१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढे

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मिति निजिकिदै गर्दा जिल्लामा आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन्। आचारसंहिता उल्लंघनका घटना बढेपनि निर्वाचन आयोग मौन बसिरहेको नागरिक समाजका अगुवाको गुनासो छ।

‘उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन्, तरपनि निर्वाचन आयोगले कठोर कदम चाल्न नसकेको हो कि भन्ने हामीलाई लागेको छ,’ अधिकारकर्मी प्रकाश उपाध्यायले भने।  

जिल्लामा राजनीतिक दल तथा उम्मेदवारबीच आचारसंहिता उल्लंघन गर्ने प्रतिस्पर्धा नै चलेको छ। आयोगले कडाई नगर्दा आचारसंहिता उल्लंघनका घटना बढेको नागरिक अगुवाको विश्लेषण छ। अधिवक्ता विश्वजित तिवारी भन्छन्, ‘आचारसंहिता पालना गराउन कडाई नगर्ने हो भने निर्वाचन स्वच्छ र निश्पक्ष हुन सक्दैन।’ जिल्लाका राजनीतिक दल तथा उम्मेदवारले तोकिएको भन्दा बढी सम्पर्क कार्यालय स्थापना गर्ने, भारतीय गाडी प्रयोग गर्ने, मतदाता प्रभावित पार्न पैसा र खाद्यान्न बाँड्ने, झण्डा, ब्यानर बढी प्रयोग गर्ने, शक्ति प्रर्दशन गरिरहेको जनगुनासो बढेको छ।  

यसरी निर्वाचन आचारसंहिता विपरित गतिविधी गरेका केही उम्मेदवार र जनप्रतिनिधीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले कारबाही प्रक्रिया अगाडी बढाएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष कौशलकुमार धोबी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी(जसपा), राप्रपा नेपाल, स्वतन्त्र उम्मेदवारद्धय दिवाकर खनाल र बागेश्वर चौलागाई, महिला अधिकार मञ्च लगायतविरुद्ध कारबाही प्रक्रिया अगाडी बढाएको हो।  

जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत खडानन्द अधिकारीका अनुसार जसपाका नेता समेत रहेका वडाअध्यक्ष धोबीले आचारसंहिता विपरित चामल बाँडेको उजुरी परेको थियो। उनले राँझाका ब्यापारी रामगोपाल वर्मा(प्रधान)लाई हस्ताक्षर गरी चामल दिन आग्रह गरेको कागजको टुक्रा सामाजिक सञ्जालभरी भाइरल भएको थियो। ‘वडाअध्यक्ष कौशलकुमार धोबीलाई हामीले २४ घण्टे स्पष्टीकरण सोधेका छौं, अहिलेसम्म जवाफ आएको छैन, स्पष्टीकरणको जवाफ नआए जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसेर आवश्यक निर्णय लिन्छौं,’ अनुगमन अधिकृत अधिकारीले भने।  

यस्तै अधिकारकर्मी रुबी खान अध्यक्ष रहेको महिला अधिकार मञ्चमाथी पनि कारबाही प्रक्रिया अगाडी बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ। उक्त गैर सरकारी संस्थाको तर्फबाट केही दिनअघि खानले पत्रकार सम्मेलन गरी एक जना उम्मेदवारका विरुद्ध अभिब्यक्ती दिएकी थिइन्। सोही विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अगाडी बढाइएको अनुगमन अधिकृत अधिकारीले बताए। ‘कुनैपनि उम्मेदवार विरुद्ध अर्काे उम्मेदवार वा संघ संस्थाले गाली गलौच गर्न पाउँदैन,’ उनले भने ‘महिला अधिकार मञ्चका विरुद्ध आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोध्ने तयारीमा छौं।’  

जसपा र राप्रपाले क्षेत्र नम्बर २ मा आचारसंहिता विपरित बढी कार्यालय स्थापना गरेको, झण्डा र ब्यानर बढी मात्रामा प्रयोग गरेको उजुरी परेपछि दुबै दललाई पनि स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी राप्रपा नेपाल, जनमत पार्टी, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल र बागेश्वर चौलागाईलाई पनि आचार संहिता विपरित अटो रिक्सामा ब्यानर टाँसेको आरोपमा स्पष्टीकरण सोधिएको छ।  

जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत धनसिंह महरले बाँकेको क्षेत्र नम्बर २ मा सबैभन्दा बढी आचारसंहिता उल्लंघन गरेको सम्बन्धी उजुरी प्राप्त भएको बताए। आचारसंहिता विपरितका गतिविधी गर्ने कोही पनि दल र उम्मेदवारलाई आयोगले नछाड्ने उनको भनाइ छ। ‘आचार संहिताको हामीले नियमित रुपमा अनुगमन गरिरहेका छौं, जसले उल्लंघन गरेका छौं, त्यसलाई कारबाही प्रक्रिया पनि अगाडी बढाएका छौं,’ नागरिकसँग उनले भने।  

प्रकाशित: २१ कार्तिक २०७९ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App