१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले तेस्रो पटक संसद् विघटनको प्रयासमा सक्रिय भएको आरोप लगाएका छन्। सरकारको नेतृत्वमा रहँदा दुईपटकसम्म संसद् विघटन गरेको एमाले अहिले प्रमुख प्रतिपक्षीका रुपमा फेरि पनि संसद् विघटनको खेलमा लागेको आरोप दाहालले लगाएका हुन्। ‘तर हामी त्यो प्रयास सफल हुन दिँदैनौं’, दाहालले भने, ‘हामी कुनै पनि हालतमा संसद् विघटन हुन दिँदैनौं।’ अहिलेको राजनीतिक संघर्ष जटिल र चुनौतीपूर्ण रहेको पनि उनले बताए।

आइतबारदेखि हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले अहिले पनि परिवर्तन र त्यसका उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको बताए। ‘पहिलो पटकको संसद् विघटन सडकबाट बदर गरायौं। दोस्रो पटक कोभिड महामारीका कारण सडकमा उपस्थित हुने अवस्था थिएन। त्यसैले अदालतको पनि सहयोग लिएर बदर गराउन सफल भयौं’, दाहालले भने, ‘अहिले पनि परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको छ।’

संसद्भित्र प्रमुख प्रतिपक्ष दल एमालेले गरेको सदन अवरोधलाई जात्राको संज्ञा दिँदै दाहालले भने, ‘संसद् अवरोधको कारण नै छैन। सदनमा माधव नेपाल देखिन भएन भन्ने मात्रै छ जबकि सर्वाेच्च अदालतले ह्विप नलाग्ने फैसला गरिसकेको छ भने निर्वाचन आयोगले पनि दल दर्तालाई मान्यता दिइसकेको छ।’ एमालेले पार्टी ह्विप उल्लंघन गरेका कारण कारबाही गरिएका नेपाललगायतका सांसदको संसद्मा उपस्थिति रहेको कारण देखाउँदै संसद् अवरुद्ध गर्दै आएको छ।

एमसिसीमा जबर्जस्ती हुँदैन

माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) मा जबर्जस्ती गर्न नहुने सुझाव दिएको बताएका छन्। ‘मैले नै प्रधानमन्त्रीलाई एमसिसीमा जबर्जस्ती गरेर हुँदैन भनेको छु। सबै दस्तावेज फेरि एकपटक हेरौं। कहाँकहाँ सुधार गर्न आवश्यक छ, त्यसको विषयमा समीक्षा गरौं भनेको छु’, दाहालले भने, ‘त्यसैअनुसार अध्ययन गर्न कार्यदल पनि गठन गरेका छौं।’

गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की रहेको अध्ययन कार्यदल गठन गरेको छ। दाहालले कार्यदलबाट सकारात्मक कुरा आओस् भन्ने रहेको पनि बताए। ‘एमसिसीका लागि अझै केही समय लाग्न सक्छ’, दाहालले भने, ‘तर एमसिसीकै कारण गठबन्धनचाहिं टुट्दैन।’

एमसिसीकै नाममा गठबन्धन तोड्ने प्रयास भइरहेको पनि दाहालले बताए। ‘गठबन्धन तोड्ने हो भने एमसिसी पारित गरिदिने भन्ने कुरा खुलै रुपमा आएको छ। अझ कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने भन्ने कुरा पनि आएको छ’, प्रमुुख प्रतिपक्षी दल एमालेप्रति इंगित गर्दै दाहालले भने, ‘हामीले कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा ‘वामपन्थी भएर कांग्रेसकोमा जाने’ भन्नेहरू नै अहिले गठबन्धन तोड्ने भए कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने कुरा गरिरहेका छन्।’

दाहालले आफूले यो विषयमा प्रधानमन्त्री देउवासँग धेरैपटक कुराकानी गरेकाले पनि गठबन्धन नतोडिने बताए। ‘मैले शेरबहादुरजीसँग धेरैपटक कुराकानी गरेको छु। उहाँ हतार गरेर अन्यत्र जानुहुन्छ भन्ने लाग्दैन’, दाहालले भने, ‘कांग्रेसले यसमा दायाँबायाँ गर्छ जस्तो लाग्दैन।’

