१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली–दाहाल सहमतिप्रति आशंका

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति शंका व्यक्त गरेका छन्। कार्यदल बनाएपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा बोलाएका बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच सबै कुरा मिलाएर देखाउन हो कि साँच्चीकै विवाद समाधान गर्न कार्यदल बनाएको हो भनेर शंका व्यक्त गरेका थिए।

उनीहरूरुले कार्यदल गठनप्रति असहमति व्यक्त नगरेको तर त्यसको गठन प्रक्रिया र कार्यादेशबारे असहमति व्यक्त गरेको स्रोतले जनाएको छ। ‘दुई अध्यक्ष बसेर कार्यदल बनाउने होइन, पार्टी कमिटीले वैधानिकता दिनुपर्छ भन्ने प्रसंग उठेको हो, यसको कार्यादेश र कार्यक्षेत्र पनि पार्टी कमिटीले तोक्नुपर्छ भनेर कुरा राखेको हो, साथीहरूले पनि त्यही भन्नुभयो,’ वरिष्ठ नेता खनालले भने।

दुई अध्यक्षबीचको छलफल बिफ्रिङ सुन्न शनिबार बिहान खुमलटार दाहालनिवास पुगेका तीन नेताले कार्यदल कुन कमिटीले अनुमोदन गरेको भनेर प्रश्न गरेका थिए। उनीहरूले कार्यदल बनाउँदा पनि सचिवालय बैठकबाट बनाएको भए राम्रो सन्देश जाने र विधिको प्रयोग हुने बताएका थिए। दाहालले त्यसप्रति ख्याल नगरिएको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ।

शुक्रबार अध्यक्षद्वय ओली र दाहालले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाललगायत ६ सदस्यीय कार्यदल गठन गरेपछि कार्यदलको कार्यादेश प्रस्ट नभएको र कार्यदल गठनको आवश्यकताबारे पार्टीका वरिष्ठ नेता खनाल, नेपाल र श्रेष्ठले अध्यक्ष दाहाललाई शनिबार बिहान सोधेका थिए। अनौपचारिक बैठकमा दाहालले शुक्रबार ओलीसँग भएको कुराकानी र कार्यदलबारे नेताहरूलाई जानकारी गराएका थिए।

तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको नेकपाभित्र अब प्याकेजमै सहमति गरेर विवाद टुंग्याउन भन्दै कार्यदल गठन भएको हो ।  

बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बसेर विवाद निरूपण गर्नुपर्ने र कार्यदल बनाउनु परे पनि त्यहीँबाट बनाएको भए राम्रो हुन्थ्यो भनेका थिए। कार्यदलको पहिलो बैठक शनिबार बसेको छ। महासचिव पौडेलको भैंसेपाटीस्थित निवासमा बसेको बैठकमा संयोजकसहित ६ जना सदस्यले आन्तरिक विवाद बढ्नुको कारण, त्यसको समाधान र अन्य विषयबारे छलफल गरेका छन्।

शनिबारको बैठकमा विषयगत छलफल भएको बताइएको छ। छलफलपछि ओली र दाहालबीच सहमत भएका विषयलाई लिखित रूप दिने र सहमति जुट्न नसकेका विषयमा मध्यमार्गी बाटो खोज्नेमा कार्यदलका नेता सहमत भएका छन्। कार्यदललाई पार्टीको विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। कार्यदलले समस्या के–के हुन् र समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर प्रतिवेदन तयार पार्नेछ।

तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको नेकपाभित्र अब प्याकेजमै सहमति गरेर विवाद टुंग्याउन भन्दै कार्यदल गठन भएको हो। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच बिहीबार र शुक्रबार भएको संवादपछि कार्यदल गठन गरिएको र त्यसले दिएको सुझावको आधारमा पार्टीभित्रको विवादलाई प्याकेजमै सुल्झाइने कार्यदलका एक सदस्यले जानकारी दिए। माधव नेपाल समूहले यसअघि पार्टीभित्रको विवाद समाधान गर्न प्याकेजमै सहमति हुनुपर्ने कुरा उठाउँदै आएको थियो।

नेकपाका दोस्रो तहका नेतालाई राखेर बनाइएको कार्यदलले दिएको सुझावका आधारमा निकास निकाल्ने अध्यक्षद्वयको चाहनाबमोजिम नै सो कार्यदल बनाइएको हो। महाधिवेशन, एक व्यक्ति एकपद, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी काम, मुख्यमन्त्रीहरूको जिम्मेवारी हेरफेर, सरकारी नियुक्तिमा देखिएका विकृति, पार्टीभित्रको आन्तरिक विवादका कमजोरी र शीर्ष नेताहरूको प्रवृत्तिगत स्वाभावमा सुधारजस्ता विषयलाई कार्यदलले प्याकेजमा राखेर छलफल थालेको छ।

प्रकाशित: ३२ श्रावण २०७७ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App