास उद्योग स्थापना गरेका हुन्।

आगो निभाउनका लागि लगिएको नगरपालिकाको दमकल भने घटनास्थलसम्म पुग्न नसक्दा स्थानीयले असन्तुष्टी जनाएका छन्।
 
 

 

प्रकाशित: ५ वैशाख २०७४ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App