२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘गलत गर्दा बाबुलाई जेल हालेको छु’

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बीचमा)। तस्बिरः नागरिक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गलत कामको सधैं भण्डाफोर गर्ने बताएका छन्। प्रगतिशील पत्रकार संघले शुक्रबार बागलुङमा आयोजना गरेको भेटघाटमा केसीले हिजोका दिनमा केपी ओलीलाई साथ दिएको तर उनले गलत काम गर्न थालेपछि साथ छाडेर अर्को सरकार गठनमा सहयोग गरेको बताए।

 ‘गलत गर्नेलाई हामी साथ दिन सक्दैनौं,’ आफ्नै दृष्टान्त दिँदै उनले भने, ‘मैले आफ्नै बुवालाई त गलत गर्दा जेल हालेको छु। म नहुँदा मेरो घरजग्गा बेचिदिएपछि २० घन्टा जेल हालेको थिएँ। त्यो कागजपत्र च्यातेपछि बुबालाई ढोग गरेर हिँडे।’

एमाले अध्यक्षसमेत रहेका तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी रोक्न अहिलेको गठबन्धन सरकार बनेको उनले बताए। ‘एमाले र माओवादी केन्द्र मिलेपछि झन्डै दुई तिहाइ बहुमत थियो, जनताको ठूलो आशा पनि थियो,’ उनले भने, ‘हामीले पनि सरकारलाई सहयोग गरेका थियौं। तर, आफ्नै पार्टीभित्रको झगडाले गर्दा ओलीले दुईदुईपटक संसद् विघटन गरे। ओलीको प्रतिगामी कदमको विरोधमा गठबन्धन बन्यो र पाँच वर्ष सत्ता जाने कल्पनै नगरेको कांग्रेसले सरकारको नेतृत्व गर्‍यो।’

ओलीको गलत कदमविरुद्ध लड्न कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनमा सामेल भए पनि वर्तमान गठबन्धन सरकारले गर्ने गलत काममा समेत आँखा चिम्लेर नबस्ने अध्यक्ष केसीको भनाइ थियो।

 ‘हामीले विशेष परिस्थितिमा कांग्रेससँग विगतमा पनि सहकार्य गरेका थियौं, पञ्चायत विरोधी आन्दोलनमा पनि कांग्रेस वाममोर्चा सहकार्य भएको हो, यसपटक संसद् र संविधान जोगाउने कुरामा कांग्रेससँग सहकार्य भएको हो,’ केसीले भने, ‘अहिले यही विषयलाई लिएर वर्गशत्रु कांग्रेसलाई सरकार सुम्पिने भनेर गलत अफवाह फैलाउने काम भएको छ।’ उनले संविधानमा व्यवस्था गरिएको संघियता र विदेशी नागरिकलाई सहज हुनगरी नागरिकता दिने प्रावधानसँग आफूहरूको विमति रहेको उल्लेख गरे।

‘संविधान र यो व्यवस्थासँग हाम्रो विमति छ, यो दलहरूकै कारण भएको हो तर अहिलेको अवस्थामा यो व्यवस्था जोगाउनुपर्ने बाध्यता छ,’ केसीले भने। राजनीतिक दलहरूको चरित्र नबदलिएको कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ थियो। संघीयता अहिले धान्न गाह्रो भएपछि सबैले गलत भएको महसुस गरेको उनले बताए। ‘पहिले यो हुन्न भनेर हामीले भन्दा मानेनन्, अहिले भेट्दा दाइले भन्नु त हुन्थ्यो नि भन्छन्, संघीयता हाम्रा लागि अभिशाप भएको छ,’ उनले भने।

नेता केसीले एमसिसी नेपालको हितमा नभएकाले त्यसलाई पारित गर्न नहुने जिकिर गरे। ‘एमसीसी हाम्रो हितमा छँदै छैन, यो हिजो ओलीले पनि पास गर्न खोजेका हुन्,’ केसीले भने, ‘यो विषयमा अहिले जनमत विभाजित छ, यो गलत भएकाले यसविरुद्ध जनमत सिर्जना गरेर यसलाई रोक्नुपर्छ।’ केसीले पार्टी निर्णय नमान्ने जोसुकै कारबाहीको भागीदार हुने बताए। उनले भने, ‘म आफैंले कारबाही भोगेको छु, महामन्त्रीलाई हामीले कारबाही गरेका छौं, पार्टी अनुशासनबाहिर जाने छुट कसैलाई छैन।’ उनले कानुनी रूपमा अपराध ठहरिने कालोधनको प्रयोग मान्य नभएको समेत बताए। अबको निर्वाचनमा गठबन्धनका दलहरूसँगै मिलेर जान्छन् जाँदैनन् भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने उनको विश्लेषण छ।  

प्रकाशित: १६ आश्विन २०७८ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App