६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्याङजा–१ मा मतदाताका लागि ‘टेस्टेड’ उम्मेदवार

दुवै जनासँग हार र जितको अनुभव

राजु थापा र नारायणप्रसाद मरासिनी।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी चटारो बढ्दो छ। जिल्लामा अहिले निर्वाचनको परिणाम कसको पक्षमा जान सक्ने भन्ने बहस सुरु भएको छ। यसअघि नै निर्वाचित भइसकेका र पहिलो पटक चुनावमा होमिएका उम्मेदवार अहिले जिल्लाको निर्वाचन दौडमा छन्।

यस्तै जिल्लामा पर्छ स्याङजा। जहाँ यसअघि पनि पालैपालो जित हासिल गरिसकेका उम्मेदवार अहिले प्रतिनिधिसभाका लागि दौडधुप छन्। दुइवटा क्षेत्र रहेको स्याङजामा स्याङजा–१ को प्रतिस्पर्धा केही फरक छ। किनकी त्यहाँ यसअघि पनि भिडेका उम्मेदवारहरु अहिले पनि एकअर्कासँग प्रतिश्पर्धामा छन्।

लगातार तीनपटकसम्म मुख्य दलका उनै उम्मेदवार दोहोरिएका छन्। मतदाताले भने ती तीनपटकसम्म दोहोरिएका दुवै उम्मेदवारलाई ‘टेस्टेड’ भनिरहेका छन्। स्याङजा–१ मा अहिले एमाले नारायणप्रसाद मरासिनी उम्मेदवार छन्। उनको प्रतिस्पर्धीको रुपमा कांग्रेसका राजु थापा छन्। स्याङजा–२ मा भने एमालेबाट पद्याकुमारी अर्याल र कांग्रेसका धनराज गुरुङ उम्मेदवार रहेका छन्। स्याङजा–१ का मरासिनी र थापाको भेट यसअघि पनि दुईपटकसम्म त्यही क्षेत्रमा भइसकेको छ।

२०७० को निर्वाचनमा राजुले स्याङजा–१ मा जित्दा एमालेका मरासिनी पराजित भएका थिए। २०७४ को निर्वाचनमा भने त्यो क्षेत्रको परिणाम ठ्याक्कै उल्टो भएको थियो। २०७४ मा उनै मरासिनी र थापाको भेट पुरानै क्षेत्रमा हुँदा मरासिनीले जित हात पारेका थिए। अघिल्लो पटक जितेका थापा दोश्रो पटक मरासिनीसँगको भेटघाट पराजित भएका थिए।

एक–एकपटक जितेर दुवै उम्मेदवारले संसदीय अभ्यासको अनुभव बटुलिसकेका छन्। एक पटक जित र एकपटक हार बेहोरेका दुवैका लागि यो पटक जित दोहोर्‍याउने चुनौती रहेको छ। थापा र मरासिनीबीचको प्रतिस्पर्धाले स्याङजा–१ को चुनावी मैदान बढी चर्चामा छ। थापा पार्टीका जिल्ला सभापति पनि हुन् भने मरासिनी जिल्ला अध्यक्षमा पराजित भएका थिए।

अहिले उनै थापा र मरासिनी एकै मैदानमा छन्  मतदाताका विचारमा दुवैजना उम्मेदवार ‘टेस्टेड’ हुन्। मतदाताका लागि उनीहरु नयाँ अनुहार होइनन्। दुवै जना टेस्टेड उम्मेदवार भएपनि उनीहरुको विकल्पमा अरु दल निकै नै कमजोर छन्। माओवादी केन्द्र र एमाले फुटेर बनेको एकीकृत समाजवादीले उत्तिसारो बलियो स्थान बनाउन सकेका छैनन्।  

स्थानीय विश्लेषकका अनुसार स्याङजा–१ एमालेले प्रभाव पारेको क्षेत्र हाे। एमालेले प्रभाव पारेको क्षेत्र हुँदा-हुँदै पनि आफ्नै क्षेत्र एमालेका लागि सकसपूर्ण छ। किनकी अघिल्लो निर्वाचनमा जितेका मरासिनीको कामप्रति मतदाता सन्तुष्ट छैनन्। मतदाता बाहेक स्वयं मरासिनीलाई आफ्नै दलबाट पनि उत्तिसारो सहयोग नरहेको आरोप लाग्ने गरेको छ। पार्टीभित्रैबाट मरासिनीलाई अहसयोग हुने आशंका स्वयं एमालेभित्रै रहेको छ। अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका मरासिनीलाई अहिले सत्तारुढ गठबन्धनबाट चुनौती रहेको छ।  

एकजना विश्लेषकका अनुसार अहिलेको निर्वाचनमा स्याङजा–१ मा कांग्रेसका थापाको अवस्था बलियो देखिएको छ। त्यसको पहिलो कारणबारे ती विश्लेषक भन्छन्, 'सत्तारुढ गठबन्धनको पनि प्रभाव पर्नेछ। त्यसबाहेक पछिल्लो पाँचवर्ष अवधिमा मरासिनीको कामप्रति मतदाता सन्तुष्ट छैनन्। निर्वाचन जितेपनि काम नगरेको आरोप मरासिनी माथि छ।' त्यसको लाभ अहिले कांग्रेसका थापालाई पर्ने उनको विश्लेषण छ। ‘हुन त २०७० मा जितेपछि राजु थापाले पनि उत्तिसारो काममा फड्को मारेका त होइनन्, तर, मतदाताले त्यो बिर्सिसकेका छन्,’ उनले भने।

