७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

ललितानिवास प्रकरणका आरोपितको शंकास्पद मृत्यु

काठमाडौं– बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिव १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणका आरोपितको काठमाडौंमा शंकास्पद मृत्यु भएको छ। डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन नायव सुब्बा समेत रहेका पर्वतको फलेबास नगरपालिका–६ देविस्थानका युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौंको सामाखुसीस्थित सपिङसेन्टर हिमालय सिटीसेन्टरबाट खसेर मृत्यु भएको हो। 

२०२१ सालमै मुआब्जा दिएर अधिग्रहण गरिएको सरकारी जग्गा आर्थिक प्रलोभनमा परेर तत्कालिन भोगिधिकारीका नाममा कायम गर्न उनीसहित डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले नक्कली फाइल खडा गरेको आरोप छ। २०५८ सालमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठ त्यसपछि भने विभिन्न संघसंस्था हुँदै नेपाली कांग्रेससँग आवद्ध भएका थिए। २०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन्। 

श्रेष्ठले आत्महत्या गरे वा संकास्पद मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द बोगटीले श्रेष्ठले आत्महत्या नै गरेको वा संकास्पद मृत्यु भन्नेबारे बिस्तृत अनुसन्धान जारी रहेको बताए। ‘आठौं तला रहेको सपिङ सेन्टरको सबैभन्दा माथिल्लो तलामा सरासर गएर हाम फालेको देख्यौं,’ स्थानीय र सपिङ सेन्टरका कर्मचारीको भनाई उदृत गर्दै डिएसपी बोगटीले भने, ‘तत्काल उपचारका पिपुल्स अस्पताल लैजाने क्रममा उनको निधन भएको देखिन्छ।’

नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव समेत रहेका ५४ वर्षीय श्रेष्ठ साततले भवनबाट खसेका थिए। तत्काल नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारका लागि लगिएकोमा बाटैमा उनको मृत्यु भएको हो। ललितानिवासको जग्गा हिनामिना प्रकरणमा श्रेष्ठसहित खरिदारदेखि पूर्व प्रधानमन्त्री सम्मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ।

मृतक श्रेष्ठले यसअघि नै अख्तियारमा बयान दिइसकेका छन्। ललितानिवासको सरकारी जग्गा भूमाफियाका नाममा  कायम गर्न श्रेष्ठसहितका कर्मचारीले फायल खडा गरेका थिए। फाइल खडा गर्ने र फाइल सदर गर्ने मालपोतका सबै कर्मचारी अख्तियारको छानविनमै छन्। श्रेष्ठको संलग्नता देखिएको कसुरमा आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख मालपोत अधिकृतहरु कलाधर देउजा, टिकाराम घिमिरे, हरिकृष्ण तिमल्सिनासहित खरिदार देखि सहसचिव सम्मका आरोपितमाथी बयान लिइसकेको छ। त्यस्तै भूमिसुधार कार्यालय, मन्त्रालय र मन्त्रिपरिषदका निर्णयमा संलग्न उच्च पदस्थमाथि पनि अख्तियारमा अनुसन्धान चलिरहेको छ।

प्रकाशित: १२ श्रावण २०७६ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App