६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन्।

बुधबार काठमाडौँमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताएका हुन्।

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे। उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए।

उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए। उनले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए।

उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताए। यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताए। उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताए।

उनले पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण बढीरहेको बताए। उनले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताए।

उनले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताए। उनले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताए।

प्रकाशित: २५ श्रावण २०७९ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App