पछिल्लो निर्वाचन जितेका मरासिनीको पाँचवर्षे कार्यकाल मतदाताका लागि ताजा छ। यो अवधिमा मरासिनीले विकासका काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ। त्यसबाहेक पछिल्लो समय स्थानीय तहमा पनि एमालेको प्रभाव रहेको ठाउँमा समेत कांग्रेस बलियो बन्दै जाँदा त्यसको लाभ थापाले पाउने सम्भावना रहेको ती विश्लेषकको भनाइ छ।  

‘थापा र मरासिनी मतदाताका नजरमा दुवै जना टेस्टेड उम्मेदवार हुन्। दुवैले एक-एक कार्यकाल बिताएका छन्। अहिले समेत उनीहरुको तेश्रो पटक भेट हो,’ उनले भने, ‘मतदाताले दुवै जनाको काम देख्दादेख्दै पनि विकल्प नहुँदा दुइमध्ये एकजनालाई रोज्न बाध्य हुनेछन्।’

ती विश्लेषकका विचारमा स्याङजा– १ एमालेका लागि बलियो हुँदा-हुँदै पनि स्वयं पार्टी नै मरासिनीसँग रुष्ट छ। ‘एमालेका सबै मतदाताले भोट दिएमा मात्र मरासिनीलाई केही लाभ होला, नत्र गाह्रो छ। किनकी आफ्नै पार्टीका मतदाताले मरासिनीलाई धोका दिन सक्ने अवस्था छ,’ उनले भने, ‘एमालेभित्रै असहयोग भएको प्रमाण गत स्थानीय निर्वाचनमा देखिएको थियो।’

ती विश्लेषकका अनुसार मरासिनीमाथि सबैभन्दा बढी पाँचवर्षे अवधिमा काम नगरेको आरोप छ। ‘मतदातालाई नै खुसी पार्न सक्ने अवस्था उनले यसअघि देखाउन नसक्दा अहिले मार पर्ने देखिन्छ,’ उनले भने, ‘त्यसको लाभ थापाले उठाउन सक्नेछन्।’ सत्ता गठबन्धन भएपनि स्याङजामा माओवादी र एकीकृत समाजवादीको अवस्था उत्तिसारो बलियो छैन। तरपनि थापालाई भने थोरधेर साथ गठबन्धनबाट हुनेहुँदा केही सहज रहेको ती विश्लेषक बताउँछन्।

अर्का विश्लेषक तुलसी गिरीका अनुसार मरासिनी अघिल्लो पटक निर्वाचित भएपछि गम्भीर बिरामी परेका थिए। बिरामी परेकोले उनको मतदातासँग लामो समय सम्पर्क हुन सकेन। त्यसले गर्दा अहिले मरासिनीलाई केही अप्ठेरो रहेको गिरी बताउँछन्।

‘स्वयं मरासिनी पनि आफुले पाँचवर्षे अवधिमा काम गर्न नसकेको स्वीकार्छन्। थापा मतदाताको घरघरमा पुग्ने गरेका व्यक्ति हुन्। त्यसको लाभ अहिले थापालाई पर्नसक्छ,’ गिरी भन्छन्, ‘स्याङजा–१ मा अहिले कांग्रेस केही सुधारिएको पनि छ। त्यहाँ माओवादी र एकीकृत समाजवादीको रहेपनि मुख्य प्रतिश्पर्धा एमाले र कांग्रेसबीच नै हो, अरु दलको साथ मात्र हो, आधार होइन। माओवादी र एकीकृत समाजवादी अब्बल छैनन।’ एमालेबीचको अन्तर विरोधले गर्दा पनि मरासिनीलाई यो पटक मार पर्ने गिरीको विश्लेषण छ।

अर्काे क्षेत्र स्याङजा–२ मा एमालेकी सचिव पद्या अर्याल उम्मेदवार छिन्। उनको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उपसभापति धनराज गुरुङ रहेका छन्। गुरुङ पहिलो पटक प्रत्यक्ष रुपमा चुनाव लड्न लागेका छन् भने अर्याल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। विश्लेषकका अनुसार कांग्रेस एकढिक्का भएमा धनराजलाई जित्न सहज छ।

केहीगरी कांग्रेस एकढिक्का हुन सकेन भने त्यसको लाभ पद्याले पाउनेछिन्। पहिला पनि पद्याले यसकै लाभ पाएकी थिइन्। यसअघि पद्याले कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएकी थिइन्। २०७४ को निर्वाचनमा तत्कालिन एमाले र माओवादीबीच तालमेल गरेर बाम गठबन्धन गर्दा त्यसको लाभ अर्यालले लिएकी थिइन्।  

प्रकाशित: ११ कार्तिक २०७९ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App