‘मित्र देशबाट आएको सहयोग नलिने भन्ने नभएको’ बताउँदै दाहालले थपे, ‘तर एमसिसीमा केपी ओली प्रधानमन्त्री हुँदा र युवराज खतिवडा अर्थमन्त्री हुँदा भएको सहमतिमा पहिलेको सहमतिभन्दा नयाँ कुरा आएकाले आशंका भएको हो।’ यो विषयमा सबै पार्टी, गठबन्धनका दल, नागरिक समाज एवं बुद्धिजीवीसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने प्रस्ताव आफूले प्रधानमन्त्रीसँग राखेको पनि उनले बताए।

प्रधानमन्त्रीसँग प्रस्तावः ‘बालकोट जाऔं’

माओवादी अध्यक्ष दाहालले आफ्नै प्रस्तावअनुसार प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए पनि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा नआएको बताए।

‘प्रधानमन्त्रीले बैठक त बोलाउनुभयो तर विपक्षी दलका नेता नै आउनुभएन’, दाहालले भने, ‘यो अवस्थामा मैले प्रधानमन्त्रीलाई तपाईं र म नै बालकोट जाऔं भनेको छु।’

प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनपछि जाउँला भनेको बताउँदै दाहालले थपे, ‘अहिले उहाँहरूको महाधिवेशन पनि सकियो, फेरि हाम्रो सम्मेलन सुरु हुने भएको छ। त्यसपछि हामी एउटा निष्कर्षमा पुग्छौं।’

बाबुरामको प्रस्ताव बुझ्न सकिएन

दाहालले एमसिसीको विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको कुरा सुन्दा आफूहरू आश्चर्यचकित भएको बताए। सर्वदलीय बैठकमा भट्टराईले एमसिसी आफ्नै पालामा अघि बढेको र पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरू हेरेको हेर्‍यै भएको बताए।

‘उहाँ (भट्टराई) ले सर्वदलीय बैठकमा एमसिसी मेरै पालामा अघि बढेको हो र पास गर्नैपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौं’, दाहालले भने, ‘बाबुरामजीले किन एमसिसीको स्वामित्व लिन खोज्नुभएको हो, बुझ्न सकिएको छैन।’

भट्टराईले सर्वदलीय बैठकमा संसद्को बहुमतले पारित गर्नुपर्ने अडान लिएको पनि उनले बताए। ‘प्रतिपक्षीले संसद् घेराउ गरिरहेका बेला कसको बहुमतबाट पारित गरौं भन्नुभएको हो, त्यो बुझ्न सकिएको छैन’, दाहालले भने।

वामपन्थीहरू एकै ठाउँमा

अध्यक्ष दाहालले वामपन्थी दलहरू गठबन्धनमा एकै ठाउँमा भएको जिकिर गरेका छन्। ‘चुनावी मोर्चा र एउटै पार्टी बनाउने विषयमा पनि छलफल गरेका छौं’, दाहालले भने, ‘माधव (नेपाल) जीसँग त्यस्तो केही दूरी छैन। ढिलो छिटो एकै ठाउँ हुन्छौं।’

सर्वसम्मति नभए चुनाव

पार्टीको नेतृत्व चयनका लागि निर्वाचन नगर्ने भन्ने सोच आफूहरूको नरहेको उनले प्रस्ट्याए। ‘सर्वसम्मति नभएको अवस्थामा निर्वाचन हुन्छ नै’, उनले भने, ‘अहिले पनि तल्ला कमिटीहरूमा त्यही भइरहेको छ।’ तर बुर्जुवाझैं जसरी भए पनि निर्वाचन नै गर्नुपर्ने पक्षमा भने आफूहरू नरहेको उनले बताए।

‘प्रचण्डपथमा फर्किंदैनौं’

दाहालले विगतमा अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने क्रममा प्रचण्डपथलाई बिनाछलफल स्थगन गरे पनि अब फेरि त्यसैमा नफर्किने बताएका छन्।

