६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अभावको भुमरीमा ‘बादी वस्ती’

सानो कोठामा ट्युसन पढ्दै बादी वस्तीका बालबालिका। तस्बिर: दिनेश/नागरिक

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तिमुनिको अध्यारो छ, दुर्गा भवानी टोल। घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी वस्ती यतिखेर अभावको भुमरीमा छ। स्थानीय बादी समुदायका अनुसार गत निर्वाचनमा लस्कर लाएर भोट माग्न आउनेहरू त्यसपछि फर्केर आएका छैनन्। यहाँ जाडोमा चिसोको चिन्ता, गर्मीमा तातोको अनि वर्षामा बाढीको तनाब रहिरहन्छ।

वस्तीमा बिहान खाना खाए पछिको एउटा मात्र उद्यम छ, बेलुकाको खाना तयारी। यहाँका अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझको चुल्हो जल्दैन। अशिक्षा रहर हैन बाध्यता हो। स्कुल जानलाई किताब, कापी र कलमको जोहो भयो भने पनि पोसाकले रोक्छ। कहीँ कतैबाट त्यो पनि पुग्यो भने विद्यालयमा तिर्ने शुल्कले स्कुलसँगको सामीप्यता कठिन हुन्छ।

वस्तीमा बिहान खाना खाए पछिको एउटा मात्र उद्यम छ, बेलुकाको खाना तयारी। यहाँका अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझको चुल्हो जल्दैन। अशिक्षा रहर हैन बाध्यता हो।

बादी वस्तीका करिब १ सय ५० घरमा जहिले अभावले मात्र बास गरेको हुन्छ। सहर नजिक छ। स्थानीय सरकार झनै नजिक छ। तर विपन्न र पिछडिएको बादी समुदायका समस्या समाधान गर्न कहीँकतैबाट पहल भएको छैन। मान्छे भएर मान्छेको दर्जा पाउन धेरै संघर्ष गरेका बादीहरूलाई आज पनि समाजको एउटा तप्काले नकारात्मक रूपमा चित्रण गर्ने गर्छ। सदरमुकामनजिकै अभावले तड्पिएको बादी वस्तीमा गणतन्त्रको हावाले छुन नसकेको देखेका आर्थिक अधिकार बोकेकाहरूले उपेक्षा गरिदिँदा यहाँका बालबालिकाको भविष्य अन्योलमा छ।

यहाँका बादी समुदायका करिब ६० घर र अन्य दलितका गरी १ सय ५० परिवारलाई पानीका लागि ३ वटा मात्र इनार छ। ‘दुईवटा इनार गर्मी बढ्दै जाँदा सुक्छ। एउटाको पानीले सबैलाई पुर्‍याउनुपर्छ।’ स्थानीय रञ्जिता बादी भन्छिन्, ‘शिक्षा र स्वास्थ्यको समस्याले जहिले पनि हामीलाई पिरोलिरहन्छ। आज पनि बादी समुदायकालाई हेर्ने दृष्टिकोणमा आउनुपर्ने परिवर्तन आउन सकेको छैन।’ राज्यले मौलिक हक भनेर लेखेका धेरै कुराहरू यो वस्तीमा आएको छैन।

मान्छे भएर मान्छेको दर्जा पाउन धेरै संघर्ष गरेका बादीहरूलाई आज पनि समाजको एउटा तप्काले नकारात्मक रूपमा चित्रण गर्ने गर्छ।

तीनवटा इनारमा लाइन लागेर पानी भर्ने उनिहरूको वस्तीभन्दा परका सबै घरमा पानी धारा छ। सबै घरमा बिजुलीसँगै उखरमाउलो गर्मी छल्न पंखा छ तर यहाँ न चिसोमा न्यानो छ न त गर्मी छल्न पानी छ। ‘चुनावमा भोट माग्न आउँदा समस्या टिपेर लगेकाहरू न जितेर फर्केर आए न त हार्ने आए।’ एक स्थानीय भन्छन्, ‘घोराहीले हामीलाई मान्छे नै मान्दैन।’ साना झुप्राभित्रका पीडाबारे बेखबरसँग स्थानीय बादीहरूको आक्रोश छ, ‘मान्छे भएपछि पाप र धर्म त साेंच्नु नि।’

घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी भने स्थानिय सरकारले बादी समुदायका लागि काम गरिरहेको बताउँछिन्। ‘उहाँहरू विगतमा जे छ त्यसैमा खुसी हुनुहुन्थ्यो। मान्छेको आवश्यकता बढ्दै जान्छ। जनसंख्या बढ्दै जान्छ,’ डिसीले भनिन्, ‘अब तुरुन्तै अनुगमनमा जान्छु। के गर्न सकिन्छ स्थानीय सरकारले त्यो गर्छ।’ कसैले प्रश्न तेर्साएपछि अनुगमन गर्छु, समस्या समाधान गर्छु भन्ने जनप्रतिनिधि विपन्नका वस्तीमा पुग्न नसकेको स्थानीयको गुनासो छ।

लुम्बिनी प्रदेश महिला पत्रकार संघका अध्यक्ष लिला शाह भन्छिन्, ‘वस्ती हेर्दा जुन स्थानमा उनीहरूलाई बसाइएको छ त्यो असुरक्षित छ। खोला किनारमा छ। उनीहरूले आफूमाथि लागेको कलंक मेटाउन त्यो वस्ती स्वीकार गरेका छन्। सरकारले व्यवस्थापन सुरुवात गर्यो तर स्थान गतिलो छनोट भएन। उनीहरूलाई राज्यको नीतिअनुसार पछि पारिएको वर्गलाई हेर्ने दृष्टि पुगेन। बादी वस्ती खाना, नाना र छानाको लागि तड्पिएको छ। हिजो यो समुदायलाई हेर्ने दृष्टिकोण फरक थियो तर आज अलि सुधारिएको भने छ।

घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी भने स्थानिय सरकारले बादी समुदायका लागि काम गरिरहेको बताउँछिन्।

यहाँ सबैभन्दा बढी समस्या शिक्षामा छ। कतिपय बालबालिका आज पनि रहर दबाएर घर बस्न बाध्य छन्। पटकपटक भोकै स्कुल जाने उनिहरूको टिफिन बक्स प्राय रित्तो हुन्छ। ‘घरमा बसेर पढ्ने बाताबरण छैन। बुवा आमा बिहान अध्यारोमा मजदुरीका लागि घरबाट निस्किन्छन्। कति घरमा बत्ति छैन। लाइन जोड्न सक्दैनन्। स्वास्थ्यका लागि उस्तै समस्या छ।’ स्थानिय युवा रञ्जिता बादीले थपिन्, ‘पोषणका कुरा हाम्रो दैलोमा छिर्दैन। बाहिरका युवाहरू वस्तीनजिकै खोला किनारमा आएर लागु औषध खान्छन्। हाम्रा किशोरकिशोरी पनि त्यो लतमा जान्छन् कि भन्ने चिन्ता उत्तिकै छ।’

शिक्षा सुधारमा चासो

अभाबको घेराले घेरिएको बादी वस्तीमा पछिल्लो शिक्षाको दियो जलाउने प्रयास थालिएको छ। फाटेका झोला र कपडा, च्यातिएका कपडामा टालो हालेर रित्तो टिफिन बक्स बोकेर विद्यालय जाने यहाँका बालबालिकालाई यतिबेला पढाइको महत्वले छोएको छ। केही स्थानीय संघ सस्थाको सहयोगमा बेलुका उनिहरूलाई गाउँमा होमवर्कसँगै ट्युसन सुरु गरिएकोछ। विद्यायलबाट घर आएपछि करिब १ सयजना बालबालिका दैनिक बेलुका टोलमा रहेको समूह घरमा आउँछन् र अध्याँरो नहुन्जेल पढ्छन्, होमवर्क गर्छन्।

