१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपति २५ गते आउने

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ।

सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर भारत भ्रमणको मिति तलमाथि भएमात्रै मिति फरक पर्नसक्छ। हामी अहिलेसम्म २५ गतेकै तयारीमा छौ’, स्रोतले भन्यो। दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।

सुरक्षा निकायका प्रमुखहरुसमेत सुरक्षा तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा दिनहु बैठक बस्न थालेको छ। परराष्ट्र र गृहका अधिकारीहरुबीच बुधबार दिनभर नै यो विषयमा गृहमा छलफल भयो। मिति तय भइसकेपछि परराष्ट्र र गृहबीच समन्वय गर्नुपर्ने भएकाले दिनहुँ छलफल हुन थालेको हो। होटल बुक गरिएको छ। तर सी कुन होटलमा बस्ने भन्नेबारे सरकारले खुलाएको छैन। अतिविशिष्ट पाहुना आउँदा जुनसुकै होटलमा बस्न सक्ने भएकाले सबै पाँचतारे होटललाई तयारी अवस्थामा रहन भनिएको छ। सुरक्षा निकायका प्रमुखबाहेक अन्य कसैलाई पनि भ्रमण मितिबारे जानकारी दिइएको छैन। सुरक्षा निकायलाई असोज २४,२५, २६ र २७ गतेलाई आवश्यक तयारी गर्न गृह मन्त्रालयको निर्देशन छ। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई दिनमात्रै हो। २४ गते उनी आउने तालिका छैन। २५ गते आउने र २६ गते फर्कने भए पनि सीको भारत भ्रमणको तालिका अनुसार एक दिन वरपर हुनसक्ने सम्भावना रहेको जानकारी पनि सरकारी तहमा गराइएको छ।

दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।

राष्ट्रपति सी भारतको चेन्‍नईमा हुने वुहान सम्मेलनमा सहभागी हुने कार्यतालिका छ। वुहान सम्मेलन भारतको चेन्‍नईस्थित महाबलीपुरममा अक्टोबर ११। १२ तारिखमा हुने कार्यक्रम छ। वुहान सम्मेलनअघि यहाँ आउन नेपाल सरकारले अनुरोध गरेको भए पनि चिनले राष्ट्रपति सीको वुहान जाने कार्यतालिकामा कुनै परिवर्तन गरेको छैन। ‘भारतको कार्यतालिका परिवर्तन भए मात्रै सी असोज २६ गते नेपाल आउँछन्। कार्यतालिका परिवर्तन नभए असोज २५ मै नेपाल आउने कार्यक्रम छ’, स्रोतले भन्यो।

गृह मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासका कर्मचारी र मन्त्रायलबीच पनि समन्वय भइरहेको छ। ‘दसैंलगत्तै हामी चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्ने कार्यक्रम छ। मितिबारे अझै जानकारी दिइएको छैन’, मन्त्रालयका अधिकारीले भने। सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा पनि चिनियाँ राष्ट्रपति आउँदाका दिन थाहा पाइहालिन्छ भन्दै मिति बताउन पन्छिए। उनले भने, ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तय भएको छ। हामी स्वागत गर्न आतुर छौं। निकट दिनमै भ्रमण हुन्छ।’

राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ एक टोली बुधबार काठमाडौं आएको छ। काठमाडौंको सुरक्षा व्यवस्थापनबारे अनुगमन गर्न चिनियाँ सुरक्षा निकायको टोली काठमाडाैं आएको हो।

प्रकाशित: १६ आश्विन २०७६ ००:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App