१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा संकटमा राष्ट्रपति र चिनियाँ राजदूत सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संकट देखिएसँगै शीतल निवास र चिनियाँ राजदूतावास सक्रिय भएको छ। नेकपामा अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकातर्फ छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह अर्कातर्फ।

यसअघिका विवाद अन्तिम समयमा लेनदेन गरेर मिलाइएका भए पनि योपटक दाहाल-नेपाल समूह निर्णायक मोडमा पुग्ने भन्दै लागेका छन्। अघिल्ला विवाद दस्तावेजीकरण भएका थिएनन्। तर यसपटक भने दुई अध्यक्षले पत्र-व्यवहार गर्दै त्यसलाई इतिहासमा सुरक्षित गरेका छन्। दुई अध्यक्षले एकअर्कालाई संगीन आरोप लगाउँदै पत्र पठाएका छन्, जुन पार्टीका नेताहरुलाई अध्ययनका लागि दिइएको छ।

नेकपाभित्र संकट गहिरिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय देखिएकी छन्। प्राय: नेकपा विवादमा सक्रिय हुने शीतल निवास योपटक पनि देखिने गरेर नै विवाद समाधानमा लागेको छ। नेकपा सचिवालय बैठकअघि दुई अध्यक्षले छुट्टाछुट्टै राष्ट्रपतिलाई भेटेका छन्। मंगलबार कार्यकारी अध्यक्ष दाहाल शीतल निवास पुगेका थिए भने ओली पनि आज मात्र शीतल निवास पुगेका छन्। तर नेकपा विवाद मिलाउन राष्ट्रपति भण्डारीले भूमिका खेलेको यो पहिलोपटक भने होइन।  

पार्टीमा विवाद देखिएको बेला शीतल निवासको सहयोग लिएर हावी हुन खोज्नु गलत भएको सचिवालयका एक नेताले बताए। 'विवादको समाधान छलफलबाट गर्ने हो। विवादले पार्टी कमजोर हुँदैन,' ति नेताले भने, 'विवादको समय तेस्रो पक्षको साथ लिएर गरिने व्यवहारले समाधान होइन झन् सँधै अल्झन ल्याउँछ।'

मंगलबार पार्टी महासचिव विष्णु पौडेल दाहाल निवास खुमलटार पुगेका थिए। ओली सचिवालय बैठक बोलाउन इच्छुक नदेखिइराखेको अवस्थामा बैठक स्थगित गर्नसमेत दाहालसँगको भेटमा पौडेलले सुझाएको स्रोत दावी गर्छ। पौडेलले दाहाललाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका थिए। जुन इच्छा ओलीको थियो।  

झण्डै सात महिनाअघिको नेकपा विवादमा आफ्नो भूमिका देखिएकी चिनियाँ राजदूत अहिलेको संकटमा पनि सक्रिय देखिएकी छन्। पार्टी विभाजनमा नै जान सक्ने खतरा देखिएपछि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेकी छन्। 

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढ घण्टा भेटघाट चलेको थियो। वैशाखमा नेकपामा देखिएको विवाद समाधान गर्न ओली, उनले दाहाल, नेपाललगायत नेतालाई छुट्टाछुटै भेटेकी थिइन्।

प्रकाशित: ३ मंसिर २०७७ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App