९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

शीतलहरको चपेटामा मधेसका विपन्न बस्ती

शीतलहरबाट प्रभावित सिरहाको गोलबजार–१० धोबियाधारका मुसहर बालबालिका। तस्बिर: मिथिलेश/नागरिक

परालले छाएको सानो छाप्रो।एकातिर काठ र अर्कातिर परालको बेरा।चिसो भुइँमा बिछ्याइएको डसना। त्यसमाथि ओछ्याइएको पातलो सुकुल ।नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका ६० वर्षीय परमेश्वर पासवानको घरको दृश्य हो यो। दुई दिनदेखि चलेको शीतलहरको सिरेटोले परमेश्वरलाई अत्याएको छ। दुई वर्षअघि शीतलहरकै कारण उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो।

धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी ६५ वर्षीया सुकनीदेवी सदायलाई शीतलहरको सिरेटोले कपाइरहेको छ। सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्।तिनैमध्ये एउटा छाप्रामा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ। चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई न्यानो ओढ्ने,ओछ्याउने र लगाउने जोहो गर्न हम्मे छ।गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ५० वर्षीया जंगली सदाय दिउँसो चल्ने हावामा ओछ्यानमुनिको पराल सुकाउँछिन्। राति चिसोले ओसिएको  भुइँमा ओछ्याइएको पराल दिनभरि हावामा सुकाएर राति फेरि बिछ्याउनु उनको दैनिकी हो। ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो। गर्मीमा जेनतेन चल्छ, जाडोमा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘रुईको सिरक–डसना जोड्ने औकात छैन।हामी गरिबका लागि पराल नै सिरक–डसना।’

मधेसका दुर्गम क्षेत्रमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो सुरु भएर पुसदेखि ह्वात्तै बढ्छ। पुसको सुरुवातसँगै शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले बाक्लो लुगा पहिरेर ज्यानलाई जतन गरेर राखेका छन्। तर आर्थिक स्थिति कमजोर हुने मधेसका सुकुम्बासी मुसहर, डोम, चमारलगायत समुदायमा भने बर्सेनि शीतलहर कहर बनेर आउँछ। बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासी मुसहरलगायत समुदायका मानिसलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन। चिसो बढेपछि बस्तीका अभावग्रस्त नागरिक निदाउन सक्दैनन्। शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने ? पिरलोमै यस बस्तीको दिनरात कटिरहेको छ। यसै बस्तीकी ४० वर्षीया श्यामदेवी सदायको एककोठे छाप्रोमा सातजनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ। चारजना छोराछोरी र वृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पतीको रात घरबाहिर खुला आकाशमुनि बित्छ। ओढ्न–ओछ्याउन परालसँगै घरका पुराना कपडा प्रयोग गर्नु त्यो दम्पतीको बाध्यता हो।

धोबियाधार (खोला) को डिलमा रहेको सुकुम्बासी मुसहर बस्तीमा वर्षामा घर डुबान र हिउँदमा शीतलहर पिरलो बनेर आउँछन्। ‘पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन। कहाँबाट न्यानो लुगा लगाउनु ?’

शीतलहरका बेला मधेसको अभाव बस्तीमा कठ्यांग्रिएर मानिस मर्न थालेपछि बर्सेनि न्यानो कपडा बाँडिन्छ। उनीहरूको जीवनस्तर सुधार्न थुप्रै बजेट खर्चिन्छ। तर उनीहरू चिसोसँग सधैं पैठेजोरी खेल्न बाध्य छन्। ज्यानमारा बन्दै गएको शीतलहरबाट गरिब र विपन्न परिवारलाई जोगाउन सरकारी योजना पनि टालटुले मात्र छ। गत दुई वर्षमा चिसोले मधेस प्रदेशको विपन्न बस्तीमा १०० जनाको मृत्यु भइसकेको छ।

ज्यान जोगाउन संघर्ष

चिसो बढ्न थालेपछि सिरहाको अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ। प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने भनेर चिन्तामा छन्। उनीहरू के लाउने, के ओछ्याउने र के ओढ्ने भनेर चिन्तामा परेका हुन्। पुस–माघको शीतलहर कसरी काट्ने भन्ने चिन्ताले यस भेगका विपन्नलाई सताएको छ। चरम आर्थिक अभावमा रहेका उनीहरूका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ।  

