६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठकस्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।

अन्य दलसँग गठबन्धन गर्न पार्टी कार्यालयभित्र बैठक बसिरहेको बेला कार्यालयबाहिर कार्यकर्ताले चुनावी तालमेल नगर्न नहुने भन्दै नाराबाजी गरेका हुन्। नाराबाजी गर्ने समूहले नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुलाई ध्यानाकषर्णपत्रसमेत बुझाए।

शुक्रबार विराटगरस्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा गठबन्धनका लागि बैठक भइरहँदा बाहिर कांग्रेसका स्थानीय नेता कार्यकताहरूले मोरङमा दलीय गठबन्धन नगर्न नहुने भन्दै नाराबाजी गरेर पार्टी नेतृत्वलाई दबाव दिएका हुन्।

शुक्रबार बसेको बैठकबाट केही निर्णय नभएको जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले बताए। उनले गठबन्धन दलबीच चुनावी तामेल गर्ने नगर्ने भन्ने बारे निर्णय गर्ने अन्तिम समय सीमा शनिबारसम्म रहेको हुँदा शनिबार बस्ने बैठकले ठोस निर्णय दिनेछ।

‘छलफल जारी रहेको हुँदा शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने छ,’ अध्यक्ष यादवले भने, ‘जिल्लामा चार दलीय गठबन्धनको सम्भावना भएको र त्यसका लागि छलफल जारी राखेका छौं।’

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले गठबन्धनका लागि गठन भएको जिल्लास्तरीय कार्यदलले चाँडै आवश्यक निर्णय गर्ने बताए। काँग्रेस मोरङभित्र सम्मानजनक गठबन्धनको पक्षमा रहेको बताउँदै लिम्बूले विराटनगरको हकमा भने एकल प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

महानगपालिकामा कांग्रेसले अघिल्लो चुनावमा जित हासिल गरेको थियो। सभापति लिम्बुले अन्यत्र सम्मानजनक गरिने भए पनि महानगरमा वडा तहबाटै कार्यकर्ता तालमेल नगर्न माग गरेकाले कार्यकर्ताको माग बमोजिम महानगरपालिकामा काँग्रेसले एकल उम्मेद्ववादी दिन्छ।

विराटनगर वडा–६ का सचिव प्रकाश मण्डलको समूहले विराटनगरमा चुनावी तालमेल नगर्न माग राख्दै पार्टी सभापतिलाई ध्यानाकर्षणपत्र बुझाएको छ। मण्डलले तालमेलले विराटनगरमा काँग्रेसलाई असर पुग्ने भएकाले आफूहरू तालमेलको विपक्षमा रहेको बताए।

गठबन्धनमा आवद्ध ४ दलले गठन गरेको कार्यदलमा कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल बैठकमा सहभागी थिए।

प्रकाशित: ४ वैशाख २०७९ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App