विगतमा प्रचण्डपथ छाडेर गल्ती भएको भन्दै पार्टीका अन्य नेताहरूले एकपछि अर्काे अभिव्यक्ति दिइरहेका बेला दाहालले भने त्यसमा फर्किने अवस्था नरहेको बताएका हुन्। युद्धकालीन अवस्थामा प्रचण्डपथ पारित गरिएको उल्लेख गर्दै दाहालले शान्ति प्रक्रियामा आइसकेपछि परिस्थितिअनुसार पार्टीलाई ढाल्ने र बृहत्तर कम्युनिस्ट एकताका लागि उति बेला प्रचण्डपथ स्थगन गरिएको बताए। ‘प्रचण्डपथ छाडेको होइन, स्थगन गरिएको हो। तर कुनै छलफल र समीक्षा नै नगरी प्रचण्डपथ स्थगन गर्नु गलत भएको महसुस अहिले भइरहेको छ’, दाहालले भने, ‘तैपनि अहिले परिस्थितिमा बदलाव भएकाले फेरि त्यसैमा फर्किंदैनौं। बरु त्यसमाथि वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजानका लागि बहस गर्छाैं।’

त्यस्तै दाहालले निर्वाचन प्रणालीको विषयमा आफूहरूले अहिले नयाँ कुरा नगरेको दाबी गरे। ‘संविधान बन्दा पनि हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीकै कुरा गरेका थियौं तर सहमतिका लागि त्यतिखेर छाडेका हौं’, दाहालले भने, ‘हामीले अहिले त्यही कुरा गरेका हौं।’ त्यसो त दाहालले विगतमा एमालेसँग एकता हुँदा माओवाद नछाडेको बरु पछि महाधिवेशनले टुंगो लगाउने सहमति गरेको बताए। ‘पछि अदालतको फैसलाले पार्टी छुट्याइदिएपछि त्यो त रहने नै भयो’, दाहालले भने।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

नेकपा माओवादी केन्द्रले आइतबार सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ। शनिबार साँझ बसेको पार्टी स्थायी कमिटीको बैठकले महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको र राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेको भन्दै महाधिवेशनमा परिणत गर्ने निर्णय लिएको हो। आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको यो निर्णयलाई अनुमोदन गर्नेछ।

शनिबार दिउँसो पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनको प्रक्रिया महाधिवेशनको प्रक्रियाजस्तै भएको बताएका थिए। ‘राष्ट्रिय सम्मेलनका लागि जेजसरी तलैदेखि प्रतिनिधि छनोट गर्नेदेखि विधान परिमार्जन, नेतृत्व, नयाँ केन्द्रीय समिति चयन गर्ने भनेर लागेका छौं, त्यो सबै महाधिवेशनको प्रक्रियाभन्दा कम छैन’, दाहालले भने, ‘अहिले हामीलाई लागेको छ, सम्मेलनबाटै महाधिवेशन हो भनेर घोषणा गरे पनि हुन्छ।’

दाहालले राष्ट्रिय सम्मेलनमा विश्वको अवस्था, राजनीतिक प्रवृत्ति, वित्तीय पुँजीवाद र यसको असरका साथै ग्लोबलाइजेसन र डिजिटलाइजेसनले मानवजातिमा परेको प्रभाव, राष्ट्र–राष्ट्रबीच परेको प्रभाव, भूराजनीतिक परिस्थितिलगायतका विषयमा छलफल हुने बताए। ‘राष्ट्रलाई कसरी समाजवादमा लैजान सकिन्छ भन्ने विषयमा पनि हामी छलफल गर्छाैं’, दाहालले भने, ‘हाम्रो सम्मेलन उद्घाटन गर्ने, भाषण गर्ने र नेतृत्व चयन गर्ने मात्र हुँदैन, हामी अहिले देखिएका मुद्दाहरूमा गहन छलफल गर्छाैं। हाम्रो सम्मेलन अन्य पार्टीको भन्दा फरक हुन्छ।’

जलवायु परिवर्तन, पर्यावरणीय विनाश, हिमाल पग्लिन थालेका जस्ता अजेन्डा पेचिला रहेको बताउँदै दाहालले यसमा अन्तर्राष्ट्रिय रुपमा पुँजीवाद कत्तिको जिम्मेवार छ भन्ने विषयमा पनि छलफल गरिने प्रस्ट पारे। खासगरी पुँजीवादले विकास गरेको प्रणाली केकति जिम्मेवार छ र समाजवादको सम्भावना कत्तिको छ भनेर छलफल गरिने दाहालको भनाइ थियो। यसका साथै पार्टीमा पछिल्लो समय केही हदसम्म विसंगति र प्रदूषण देखिएको भन्दै दाहालले पार्टी रुपान्तरण राष्ट्रिय सम्मेलनको एउटा प्रमुख अजेन्डा रहेको बताए।

प्रकाशित: ११ पुस २०७८ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App