१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदलाई बन्धक बनाएर ओली गाउँ डुलेर हिँडेका छन्: महामन्त्री थापा

कांग्रेस गोरखाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिरः नरहरि/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी ओली गाउँ डुलेर हिँडेको आरोप लगाएका छन्। ‘संसदबाट पारित गर्नुपर्ने दर्जौनौँ कुरा छ’ उनले भने ‘अब संसद चलाउने विषयमा छलफल संवाद हुन्छ, होईन भने भण्डाफोर हुन्छ।’

पुर्नस्थापना भएको संसदलाई योजनाबद्ध ढंगले चल्न नदिइएको भन्दै उनले संसद अवरुद्ध गर्ने नेपाल कम्यूनिष्ट पार्टी एमालेको आलोचना गरे। ‘संसदलाई पङ्गु बनाउने कोशिस गरिएको छ, संसदीय ब्यवस्था कामै नलाग्ने ब्यवस्था हो भन्ने स्थापित गर्न खोजिँदैछ’ शुक्रवार थापाले गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने।

‘हामी सरकार चलाउने पार्टी हो केही ठाउँमा झुक्नुपर्छ झुक्छौँ, संसद चलाउने विषयमा बिनम्र हुनुपर्छ हुन्छौँ’ थापाले भने ‘सांसदले संसदमा बोल्ने हो, चोक र चौतारीमा होईन।’ नेपाल कम्यूनिष्ट पार्टीले थिलथिलो पारेको ब्यवस्था र अवस्थालाई कांग्रेसले सम्हाल्ने बेला आएको उनले बताए।

न्यायलयलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिनुपर्ने महामन्त्री थापाले बताए। अदालतलाई अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्नु कांग्रेसको धर्म भएको बताउँदै उनले भने ‘कि त्यहाँ भित्र संवादबाट स्थिती सामान्य हुनुपर्छ, होईन भने नेपाली कांग्रेसले काठोर निर्मम निर्णय लिनुपर्ने हुन सक्छ।’ अदालतका प्रमुखले अदालतलाई सही ढंगले चलाउन सक्नु भएन भने प्रमुख त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्ने उनले बताए। ‘त्यो निर्णय गरेर यो विषयलाई कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आउँछ’ उनले भने।

अहिले सरकारी गठबन्धमा रहेका दलहरु सँग राष्ट्रिय चुनावको अवधी सम्म मात्रै चुनावी तालमेल हुने बताउँदै उनले त्यसपछिको निर्वाचनमा कांग्रेस एक्लै लड्ने आधार तयार गर्न कार्यकर्तालाई भने। ‘हाम्रो पार्टीलाई संग्राहालयमा पुर्‍याईदिन्छौँ भनेको कुरा हामीले बिर्सिएका छैनौँ’ अगामी चुनावमा तालमेलका संभवना नरहेको इङ्कित गर्दै थापाले भने ‘अब कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्यत्र छापा लगाउनुपर्ने अवस्था आउँदैन।’ 

अहिले चर्चामा रहेको एमसीसी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निर्णय भएको र त्यस पछिको सबै कम्यूनिष्ट नेतृत्वको सरकारले सम्झौता गरेको उनले बताए। ‘एमसीसी भन्यो भने कांग्रेसका लागि होकी जस्तो भएको छ, यस अघि भएका सम्झौताका विषयमा कांग्रेस बोल्नुपर्छ, जनतालाई बुझाउनु पर्छ’ थापाले भने।

हिजो के गर्‍यौँ भन्ने विषयलाई नभई भोली यो गर्छौँ भनेर कांग्रेस आउँदो चुनावमा जनताका बिचमा जाने उनले बताए। कांग्रेस गोरखा आयोजना गरेको जिल्ला स्तरीय नेतृत्व बिकास प्रशिक्षण कार्यक्रममा उनले टोल समिति गठन गर्दै निर्वाचन केन्द्रित गतिविधी बढाउन कार्यकर्तालाई आग्रह गरे। ‘केन्द्रमा कांग्रेसलाई विधी संवत हिँडाउने काम हामी गर्छौँ, तल्लो तहमा तपाईहरु गर्नुहोस्’ उनले भने।

‘बिदेश जाने चक्र तोड्छौँ, शिक्षा स्वास्थ्य रोजगारीको क्षेत्रमा काम गर्छौँ’ उनले भने ‘अब कांग्रेसले पाँच वर्ष कसरी देश चलाउन भन्ने तयारी पनि गर्छाैं।कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, अब्दुल सतार, राष्ट्रिय सभाका उम्मेद्ववार कमला पन्त, गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ लगायतले प्रशिक्षणमुलक धारणा राखेका थिए।

प्रकाशित: २३ पुस २०७८ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App