१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल–दाहालले सिनेमा देखाइरहेका छन् : ओली

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहालबीचको सम्बन्ध सिनेमा जस्तो भएको बताएका छन्।  

ओलीले आफू निकट नेपाल प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाल–दाहाल समूहले जनतालाई सिनेमा देखाइरहेको बताए। ‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ र ? हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्‍या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन,’ उनले भने।

ओलीले संसद्लाई फेरि पनि सांसद किनबेचको थलो बनाउन खोजिएकाले आफूले प्रतिनिधिसभा विघटन गरेको बताए। उनले आफूले वामपन्थीसँग एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रयास गरेको भए पनि सफल हुन नदिइएको बताए। ‘मैले लेफ्ट पार्टी जोडेर भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयास गरेको हो, स्वाभिमान माथि उठाओस् र देशको विकासमा योगदान गरोस् भन्ने चाहेको हो। त्यस्तो पार्टीको परिकल्पना गरेको थिएँ तर पार्टी देखिहाल्नु भयो। एक दिन एउटा राम्रो कामको प्रशंसा गर्न नसक्ने हुतिहारा, देशका निम्ति मर्ने होइन, आफन्तका निम्ति मर्ने,’ ओलीले भने। उनले नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालप्रति अक्रोस पोख्दै देशभरका सबै केटाकेटी आफ्नै लाग्ने बताए। 

दाहालप्रति लक्षित गर्दै ओलीले आफ्ना कोही छोरीलाई मेयर बनाउनुपर्ने र घर किन्नुपर्ने आवश्यकता नभएको बताए। ‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त ज्वाइहरू छैनन्, छोरी मेयर बनाउनै पर्‍यो, नजिते मतपत्र च्यात्नै पर्‍यो, ज्वाइलाई घर किन्दिनै पर्‍यो, मलाई सन्चै छ, यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरूका छोराछोरी छन् कि छैनन् ? लड्ने बेलामा अरूका छोराछोरी चाहियो, आफ्ना छोराछोरीलाई विदेशमा पढाउने अरूका छोराछोरीको पनि ज्यान हो, त्यो काठको बनाएको हो ? अरूका छोराछोरी बेच्न राखेका पुतली हुन्’, दाहालप्रति लक्षित गर्दै ओलीले भने।  

पत्रकारलाई पाठ

प्रधानमन्त्री ओलीले पत्रकारले प्रयोग गर्ने भाषा र पत्रकारितामा प्रयोग भैरहेको भाषातर्फ पनि आक्रोश पोखे। उनले कसैलाई आदरार्थी शब्द खर्चिन नसक्ने पत्रकारितामा कस्तो भाषा प्रयोग हुँदैछ भन्ने प्रश्न गरे। उनले विदेशी र अंग्रेजीको प्रभाव भित्र्याएर नेपाली भाषाको अवमूल्यन गर्ने काम भइरहेका प्रति पनि असन्तुष्टि पोखे। उनले पित पत्रकारिता मुलुकको सबैभन्दा बढी चुनौती र समस्या भएको दाबीसमेत गरे। समाचार लेख्दा ‘तिमी’ शब्द प्रयोग गरेर नेपाली भाषाको अवमूल्यन गरेको आरोप उनले लगाए। ‘सबैलाई तिमी भन्नुहुन्छ, लेख्नुहुन्छ, अंग्रेजले यु सिकायो, हामीले हाम्रो भाषा, हाम्रो संस्कृति छाडिदिएर ’यु’ वालामा गयौं’, उनले भने, ‘अहिले हामी आदारका साथ अभिभावकसँग व्यवहार गर्दैनौं। पहिले तिमी भन्न सिकायो। तिमी भनेपछि अरू सिकायो।’

उनले मिडियाले राम्रो लेख्न र कुरा सुन्नै छाडेको समेत बताए। उनले त्यस्ता मिडियाहरू नर्कमा जानेसमेत बताए। ‘राष्ट्रको हितको पक्षमा छँदैछैन। स्वार्थबाट अन्धो हुन्छ। जब मान्छे आत्मा बेच्छ, त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन,’ ओलीले भने।

प्रकाशित: ९ माघ २०७७ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App