५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री र संयुक्त राष्ट्रसंघकी संयोजकबीच वार्ता: खोप उपलब्ध गराउन पोखरेलको गुहार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई गुहारेका छन्।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘यसका साथै भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ।’

उपप्रधानमन्त्री पोखरेलले नेपालीहरुलाई खोप सुविधा उपलब्ध गराउन सरकारले कुटनीतिक पहल गरिरहेको जानकारी कोरोनाविरुद्वको खोप विश्वकै नागरिकहरुको सार्वजनिक चासोको वस्तु भएकाले खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर नगर्ने बताए।

जवाफमा संयुक्त राष्ट्रसंघकी नेपालस्थित संयोजक साराले आफ्नो तर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कोभ्याक्स अन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिसिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म ३ लाख ४८ हजार डोजमात्र प्राप्त गरेको छ। नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ।  

यसैगरी, भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत् नेपाली सेनालाई १ लाख डोज र चीनबाट ८ लाख डोज खोप नेपालले प्राप्त गरेको छ।

प्रकाशित: २४ वैशाख २०७८ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App