‘जाडोमा पराल नै हाम्रो सहारा बन्छ, परालै ओढ्छौं, परालै ओछयाउँछौं र परालकै आगो ताप्छौं,’ सिरहा बरियारपट्टी गाउँपालिका मुसहरी टोलका फकिर सदायले भने, ‘हामी गरिबसँग अन्य विकल्पै छैन, के गर्ने बाध्यता यस्तै छ।’ जाडोयाममा ज्यान जोगाउने सकससँगै यस बस्तीमा हातमुख जोड्ने सकस पनि हुने गरेको उनीहरू बताउँछन्। जाडोयाममा भगवान् भरोसामा गुजारा चल्ने गरेको फकिरले बताए। ‘जाडोमा बाहिर काम गर्न हिम्मत हुन्न, बाहिर काम गर्न नगए हातमुख जोड्न समस्या हुन्छ,’ उनले भने। गरिबीका कारण टुटेको घरमा बस्नुपरेको र च्यातिएको कपडा जोडेर लाउनु परेको अधिकांश मुसहरको भनाइ छ। प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ गाउँका साहुमहाजनले दिने पुरानो कपडा उनीहरूको जाडो छल्ने उपाय बन्ने गर्छ।  

अलिअलि घामको सहाराले दिन बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको सिरहा कचनारिकी ६० वर्षीया तेतरीदेवी सदायले बताइन्। ‘घरका बालबालिकालाई च्यातिएको लुगा र पराल ओढाएर सुताउँछौं,’ उनले भनिन्, ‘हामी बुढाबुढीको सहारा आगो ताप्ने घुर नै हो।’ उनले थपिन्, ‘मंसिरमा जोहो गरिएको पराल हाम्रो चुलोदेखि ओछ्यानसम्मको सहारा बन्छ।’

ज्यान लिने जाडो

गर्मीयाममा झाडापखालाले थलिँदा उति आत्तिइनन् बरियारपट्टीकी श्यामकुमारी मलिक। तर पुस लागेसँगै उनको पिरलो बढेको छ। छाप्रोमुनि एकसरो च्यातिएको लुगाका भरमा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन। यसपालि पनि यहाँ पुरै डोम बस्ती शीतलहरले घेर्न थालेपछि उनी आत्तिएकी हुन्। पुसको ठिही टारिदिने लत्ताकपडा छैन उनीसँग।

यतिबेला मधेसका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश विपन्न परिवार श्यामकुमारीकै जस्तो पीडा भोगिरहेका छन्। चिसोसँगै बाक्लिएको शीतलहर झेल्न ओढ्ने–ओछ्याउने र न्यानो लुगा नहुँदा उनीहरू सकसमा छन्। मजदुरी गरी कमाएको पैसाले बालबच्चा र आफ्नो पेट भर्नै हम्मे पर्ने उनीहरू बताउँछन्।  

सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक डोम समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन। ऐलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा चिसोले कसरी ज्यान जोगाउने भन्ने संघर्ष चलिरहेको छ। अशिक्षा र गरिबीको पराकाष्ठा, घरको बनावट र प्रकृतिलाई आफ्नो पहुँचमा राख्न नसक्दा विपन्न समुदाय जाडोमा प्रताडित हुनुपरिरहेको छ। आर्थिक अवस्थाकै कारण चिसोमा गरिब, सुकुम्बासी परिवार बढी प्रभावित हुन्छन्। जाडोबाट अन्य समुदाय र सर्वसाधारण पनि प्रभावित हुन्छन्, तीमध्ये पनि विशेषगरी विपन्न, सुकुम्बासी परिवार बढी समस्यामा पर्ने गरेका छन्। शीतलहरबाट बच्ने उपायबारे सरकारले नै गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सामाजिक अभियन्ताहरू बताउँछन्।

प्रकाशित: २ पुस २०७९ ००:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App