२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नक्कली लाइसेन्स प्रकरणमा यातायातका पूर्व कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले यातायात व्यवस्था विभागका पूर्व कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको छ। विभागले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा उनलाई सोधपुछका लागि सिआइबीले जनाएको छ। ‘उहाँसँग केही बुझ्नुपर्ने अवस्था आयो त्यही भएर ल्याइएको हो’, सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले भने।

विभागको छानविनबाट १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। यस अवधिमा यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार लाइसेन्स कार्डमा नम्बर मात्रै राखिएको छ। आवश्यक परेका बेला अन्य विवरण भरेर बिक्री गर्न यसो गरिएको स्रोतको दाबी छ।

पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागका आइटी प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानविन गरिएको थियो।

सिआइबीको नियन्त्रणमा रहेका भट्ट यसअघि २०७१ सालमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका थिए। लामो समयदेखि विभागमा करारको कर्मचारीका रूपमा रहेका भट्टलाई सिआइबीले नियन्त्रण लिई अनुसन्धान शुरू गरेको हो। भट्ट लामो समयदेखि विभागका लाइसेन्स प्रिन्ट गर्ने शाखामा १२ वर्षदेखि करारमा कार्यरत थिए। नक्कली लाइसेन्स वितरणमा उनको भूमिका देखिएपछि विभागका महानिर्दैशक उद्धव रिजालले करारको म्याद थपेका थिएनन। उनलाई फागुनदेखि विभागमा हाजिर गर्न दिइएको थिएन।

प्रकाशित: १५ वैशाख २०८१ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App