६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावको बेला पनि २१३ स्थानीय तह निमित्तका भरमा

चुनावको बेला पनि २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। चुनावको बेला स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न निर्वाचन आयोगले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्न सकेन।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार चुनावका बेला २ सय १३ स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन्। यहाँसम्म कि सुगम मानिएका पाँचवटा उपमहानगरपालिकासमेत निमित्तको भर पर्नुपर्ने अवस्थामा छन्।

गत फागुनमै आयोगले चैत १५ सम्म सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार पदपूर्ति कायम गर्न सरकारलाई निर्देशन दिएको थियो। सरकारले उक्त निर्देशन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको थियो। आयोगको निर्देशनअनुसार सामान्यले निमित्त झिक्न प्रयास पनि गरेको थियो तर यसमा सामान्य सफल हुन सकेन।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव रविन्द्रजंग थापाले कर्मचारीको अभावको कारण सबै स्थानीय तहमा निमित्त झिक्न नसकिएको बताए। ‘निर्वाचनका बेला सबै स्थानीय तहमा निमित्त झिक्न र दरबन्दीअनुसार कर्मचारी पठाउन हामीले प्रयास गरेका थियौं,’ थापाले भने, ‘तर कर्मचारीको अभावका कारण सबै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी पठाउन सकेनौं।’ 

मन्त्रालयका अनुसार घोराही, तुलसीपुर, नेपालगन्ज, जितपुर सिमरा र कलैया उपमहानगरपालिका निमित्तको भरमा चलेका छन्। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिवसरहको कर्मचारी हुने व्यवस्था छ। तर यी ५ ठाउँमा उपसचिव सरहकै कर्मचारीहरूले निमित्त चलाएका छन्।

यसैगरी १ सय ३ नगरपालिका निमित्तको भरमा चलेका छन्। नगरपालिकामा उपसचिवसरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। तर ती नगरपालिकामा शाखा अधिकृतसरहका कर्मचारीहरू निमित्त चलाएका छन्।

यसैगरी गाउँपालिकामा नायब सुब्बासरहका कर्मचारीहरूले समेत निमित्त चलाएका छन्। निमित्तको भरमा चलेका स्थानीय तहमा चुनावको बेला गडबडी हुन सक्ने आशंकाले चैत १५ सम्म निमित्त झिक्न आयोगले सरकारलाई निर्देशन दिएको थियो। निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू पालिका प्रमुखको स्वार्थअनुसार काम गर्न सक्ने र यसले चुनावलाई समेत प्रभाव पार्न सक्ने आयोगको बुझाइ रहेको आयोगका एक कर्मचारीले बताए।

ती कर्मचारीले भने, ‘दरबन्दीअनुसार खटाइएका कर्मचारीहरू सामान्यतयता नियम कानुनलाई टेकेर काम गर्छ तर निमित्तले पालिका प्रमुखको स्वार्थअनुसार काम गर्ने सम्भावना रहन्छ।’

मन्त्रालयका अनुसार केही स्थानीय तहका पालिका प्रमुखहरूले दरबन्दीअनुसार कर्मचारी नपठाउन र निमित्तकै भरमा काम चलाउन मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरूलाई निर्देशन दिएका थिए। यतिसम्म कि केही स्थानीय तहले मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिरी नगराई केन्द्रमै फर्काएका थिए। पालिका प्रमुखहरूको असहयोगका कारण पनि सबै स्थानीय तहमा निमित्त झिक्न सकेनौं,’ मन्त्रालयका अर्का एक उपसचिवले भने। आफ्नो पुरानो हिसाबकिताब मिलाउन पनि पालिका प्रमुखहरूले निमित्तलाई चुनावसम्म निरन्तता दिन चाहेको देखियो,’ ती कर्मचारीले भने।

निर्वाचन आयोगका प्रमुख गोकर्णमणि दवाडीले चुनावमा गडबडी नहोस् भनी चैत १५ सम्म दरबन्दीअनुसार पद मिलान गर्न सरकारलाई निर्देशन दिएको बताए। ‘चुनावमा गडबड नहोस् भन्ने हाम्रो उद्देश्य हो। यसका लागि हामीले सरकारलाई दरबन्दीअनुसार पद मिलान गर्न निर्देशन दिएका हौं,’ उनले भने। चुनावी आचारसंहिता लागु भइसकेकाले अब कर्मचारीहरूको सरुवाबढुवा तथा खटनपटन हुन नसक्ने उनले बताए। ‘एकदमै आवश्यक परे मात्र आयोगसँग सहमति लिएर कर्मचारीको व्यवस्थापन गर्न सकिन्छ,’उनले भने।

प्रकाशित: ३ वैशाख २०७९ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App