१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाँच किलोमिटरको भाडा तीन सय

ललितपुर- पाँच किलोमिटर दुरीको गाडीभाडा कति होला? यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादर अनुसार जम्मा २१ रुपैयाँ। तर ललितपुरको चापागाउँबाट टिकाभैरव–भट्टेडाँडा–तीनपाने–गिम्दी–प्युटार–आश्राङ–गिम्दी पाँच किलोमिटर सडकमा गुड्नेे सवारीसाधनले यात्रुसँग तीन सय रुपैयाँ भाडा असुलीरहेका छन्। 

ललितपुर चापागाउँ–टिकाभैरव–भट्टेडाँडा सडकमा बसले सामान्यतया ५०–७० रुपैयाँ लिन्छ। तर चापागाउँबाट यो रुटमा पाँच किलोमिटर दुरी छिचोल्ने टाटासुमोले चढ्नासाथ ३ सय रुपैयाँसम्म भाडा असुल्ने गरेका छन्। पाँच महिनाअघि ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माको अध्यक्षतामा बसेको भाडादर निर्धारण समिति बैठकले ग्रामीण सडकमा प्रति किलोमिटर सात रुपैयाँ भाडादर कायम गरेको थियो। ललितपुरको दुर्गम भेगमा चल्ने सवारीसाधनले समितिको निर्णय बेबास्ता गर्दै जथाभावी भाडा असुलिरहेका छन्।

पर्याप्त सवारीसाधन नगुड्ने दक्षिण ललितपुरका सर्वसाधारणले चर्को भाडा तिरेर यात्रा गर्न बाध्य छन्। त्यस भेगमा गुड्ने सवारीसाधनको संख्या न्यून भएकाले त्यस क्षेत्रका यात्रु सय देखि २ सय रुपैयाँमा ओहोरदोहोर गर्न सक्ने सडकमा ३ सयदेखि ६ सय रुपैयाँ भाडा तिरी आवतजावत गर्न बाध्य छन्।

'दक्षिण ललितपुरमा बिहान चल्ने एउटामात्र बस छ। एउटा बसले यहाँका यात्रुको चाप थेग्नै सक्दैन र पर्याप्त पनि छैन। टाठाबाठाले आफूखसी गाडी सञ्चालन गरी चर्को भाडा असुल्दै आएका छन्,' नागरिकसँग ललितपुर टिकाभैरवका अरुण लामाले भने, 'कहिलेसम्म हामी यस्तो चर्को भाडा तिरेर यात्रा गर्ने?'

चाडबाडका बेला निजीस्तरबाट सञ्चालित टाटासुमोले मनपरी भाडा लिने गरेका छन्। चापागाउँदेखि दक्षिण ललितपुरको विकट क्षेत्र मानिने गिम्दीवासी र आश्राङवासीले उक्त रुटमा मिनी बस सञ्चालन गर्न आग्रह गरी ललितपुर मिनीबस व्यवसायी संघमा बारम्बार पत्राचार गरेका थिए।

संघले स्थानीयको गुनासो नसुनेको आइतबार चापागाउँ बसपार्कमा भेटिएका गाम्दीका सन्तोष अधिकारीले बताए। उनले भने, 'सवारीसाधन अभावमा किनमेल गर्न र सरकारी कार्यालयमा काम परेका बेला सहज आवतजावत गर्न सकिँदैन, दिनमा ५ देखि ८ वटा टाटासुमो चल्छन्, तर भाडा जथाभावी असुल्छन्।'

अहिले चापागाउँबाट गिम्दीसम्म दैनिक ४ वटामात्र बस गुड्छन्। तर यात्रुको चाप बढी भएको र स्थानीयले नै थप गाडीको माग राखेकाले राजनीतिक दलका नेतासँग छलफल गरी स्वरोजगार यातायात व्यवसायी संघसँग स्वीकृति लिएर सवारी सञ्चालन गरेको यातायात व्यवसायी रामकुमार लामाले जानकारी दिए। उनले भने, 'अहिले दक्षिण ललितपुरको सडकमा गुड्ने सवारीसाधन न्यून भएकाले हामीले त्यो क्षेत्रमा टाटासुमो सञ्चालन गरेका हौँ।'

अहिले टाटासुमोमा चापागाउँबाट टिकाभैरव–कोटडाँडा–झाँक्रिडाँडा–छपेलीसम्म यात्रा गर्दा ३ सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै चापागाउँदेखि प्युटारसम्म ४ सय ५० रुपैयाँ तिर्नुपर्छ  र चापागाउँदेखि ६० किलोमिटर दुरीको गिम्दीका यात्रुले ७ सय सय रुपैयाँ तिर्नुपर्छ। 'बसले चापागाउँदेखि गिम्दीसम्मको ३ सय  भाडा लिन्छ तर टाटासुमोले ७ सय रुपैयाँ लिन्छ। यो त बढी मात्र होइन, लुट नै भयो,' प्युटारका मनिष तामाङले भने।

ललितपुर मिनिबस व्यवसायी संघले बस थप्न नसक्दा ग्रामीण भेगका सर्वसाधारण चर्को भाडा तिर्न बाध्य भएका हुन्। यसबारे ललितपुर मिनिबस व्यवसायी संघका अध्यक्ष निररत्न नेवाले उक्त रुटमा नयाँ बस थप्न नसकिएको जानकारी दिए। उनले भने, 'तिहारपछि जसरी पनि नयाँ बस थप्छौं।'

उक्त रुटमा टाटासुमो सञ्चालन हुन थालेको २ वर्ष भयो। तर यात्रुसँग चर्को भाडा असुल्न पल्केका व्यवसायीलाई कुनै पनि निकायले कारबाही गर्न सकेको छैन। ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेंथुले उक्त रुटमा टाटासुमो गुड्ने ट्राफिकलाई थाहै नभएको बताए। 'हामी तुरुन्तै उक्त रुटमा चल्ने सवारी भाडा जाँच गछर्ौँ र तोकिएभन्दा बढी भाडा असुल्नेलाई आवश्यक कारबाही गर्छौं,' उनले भने, 'सुरुमा टाटासुमोले सहुलियत भाडा लिने भन्दै हामीसँग स्वीकृति लियो तर यात्रु नै बेहोस पार्ने गरी भाडा असुलेको छ।'

प्रकाशित: ९ कार्तिक २०७३ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App