समूह घरको सानो कोठामा उनीहरूलाई स्थानीय युवाहरूले पढाउँछन्। विद्यार्थी बस्नका लागि घोराहीमा रहेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले कार्पेट कुसनको व्यव्स्था गरिदिएको छ भने पढाउने युवाहरूका लागि सामान्य खर्च पनि दिएको छ। ‘धेरै पहिलेदेखि यहाँका महिला र बालबालिकाका सवालमा बोल्दै र सहयोग गर्दै आएका छौं। शिक्षा नै महत्वपूर्ण हो भन्ने बुझाउदै वस्तीका बालबालिकालाई विद्यालयमा पढाउनका लागि पनि सहयोग गरिरहेका छाै।’

अभाबको घेराले घेरिएको बादी वस्तीमा पछिल्लो शिक्षाको दियो जलाउने प्रयास थालिएको छ। फाटेका झोला र कपडा, च्यातिएका कपडामा टालो हालेर रित्तो टिफिन बक्स बोकेर विद्यालय जाने यहाँका बालबालिकालाई यतिबेला पढाइको महत्वले छोएको छ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्षसमेत रहेकी सामाजिक अभियन्ता विमला योगीले भनिन्, ‘यहाँ सहयोगको तीव्र खाँचो छ। सबैको सानो सहयोगले अभावका कारण विद्यालय जान नपाउने वातावरणको अन्त्य गर्न सक्छाैं।’ उनका अनुसार वस्तीका महिला र बालबालिका स्वास्थ्यको उच्च जोखिममा समेत छन्।

विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रमअन्तर्गत केही बालबालिकालाई शैक्षिक सामग्री र विद्यालयमा बुझाउनुपर्ने केही आर्थिक सहयोग, अन्य स्थानीय केही व्यक्ति र संस्थाको सानो सहगोगबाहेक शिक्षा, स्वास्थ्य सुधारका लागि कहीँ कतैबाट चासो नदिएको स्थानीयको गुनासो छ। ‘हामीलाई सानो सहयोग पनि ठूलो लाग्छ। हाम्रो बच्चाको पढाइ कमजोर छ।’ दुर्गा भवानी टोलका अध्यक्ष बालकुमार बादीले भने, ‘यहाँ अभाव भन्ने चिज मात्र छ। यहाँ रोजगारी भनेको मजदुरी मात्र हो।’

स्थानीय समाजसेवी दिलीप ताम्राकारले सन् २०१९ को कोरोना समयदेखि बच्चाहरूलाई ट्युसनको सुरुवात गरिएको बताए। उनले भने, ‘कोरोनाको समय थियो। सुरुमा म र मेरो श्रीमतीले सुरु गरेको हो। सामान्य पकेट मनीबाट सुरु गरिएको यहाँ रिसोर्स नहुँदा गाह्रो भएको छ। उनले भने अहिलेसम्म स्वयंसेवी रूपमा नै ट्युसन चलिरहेको छ।’

स्थानीय समाजसेवी दिलीप ताम्राकारले सन् २०१९ को कोरोना समयदेखि बच्चाहरूलाई ट्युसनको सुरुवात गरिएको बताए।

केन्द्रले भूइँ मान्छेको समस्या देखेन भन्दै घरछेउमा आएको स्थानीय सरकारसँग कहिल्यै सामीप्यता नगाँसिएको बादी वस्तीलाई ‘लक्षित समुदाय’का लागि कार्यक्रम बनाउँदा कहिले सहभागी गराइँदैन। नगरप्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधि र टाठाबाठाका लागि विकास भनेको सडक र भौतिक पूर्वाधार मात्र हो भन्ने बुझाइका कारण विपन्न लक्षित गतिला कार्यक्रम कहिले बन्ने गरेको छैन। घोराही नगरपालिकाले वेबसाइटमा राखेको वार्षिक कार्यक्रममा बादी समुदाय लक्षित एउटा पनि कार्यक्रम देखिँदैन।

प्रकाशित: ३१ वैशाख २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App