८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपाली भूमि रक्षाको लागि एमालेलाई भोटः ओली

रास्कोटका जनतालाई सम्बोधन गदै ओली। तस्बिर: ललित विष्ट,कालिकोट

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवामा रोजगारी बढाउन एमालेलाई भोट दिन आग्रह गरेका छन्।

कालिकोटको रास्कोट नगरपालिकामा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताए।

देशको पक्षमा काम गर्न थालेपछि विरोधी शक्तिले एमालेविरुद्ध षडयन्त्र गरी सरकार ढालेको उनकाे आरोप छ। एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक,पटक एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भएको बताउदै दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उनले बताए।

मङ्सिर ४ को निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चागदै अध्यक्ष ओलीले भने 'अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ।' देश बनाउने शक्ति एमालेमा मात्र भएकाले सुर्य चिन्हमा मतदान गर्न उनले आव्हान गरे।

देशसँगै कालिकोटमा एमालेले बहुमतसाथ जित्ने उनले विश्वास व्यक्त गरे। हामीसँग जनता साथमा छन्। समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उनले चर्चा गरे। देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उनको भनाइ छ।

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’ 

अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गरे। 

प्रकाशित: २७ कार्तिक २०७९ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App