७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा र लोसपामा पनि पुरानै अनुहार

जनता समाजवादी पार्टी (जसपा) ले देशभर ८१ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। उसले मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ। जसपाले मधेस प्रदेशमा उम्मेदवारी दिएकामध्ये २ जनाले पहिलो पटक चुनाव लड्दै छन्। पर्सा–२ मा सुरेन्द्र कुर्मी र सप्तरी–४ मा लालकिशोर यादवले पहिलो पटक उम्मेदवारी दिएका हुन्, बाँकी १५ उम्मेदवार पुरानै अनुहारका छन्। जसपाले ८१ मध्ये नेकपा (एमाले) सँग ५२ सिटमा तालमेल गरेको छ। ३५ सिट एमालेको भागमा र १७ सिट जसपाको भागमा परेको छ। तर मधेस प्रदेशबाहेक क्षेत्रमा मात्र जसपाले केही नयाँ अनुहारलाई स्थान दिएको छ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा ८ क्षेत्रमा उम्मेदवारी दिएको छ। जसमध्ये बारा–३ मा उम्मेदवारी दिएका लालबाबु सिंह मात्र पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। बाँकी ७ उम्मेदवार यसअघि मधेस प्रदेशका विभिन्न क्षेत्रबाट पटकपटक उम्मेदवार बन्दै आएका नेताहरू हुन्।  

जसपा र लोसपाका अधिकतर नेताहरू पटकपटक चुनाव लड्दै आएका छन्। उनीहरूसँग लामो समयदेखि चुनाव लडेको अनुभव छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले २०४८ सालदेखि सबै चुनावमा लगातार उम्मेदवारी दिँदै आएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि २०४८ सालदेखि चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले नेकपा (एमाले)बाट सुनसरी २ मा उम्मेदवारी दिएका थिए। त्यसपछि २०४८, २०५१ र २०५६ मा उम्मेदवारी दिएनन्। २०६४ देखि भने अहिलेसम्म उनले निरन्तर उम्मेदवारी दिँदै आएका छन्। यसपटक उनले सप्तरी–२ बाट उम्मेदवारी दिएका छन्। लोसपाका अर्का नेता शरत्सिंह भण्डारीले पनि २०४८ सालदेखि अहिलेसम्म निरन्तर उम्मेदवारी दिँदै आएका छन्। २०४८ र २०५१ मा उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए। २०५६ मा उनले स्वतन्त्रबाट चुनाव लडे। २०६४, २०७० र २०७४ को निर्वाचनमा उनले महोत्तरी–२ बाटै चुनाव लडे। २०७० को निर्वाचनमा उनी पराजित भएका थिए। यसपटक उनले लोसपाबाट महोत्तरी–२ बाट उम्मेदवारी दिएका छन्।  

यसैगरी लोसपाका नेता लक्ष्मणलाल कर्णसँग पनि २०४८ मा चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले पर्सा–१ बाट उम्मेदवारी दिएका थिए। २०४८, २०५१ र २०५६ मा उनले नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिकतर्फ सांसद भए। यसपटक उनले पर्सा–१ बाट उम्मेदवारी दिएका छन्। लोसपका नेताद्वय राजेन्द्र महतो र अनिल झा भने २०५१ सालको निर्वाचनदेखि हालसम्म निरन्तर चुनाव लड्दै आएका छन्। २०५१ र २०५६ को निर्वाचनमा महतो र झाले नेपाल सद्भावना पार्टीबाट चुनाव लडे। झाले रौतहट र महतोले सर्लाहीबाट चुनाव लडे। २०७४ को निर्वाचनमा महतोले धनुषाबाट उम्मेदवारी दिएका थिए। यसपटक महतोले सर्लाही–२ बाट उम्मेदवारी दिएका छन् भने झाले धनुषा–३ बाट उम्मेदवारी दिएका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App