२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

त्रियुगामा दुई दर्जन बढी मेयरका आकांक्षी

आसन्न स्थानीय तह निर्वाचनमा सदरमुकाम त्रियुगा नगरपालिकामा दुई दर्जन बढीले प्रमुख (मेयर)मा आकांक्षा राखेका छन्। जिल्लाको सबभन्दा ठूलो र सदरमुकामको नगरपालिका भएकाले पनि स्थानीय सरकारको लगाम समाउन धेरैको आकांक्षा हुनु स्वभाविक हो।

सत्ता गठबन्धनमा आबद्ध ५ दलमध्ये कुन पार्टीको भागमा को पर्ने यकिन नगरिसके पनि बजार हल्लादेखि स्वघोषित उम्मेदवार समेत गरी दुई दर्जन बढी मेयरका आकांक्षी देखिइसेकको स्थिति छ। स्थानीय तहदेखि प्रदेश र संघीय चुनावसम्म गठबन्धन कायम राख्ने सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीय स्तरमै तालमेलको निर्णय भई सामूहिक विज्ञप्ति आइसक्दा पनि आफूआफू मेयरको दावा गर्न भने छाडेका छैनन्।

काँग्रेस त्रियुगा नगर समितिले आधा दर्जनको नाम मेयरमा सिफारिस गरिसकेको छ भने त्यसमा १ जना थपेर प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरेको छ। ३ दिनअघि बसेको नगर समितिको बैठकले वसन्त बस्नेत, सरोज बस्नेत, देवीकुमारी चौधरी, प्रकाश खड्का र भिमचन्द्र राईको नाम मेयरमा सिफारिस गरेको थियो। त्यसमा प्रदेश समितिले विष्णुबहादुर राउतको पनि थपेर सिफारिस गरेको छ।

सिफारिसमा पर्ने वसन्त बस्नेत ०७४ को चुनावमा मेयरका पराजित उम्मेदवार हुन् भने देवीकुमारी चौधरी काँग्रेसबाट निर्वाचित बहालवाला उपमेयर हुन्। प्रकाश खड्का १० नं. वडाध्यक्ष तथा पार्टी नगर सभापति हुन् भने भिमचन्द्र राई जिल्ला उपसभापति हुन्। प्रदेश समितिबाट नाम थपिएका राउत जिल्ला सदस्य हुन्। काँग्रेसले उपमेयरमा ४ जनाको नाम सिफारिस गरेको जनाएको छ। जसमा सरिता राई, तारा राई, शर्मिला थापा र कलावती चौधरीको नाम परेको नगर सभापति प्रकाश खड्काले बताए। उनका अनुसार गठबन्धन गर्ने कुरा केन्द्रदेखि नै निर्देशन दिए पनि आकांक्षीको नाम सिफारिस गर्न कार्यकर्ताबाट दबाब परेपछि नगर र क्षेत्रीय समितिको बैठक राखेर सिफारिस पठाइएको हो।

गठबन्धनभित्रकै माओवादी र एकीकृत समाजवादीले भने अहिलेसम्म कसैको नाम सिफारिस गरिसकेका छैनन्। माओवादीमा पनि अघिल्लो चुनावका पराजित उम्मेदवार किरण राई लगायत आधा दर्जन आकांक्षी देखिए पनि गठबन्धन गर्ने केन्द्रीय निर्णय अनुसार कसैले मुख खोलिसकेका छैनन्। एसबाट भने पोलिटव्युरो सदस्य तथा हालका मेयर बलदेव चौधरीको नाम निर्विकल्प रहेको कार्यकर्ताहरू बताउँछन्। तर, एसले पनि गठबन्धनलाई नै प्राथमिकता दिएकाले कसैको नाम अहिले नै सिफारिस गरिहालेको छैन। जसपाबाट पनि मेयर वा उपमेयरमध्ये एक अपेक्षा गरे पनि सिफरिस गर्न हतार गरिहालेको छैन।

उता प्रमुख प्रतिपक्षी दल एमालेले पनि मेयर र उपमेयरको नाम सिफारिस गरिसकेको छ। मेयरमा सिफारिस हुने आधा दर्जनमा ईश्वरमणि राउत, प्रकाश बस्नेत, प्रमेश घिमिरे, भागवत राउत, टेकबहादुर राउत र गीता रेग्मी छन्। ईश्वरमणि निवर्तमान जिल्ला अध्यक्ष, घिमिरे वर्तमान अध्यक्ष, बस्नेत सचिवालय सदस्य, टेकबहादुर जिल्ला उपसचिव र रेग्मी पराजित उपमेयरकी उम्मेदवार हुन्। पार्टीले सिर्जना दनुवार, महेश्वरी राई, भवानी थापा र सीता पौडेलको नाम उपमेयरमा सिफारिस गरेको अध्यक्ष घिमिरेले बताएका छन्।  

प्रकाशित: ३० चैत्र २०७८ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App