१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘के लोकतन्त्र खतरामा छ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि आइलागे जाइलाग्ने बताएका छन्। २७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्। ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्।

बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन,’ सिंहदरवारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

उनले कसैको पनि नाम ननिी र डमरुको उदाहरण दिएर जाइलाग्ने चेतावनी दिएका थिए। उनले प्रतिबन्धित विप्लव समूहको नाम नलिई नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेकाले बताए। ‘केही हिंसात्मक प्रयासहरू क्षणिक वितण्डा मात्रै हुन्, हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन,’ उनले भने।

नेताहरूले बारम्बार लोकतन्त्र खतरामा रहेको बताउँदै आए पनि कोबाट र कसरी खतरा छ भन्नेबारे प्रामाणिक कुरा हालसम्म नआएकाले यस्तो अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।

त्यसो त प्रधानमन्त्री ओलीले बुधबारमात्रै यस्तो अभिव्यक्ति दिएका होइनन्। उनले गत असार ३ गते सञ्चारकर्मीहरूसँगको भेटघाटमा पनि यस्तै अभिव्यक्ति दिएका थिए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध विभिन्न प्रकारका तत्वहरू घोर दक्षिणपन्थीदेखि घोर बामपन्थीसम्म, अति बामउग्रपन्थीदेखि अति दक्षिण प्रतिक्रियावादी समूह एकजुट भएको अवस्थामा लोकतान्त्रिक शक्तिहरू जुन कुराप्रति सजग हुनुपर्ने, जसका बीचमा एकता हुनुपर्ने त्यो नभएको मात्रै होइन, त्यसलाई बिथोल्न लोकतान्त्रिक शक्ति नै अग्रसर भएको देख्दा आश्चर्य लाग्छ,’ उनले भनेका थिए।

उनले बुधबार पनि सोही प्रकृतिको अभिव्यक्ति दिए। ‘लोकतन्त्रमाथि खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्। केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्, गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ।’

त्यस्तै भदौ १ गते संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिने तत्वहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका थिए। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराएका थिए। ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ तर सरकारको संयमतालाई हेरेर केही तत्वहरू बढी हौसिएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले त्यतिबेला संसद्मा भने ,‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सह्य हुँदैन। जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरू नहौसिए हुन्छ।’

त्यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिगामीहरू सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि चेतावनी दिएका थिए। ‘प्रधानमन्त्री लगलग कामेका छन्, प्रधानमन्त्री पद जाने भए भनेको सुनें। पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन। मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ त्यतिबेला ओलीले भनेका थिए, ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ। चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ।’

तर प्रधानमन्त्री ओलीले लोकतन्त्र कसका कारण खतरामा परेको हो भन्ने बारेमा केही बताएका छैनन्। उनले कुनै दल, संगठित समूह तथा कुनै संस्थाबाट लोकतन्त्र खतरामा परेको हो भन्ने बारेमा केही बताएका छैनन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले तत्काल लोकतन्त्रलाई खतरा नभए पनि आफ्नो सत्ता शक्ति खोसिएकाहरू अन्य कारणले उत्पन्न भएको विरोधमा खेलेर चलमलाउन खोज्दा प्रधानमन्त्रीको सो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन्। ‘सबै सूचनाको पहँुचमा उहाँ हुनुहन्छ कुनै सूचना पाएर पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ। वा संविधान निर्माणका सहयात्रीहरूलाई लोकतन्त्रको पक्षमा र आफ्ना पक्षमा राख्न पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ,’ प्राध्यापक पोखरेलले भने।

उनका अनुसार सम्भावित भय देखाएर प्रधानमन्त्रीले सरकार विरोधी दलहरूलाई आफ्नो पक्षमा पार्ने कलाको रूपमा पनि प्रयोग गरेका हुनसक्छन्। ‘अराजकता व्याप्त छ। हिजो सत्ता र शक्ति खोसिएकाहरू सानो कुरामा खेलेर जनतामा आफू स्थापित हुने कोसिस गरिरहेको आभाष हुनथाल्दा पनि यस्तो अभिव्यक्ति आउने गर्छ,’ प्राध्यापक पोखरेलले भने, ‘संविधानमा उत्तिकै स्वामित्व राख्ने दल सत्ताबाहिर छ उसले सरकारका कमजोरीलाई लिएर विरोध गरिरहँदा उसको ध्यान लोकतन्त्रतर्फ तानेर सरकार आफ्नो काममा लाग्न थालेको पनि हुनसक्छ।’

राजनीतिक विश्लेषक झलक सुवेदीले पनि तत्कालै व्यवस्थामाथि खतरा नभएको टिप्पणी गरे। संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वसहितको राज्यव्यवस्थालाई केही असहज मान्ने मानिसले चलखेल गर्न खोजेका होलान् भन्दै उनले व्यवस्थामाथि नै चुनौती आएको भन्न नमिल्ने बताए। ‘केही नयाँपन ल्याएका छौं, त्यसलाई मन नपराउने मानिसहरू छन्, मन्त्रीले वा सरकारले गरेका कामको कमजोरीलाई टेकेर दरबारसँग निकट भएका व्यक्तिहरूले व्यवस्थामाथि प्रश्न उठाएका होलान् तर त्यसको सम्भावना कति हुन्छ भन्ने अर्को पाटो हो। केही धार्मिक उत्तेजित समूहले पनि सरकारका कमजोरीलाई टेकेर आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ कि भनेर लागेका छन्,’ राजनीतिक विश्लेषक सुवेदीले भने।

उनका अनुसार भारतमा नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा पनि केही भारतीयहरू नेपालमा आएपछि नेपाली कांग्रेसकै महामन्त्रीले पनि हिन्दु राज्यको वकालत गर्दा व्यवस्था नै परिवर्तन गर्न पाइन्छ कि भन्ने तत्वहरू सल्बलाएको र यसलाई हेरेर पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको बताए। ‘सरकारका काम–कारबाहीप्रति प्रश्न उठाएका बेला मानिसका विभिन्न असन्तुष्टिहरू विकास भएन, रोजगारी पाइनँ जस्ता विषयलाई ‘डाइभर्ट’ गर्न पनि प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा भएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेका हुनसक्छन्,’ विश्लेषक सुवेदीले भने।

दुई वर्षअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा पनि दिनदिनैजसो सार्वजनिक कार्यक्रममा लोकतन्त्र खतरामा रहेको बताउँथे। अहिले उनी यही सरकारले लोकतन्त्र खतरामा पार्न लागेको आरोप लगाउँछन्। नेपाली कांग्रेसकै अर्का नेता शेखर कोइरालाको सार्वजनिक अभिव्यक्ति पनि लोकतन्त्र खतरामा पर्न लागेको भन्ने हुन्छ। राजनीतिक विश्लेषकका अनुसार कोबाट कसरी लोकतन्त्र खतरामा परेको छ भन्ने बारेमा नेताहरूबाट कुनै प्रामाणिक कुरा हालसम्म नआएकाले ‘लोकतन्त्र खतरामा छ,’ भन्ने अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।

प्रकाशित: २ आश्विन २०७६ ००:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App