१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा एकता महाधिवेशनः एक्लिए अध्यक्ष कमल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म हुने महाधिवेशनमा करिब ४५ सय प्रतिनिधिले नयाँ नेतृत्वको छनोट गर्ने छन्। पूर्वपञ्चहरुको दलका रुपमा परिचित राप्रपाको अध्यक्ष पदका लागि अहिलेसम्म दुई जनाले उम्मेदवारीको घोषणा गरेका छन्। अध्यक्षत्रय मध्येका एक कमल थापा र पार्टीका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन।

पटक–पटक फुट्दै र पुनः जुट्दै आइरहेको यो दल पछिल्लो समय २०७६ फागुन २८ गते कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच एकीकरण भएको थियो। एकीकरणपछिको पहिलो महाधिवेशन भएकाले पनि यो सम्मेलनलाई एकताको महाधिवेशनका रुपमा लिइएको छ।

लामो समय कमल थापा समूहमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीमा दोस्रो पुस्ताका नेता राजेन्द्र लिङ्देन अहिले उनै थापासँग प्रतिस्पर्धामा उत्रिका छन्। उनलाई पार्टीका अधिकाङ्श नेता कार्यकर्ताको साथ रहेको बाह्य रुपमा देख्न सकिन्छ। लामो समय कमल थापा समूहमा रहेका उनले अहिले असन्तुष्ट नेताहरुको साथ पाएका छन्। युवा एवं पार्टीका अग्रज नेताको समेत लिङ्देनलाई साथ रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख समेत रहेका पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणाले लिङ्देनलाई समर्थन मात्रै गरेका छैनन् उनकै समूहबाट महामन्त्रीमा उम्मेदवारीको घोषणा समेत गरिसकेका छन्।

तर दुबै पक्षले आफ्नो प्यानल भने बनाइसकेका छैनन्।

पञ्चायतकालदेखि नै मन्त्री भएका थापा बहुदलिय प्रजातन्त्र हुँदै गणतन्त्रमा पुगिसक्दा समेत पटक पटक मन्त्रीमात्रै होइन महत्वपूर्ण मन्त्रालयसँगै उपप्रधानमन्त्रीको कार्यभार समेत सम्हालिसकेका छन्। यसका साथै २०६० सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेदेखिनै थापा अध्यक्ष रहेका छन्। थापाका सामु राजेन्द्र लिङ्देन निकै कान्छा नेता हुन्।

तर अहिले उनै लिङ्देन थापाका लागि निकै भारी परेका छन्। महाधिवेशनको पूर्व सन्ध्यामा मात्रै अध्यक्षत्रय मध्येका एक डा. प्रकाश चन्द्र लोहनीले समर्थन मात्रै गरेनन् महाधिवेशन प्रतिनिधिलाई लिङ्देनको पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन्। अर्का अध्यक्ष पशुपतिशमशेर राणा भने अहिलेसम्म कतै खुलेका छैनन्। लोहनीले अर्का दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र थापालाई समेत अभिभावकीय भूमिका निर्वाह गरि नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध समेत गरे।  

‘नयाँ नेतृत्वमा राप्रपाका पूर्व महामन्त्री तथा माननीय श्री राजेन्द्र लिङ्गदेनको पक्षमा म उभिएको छु। राप्रपामा आजको परिस्थितीमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाई र विश्वास हो,’ एक वक्तव्यमा उनले भने,‘म अन्य दुई मेरा मित्र अध्यक्षहरुलाई पनि पार्टिको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु।’

पछिल्लो प्रतिनिधिसभाको चुनावमा लिङ्देनले झापा क्षेत्र नम्बर ३ प्रत्यक्ष निर्वाचित भएका थिए। उनी संघीय संसदमा राप्रपाको एक्लो प्रतिनिधि हुन्। अध्यक्ष थापा भने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ मा पराजित भएका थिए।

चुनावी समिकरणलाई हेर्दा कमल थापा पार्टीमा एक्लिँदै गएका छन्। अधिकांश युवा नेता र पार्टीका अन्य अध्यक्षले समेत साथ छोडेको अवस्थामा उनी एक्लिएका हुन्। उनी प्रतिस्पर्धाको माध्यमबाट पुनः अध्यक्ष हुने दाउमा छन्।

सोमबार उम्मेदवारी घोषणा गर्दै उनले युवा नेतालाई एक कार्यकालका लागि आफूले अध्यक्ष हुनै पर्ने बताएका छन्। राप्रपा अध्यक्ष थापाले यसपटक अधुरा काम पूरा गर्न अन्तिम पटक अध्यक्ष उठेको बताएका छन्। लिङ्देनले भने पुरानो नेतृत्वबाट राप्रपाका एजेन्डा स्थापित हुन नसकेको भन्दै युवापंक्तिलाई नेतृत्व सुम्पिनुपर्ने धारणासहित उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए। उनले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताए।

‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन’, अध्यक्ष थापाले भने। उनले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर समेत गरे।

राप्रपालाई अग्रणी शक्तिको रुपमा स्थापित गर्ने, वैचारिक धार बनाउन बाँकी रहेकोले अध्यक्ष बन्न लागेको उनले बताए। ‘यो अभियारा पूरा गर्ने मेरो प्रयास हुनेछ। आर्यघाटमा नपुगेसम्म पद नछोड्ने मेरो मानसिकता छैन। निजी काम र घुम्न बाँकी छ। शारीरिक रुपमा सक्षम हुँदा नै निजी काम गर्नु छ,’ उनले भने, ‘मैले विश्राम लिनु भन्ने मलाई थाहा छ। आगामी निर्वाचनपछि अग्रणी संस्थाको रुपमा स्थापित गरेपछि वैचारिक धार बलियो भएपछि, हिन्दु राष्ट्रको आधार तयार भएपछि विश्राम लिन्छु।’ राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाले नेतृत्व लिन खोज्नु स्वागतयोग्य भएको उनले बताए।

राजसंस्था र हिन्दु राज्यको वकालत गरे पनि पार्टी राजावादीको विश्वासिलो बन्न नसकेको र हिन्दु जनमतको विश्वास पनि लिन नसकेको भनि थापामाथि आरोप समेत लाग्दै आएको छ। हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दालाई थापाले राजनीतिक दाउपेचको विषय मात्रै बनाई सत्तामा पुग्ने भ¥याड बनाएको उनका निकटस्थको भनाइ छ। जसका कारण पनि अध्यक्ष थापा आफ्ना समर्थकहरुबाट टाढिँदै गएको नेता कार्यकर्ताहरु बताउँछन्।

पार्टीका शीर्ष नेता लिङ्देनको पक्षमा देखिए पनि प्रदेश अधिवेशनको नतिजा भने मिश्रित देखिन्छ। प्रदेश १ मा कमल थापा पक्षका राम थापा विजयी हुँदा लिङ्देन पक्षका भक्ति सिटौला भने साघुरो मतान्तरले पराजित भए। उनी थापा भन्दा ३७ मतान्तरले पराजित भए। तर प्रदेश २ मा लिङ्देन पक्षका मानिएका भरत गिरी सर्वसम्मत भए। वागमती प्रदेशमा भने कमल थापा पक्षका विक्रमबहादुर थापा सर्वसम्मत चुनिए। गण्डकीमा लिङ्देन पक्षका हेमजंग गुरुङले कमल थापा पक्षका मदनबहादुर कार्कीलाई निर्वाचनका माध्यमबाट पराजित गरे। उनले ७४ मतान्तरले कार्कीलाई पराजित गरेका थिए।

लुम्बिनीमा दिपक बोहरानिकट प्रदिप उदय विजयी भए भने कर्णालीमा पशुपतिशम्शेर जबरानिकटका दीपबहादुर शाही सर्वसम्मत भए। उता सुदूरपश्चिममा भने लिङ्देन पक्षका धर्मराज जोशी सर्वसम्मत चुनिए।

लिङ्देनलाई पूर्वउपाध्यक्ष ढंक ढकाल, दिलविकास राजभण्डारी, तारानाथ लुइँटेल, पूर्वमहामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, पूर्वमन्त्री रामकुमार सुब्बा, जगत गौचन, दुर्गा श्रेष्ठ, रामचन्द्र राय, काठमाडौं पूर्वमेयर राजाराम श्रेष्ठलगायतको समर्थन रहेको बताइएको छ।

पूर्वमन्त्री दीपक बोहरा, बुद्धिमान तामाङ, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, फत्तेसिंह थारू, प्रेमबहादुर भण्डारीसहितका नेताहरू थापाको समूहमा रहेको बताइएको छ।

महाधिवेशनबाट एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्य, सहायक कोषाध्यक्ष, प्रवक्ता र सह–प्रवक्ता चुनिनेछन्। १९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना अध्यक्ष थप्न पाउने छन् भने बाँकी १४९ जनाको केन्द्रीय समिति बन्नेछ।

निर्वाचनबाटै पदाधिकारी चयन हुने नयाँ व्यवस्था प्रस्ताव गरेको राप्रपामा पहिलो पटक अध्यक्षले केन्द्रीय समितिमा २५ प्रतिशत मात्रै मनोनयन गर्न पाउने भएका छन्। त्यसमा पनि अल्पसंख्यक र अपांगता भएकालाई प्राथमिकता दिनुपर्ने नयाँ व्यवस्था उल्लेख छ।

महाधिवेशनबाट राप्रपामा करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्य, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्ने छन्।

प्रकाशित: १४ मंसिर २०७८ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App