६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

घोडाघोडीका मेयरसहित ७ वडाध्यक्षले राजीनामा दिए

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेर कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीले राजीनामा दिएका छन्। यसैगरि ७ जना वडा अध्यक्षले पनि राजीनामा दिएका छन्।

नेकपा एमालेका जिल्ला कमिटी उपसचिव समेत रहेका चौधरीले पुनः मेयरका लागि चुनाव लड्ने ईच्छा भएकाले शुक्रबार उपमेयर प्रेमकुमारी थापालाई राजीनामा बुझाएको बताए। ‘मेयरमा दोहोरिनका लागि उम्मेदवार बन्न ईच्छुक भएकाले राजीनामा दिएको हुँ,’ उनले भने। कोभिड १९ र कार्यालय व्यवस्थापन गर्नुपर्ने लगायत समस्याका कारण धेरै काम र योजना अधुरो रहेको उनले बताए। अधुरा काम र योजना पूरा गर्न मेयरमा दोहोरिन चाहेको उनको भनाइ छ।

उनले राजीनामा दिने बेलासम्म एमालेले उनलाई उम्मेदवार बनाउने जानकारी अधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन। एमालेबाट टिकट पाउने पक्का पक्की भएकाले उनले मेयर पदबाट राजीनामा दिएको बुझिएको छ। तर एमालेको नगरकमिटीबाट भने मेयरको लागि चौधरीको नाम सिफारिस गरिएको थिएन। २०७४ सालमा उनले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई ९ सय २७ मतले पराजित गर्दै मेयरमा विजयी भएका थिए।

यसैगरि पुनः दोहोरिने ईच्छा व्यक्त गर्दै घोडाघोडी नगरपालिका वडा नं १ वडाध्यक्ष मनराज शाही(नेकपा एमाले), वडा नं ३ का वडाध्यक्ष कमल थारु(माओवादी केन्द्र), वडा नं ४ का टेकबहादुर बुढा(नेकपा एकीकृत समाजवादी), वडा नं ५ वडाध्यक्ष प्रेमबहादुर रोकाय (एमाले) ले शुक्रबार पदबाट राजीनामा बुझाएका छन्।

यसैगरि वडा नं ७ का वडाध्यक्ष धनबहादुर बम(नेकपा एकीकृत समाजवादी), वडा नं ८ का वडाध्यक्ष भीमबहादुर वोगटी(नेपाली कांग्रेस), वडा नं ९ का वडाध्यक्ष कृष्णबहादुर शाही (एमाले )ले राजीनामा दिएका छन्। उनीहरुले मेयर ममता चौधरीलाई राजीनामा बुझाएका हुन्। मेयर चौधरीले उनीहरुको राजीनामा स्वीकृत गरेपछि उपमेयरसमक्ष राजीनामा बुझाएका थिए।

प्रकाशित: ९ वैशाख २०७९ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App