१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी महाधिवेशन: सहमति खोज्न बन्दसत्र स्थगन

नेकपा माओवादी केन्द्रले क्लस्टरअनुसार सहमतिमै केन्द्रीय सदस्य चयनका लागि भन्दै आइतबार दिउँसोसम्मका लागि बन्दसत्र स्थगन गरेको छ।

शनिबारको बन्दसत्रमार्फत केन्द्रीय सदस्य टुंगो लगाउने भनिएकोमा विभिन्न क्लस्टरअनुसार निर्वाचित गर्नुपर्ने भएकाले गृहकार्यका लागि आइतबार दिउँसोसम्मका लागि बन्दसत्र स्थगित गरिएको नेता हरिबोल गजुरेलले जानकारी दिए। ‘विभिन्न क्लस्टरअनुसार केन्द्रीय सदस्यको टुंगो लगाउनुपर्ने भएकाले गृहकार्यका लागि आइतबार दिउँसोसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ,’ उनले भने।

शनिबारको बन्दसत्रबाट सर्वसम्मत पारित पार्टी विधानले केन्द्रीय सदस्य हुन विभिन्न क्लस्टरको व्यवस्था गरेको छ। गत सोमबार स्थायी समिति सदस्य देव गुरुङले बन्दसत्रमा पेस गरेको विधान मस्यौदामा प्राप्त विभिन्न सुझाव र प्रश्नको जवाफ दिएपछि शनिबार सर्वसम्मतिमा विधान पारित भएको हो। विधानको व्यवस्था भएअनुसार केन्द्रीय सदस्यको सिफारिस र सहमतिमै केन्द्रीय सदस्य टुंग्याउन आइतबारसम्म बन्दसत्र स्थगित गरिएको नेता हिमाल शर्माले जानकारी दिए।

केन्द्रीय सदस्यमा सहमति जुटाउन शनिबार दिनभर प्रयास गरिएको र धेरै हदसम्म सहमति जुटेको उनले बताए। कतिपय प्रदेशबाट सिफारिस भएका नाम आवश्यक संख्याभन्दा बढी भएकाले त्यसमा पनि सहमतिको प्रयास भइरहेको नेता शर्माले जानकारी दिए।

महाधिवेशन आयोजक समितिले विभिन्न क्लस्टरअनुसार केन्द्रीय सदस्य सिफारिस गरिसकेकाले आइतबार दिउँसो बन्दसत्र सुरु हुनुअगावै केन्द्रीय निर्वाचन आयोगले त्यसलाई जाँच्नेछ। क्लस्टर नमिलेको पाइए सच्याउन आयोगले आयोजक समितिलाई आग्रह गर्नेछ। त्यस्तै सहमति नजुटेका ठाउँमा सहमति जुटाउने प्रयास पनि हुनेछ। आइतबारको बन्दसत्रमा प्रस्तावित केन्द्रीय सदस्यको नाम पेस भएपछि त्यसमा सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहालले पनि सकेसम्म केन्द्रीय सदस्य र पदाधिकारीको चयनमा सहमतिको प्रयास गर्ने तर लोकतान्त्रिक प्रक्रियालाई पनि खुला राखिने बताएका छन्।

दाहालले शनिबार बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा आइतबार नै पदाधिकारीको पनि टुंगो लगाउने घोषणा गरेका छन्। पदाधिकारीको हकमा पनि सकेसम्म सहमतिमै टुंगो लगाउने र सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रको भनाइ छ। पदाधिकारीमा अध्यक्षपछिको कार्यकारी मानिएको महासचिवमा आकांक्षी धेरै भएकाले निर्वाचन हुन सक्ने अनुमान गरिएको छ।

निर्वाचन समितिले शनिबार मतदाता नामावलीसहित निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको थियो। तर, पार्टीभित्र सहमतिका लागि प्रयास भइरहेको र आयोजक समितिले थप तयारी गर्नुपर्ने भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्न आग्रह गरिएको थियो। सोही आग्रहबमोजिम आइतबार दिउँसोसम्मका लागि निर्वाचन कार्यतालिका स्थगन गरिएको हो।

माओवादी केन्द्रको शनिबार पारित विधानले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक समावेशी सिद्धान्तका आधारमा केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरेको छ। जसअनुसार खुलाबाट १४५ जना र समानुपातिकबाट १५४ जना निर्वाचित हुनेछन्। समानुपातिकतर्फ पनि खस आर्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। जसमा १२ पुरुष, ३ पुरुष युवा, २४ महिला र ६ महिला युवा हुनुपर्नेछ। त्यस्तै दलिततर्फ २२ जना निर्वाचित हुने व्यवस्था रहेकोमा ६ पुरुष, एक पुरुष युवा, १२ महिला र तीन महिला युवा हुने व्यवस्था छ। मुस्लिमतर्फ सातजना निर्वाचित हुने व्यवस्था रहेकोमा एक पुरुष, एक युवा पुरुष, चार महिला र एक महिला युवा निर्वाचित हुनेछन्।

मधेसीतर्फ २३ जनाको कोटामा ६ पुरुष, एक पुरुष युवा, १३ महिला, तीन महिला युवा हुनुपर्नेछ। आदिवासी जनजातितर्फ ४३ जना निर्वाचित हुनेमा ११ पुरुष, तीन युवा पुरुष २३ महिला र ६ महिला युवा हुनुपर्नेछ। थारूतर्फ १० जना निर्वाचित हुनेमा दुई पुरुष, एक पुरुष युवा, ६ महिला र एक महिला युवा हुनुपर्नेछ। अपांगतातर्फ दुईजना निर्वाचित हुनेमा एक महिला र एक पुरुष हुनुपर्नेछ। पिछडिएको क्षेत्रबाट दुई निर्वाचित हुनुपर्नेमा एक महिला र एक पुरुष हुनुपर्ने व्यवस्था विधानमा छ।

प्रकाशित: १८ पुस २०७८ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App