३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी

नेकपा विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी भएका छन्। विप्लव समूह भूमिगत अवस्थामा हुँदा मुलुकमा फेरि युद्ध चल्ने चिन्ताले आजित जुम्लावासी शान्ति प्रक्रियामा आएसंगै ढुक्क भएका हुन्।

विप्लव समूहले यहाँका दुर्गम क्षेत्रमा संगठन विस्तार गर्नेदेखि युद्धमा साथ दिन जनतालाई अपिल गरिरहेको थियो। गाउँका शिक्षक, कर्मचारी, जनप्रतिनिधिसंग चन्दा असुलिरहेको थियो। जुम्लाको तिला गाउँपालिका ६ मा विप्लव समूहका कार्यकता गएर चन्दा माग्न थालेपछि गाउँलेले बाँधेर प्रहरीको जिम्मा लगाएका थिए।  

त्यहाँ देखि नै गाउँमा पटक पटक धम्की आउने देखि त्रास फैलाउने कार्यसम्म भइरहेको थियो, एक स्थानीय शंकरप्रसाद अधिकारीले भने,“शान्ति प्रक्रियामा आएपछि ढुक्क भयौँ। अब युद्ध देख्न पर्दैन होला। चन्दा बुझाउनु पर्दैन होला। शान्तिको सास फेरेर काम गर्न पाइन्छ होला। यसैमा ढुक्क भयौँ।”

यहाँका कर्णाली करिडोर क्षेत्रमा रहेका विद्यालयमा समेत विप्लव समुहले व्यापक संगठन विस्तार गरिरहेको थियो। तत्कालिन माओवादीका सुरक्षित मानिएका गाउँबस्तीमा विप्लव समूहको उपस्थिती बढिसकेको थियो। फेरि युद्धको शुरुवात हुन सक्ने भन्दै स्थानीय त्रासिद थिए।  

जुम्लाको सिँजा क्षेत्रमा विप्लव समूहको पहुँच राम्रै थियो। अव मुलुकलाई युद्ध चाहिएको छैन। शान्ति समृद्धि र विकास चाहिएको छ। अर्का स्थानीय परिमल रोकायाले भने,“शान्ति प्रक्रियाका माध्यमबाट अघि बढ्ने सोच निकै सान्दर्भिक र उपलब्धिपूर्ण छ।”

गाउँमा जनयुद्धमा खनिएकार बंकर पुरिएका छैनन्। अधिकांस ठाउँमा सेन्ट्रिपोष्ट जीवितै छन्। त्रासपूर्ण अवस्थाको पूर्ण रुपमा अन्त्य हुन सकिरहेको छैन। नेकपा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउँदा जुम्लावासी निकै चिन्तित थिए। जनयुद्ध कालमा जुम्लाका हरेक वस्तीका युवाले बलिदान गरेका छन्। घाइते धेरै छन्। बेपत्ताको खोजी हुन सकिरहेको छैन।  

विप्लव समूह वार्ताका माध्यमबाट शान्ति प्रक्रियामा आउँदा सिंगो कर्णालीवासी खुसी नै छ। जनयुद्धमा सबैभन्दा प्रभावित कर्णाली क्षेत्र बन्यो। तत्कालिन सरकारी संरचना भत्किए। गाउँमा कर्मचारी पुगेर काम गर्न सकिने अवस्था रहेन। गाउँमा आउने बजेट सदरमुकाममै बसेर खर्च गर्न थालियो। फलस्वरुप पहिलेका दुर्गम र विकट मानिएका बस्ती माथि उस्कन सकेनन्। अहिले पनि भौगोलिक विकटता भन्दै पछि परेका छन्।  

हरेक असार मसान्तमा विप्लव समूहको चन्दा रसिद स्थानीय तहमा आइपुग्थ्यो। विकास निर्माणका कार्यमा अवरोध हुन्थ्यो। नेपाल बन्द, चक्काजाम भइरहन्थे। विप्लव समूहका कालिकोटका खड्कबहादुर विश्वकर्मा प्रवक्ता नै भएकोले कर्णालीमा विप्लव समूहको राम्रै पकेट थियो। कर्णाली फेरि पनि युद्धको भुमरीमा पर्न चाहदैनथ्यो। देशमा मुठभेडको अवस्था देख्न चाहन्थेन। विप्लव समूह शान्ति प्रक्रियामा आएपछि कर्णालीवासीको शान्ति प्रतिको सोच पूरा भएको छ।  

जुम्लामा विप्लव समूहको नाममा धेरै प्रकारका हिंसात्मक गतिविधि हुन सक्ने खतरा थियो। नेपाल प्रहरीले विप्लव समूहको पकेट क्षेत्रमा निगरानी बढाइरहेको थियो। छापा मार्ने र पक्रने काम भइरहेको थियो। यो कार्यले गाउँबस्तीमा निकै त्रास बढिरहेको थियो।

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App