१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट कार्यान्वयनमा साथ दिनुहोस् : मन्त्री सुवेदी

बाजुरा - सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बजेट कार्यान्वनमा साथ दिन पत्रकारसँग आग्रह गरेका छन्। विकासका लागि थुप्रै बजेट लगानी भएकोले गुणात्मक उपलब्धि हासिल गर्ने गरी बजेट कार्यान्वयनमा साथ दिन आग्रह गरेका हुन्।

सामाजिक विकास मन्त्रालयले मार्तडीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा मन्त्री सुवेदीले सत्य, तथ्य र बस्तुपरक समाचार लेखेर जनताको सुसूचित हुने अधिकारको संरक्षण गर्न सुझाव दिएका छन्। 

अन्तरप्रदेशस्तरीय मुख्यमन्त्री कप खेलकुदको विषयतर्फ संकेत गर्दै मन्त्री सुवेदीले पूर्वाग्रह र आशंकाले समाजमा सकारात्मक सन्देश नजाने बताएका छन्। समाचार विश्वास लाग्दो र तथ्यमा आधारित हुनुपर्ने भन्दै विरोध नभई आलोचना गर्न सुझाव दिएका मन्त्री सुवेदीले बजेटमा बाजुरालाई पहिलो प्राथमिकतामा राख्न बताएका छन्।

बाजुरामा मात्र ३० करोड बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक विकासलगायत क्षेत्रमा आएकोले त्यसको रखबारी गर्ने कार्यमा सघाउनु आग्रह गरेका छन्।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गगन हमालले समाजको उन्नती प्रगती कर्मचारी, राजनीतिक दलका नेता र माननीयले मात्र संभव विषय नभएको बताएका छन्। बजेट प्रभाव र दबाबमा विनियोजन नभई आवश्यक र मागका आधारमा हुने भएकोले विकासमा हातेमातो गर्न आग्रह गरेका छन्।

पत्रकार महासंघ बाजुरा शाखासँग सहकार्य गरी सञ्चालन गरिएको अन्र्तक्रियामा मन्त्रालयका सचिव गगन हमाल, जनस्वास्थ्य अधिकृत रमेश कुँवर लगायतले विकास निर्माणका योजना र आर्थिक बजेटबारे जानकारी गराएका थिए। जिल्लामा तत्काल २ वटा आत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स मन्त्रालयले पठाउन लागेको अन्र्तक्रियामा जानकारी गराइएको छ।

डाक्टर र इन्जिनियर पढ्न प्रदेश सरकारले सहयोग गर्ने 

मन्त्री सुवेदीले प्राविधिक शिक्षा पढ्न चाहनेहरुका लागि आर्थिक अभावले नरोकिने बताएका छन्। सुदूर पश्चिमले दक्ष जनशक्ति उत्पादन गर्ने हकमा सबै प्रकारको लगानी गर्न तयार रहेको बताउँदै मन्त्री सुवेदीले डाक्टर र इन्जिनियर पढ्नेहरुका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्। 

रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारमा कुरा गर्दै सुवेदीले सुदूरपश्चिम आर्थिक रुपमा मात्र पछाडि नभई शैक्षिक जनशक्तिको हिसाबमा पनि पछि परेकोले त्यो रिक्ततता पूरा गर्न मन्त्रालय तयार रहेको बताएका छन्। 

आगामी आर्थिक वर्षबाट चार जना दलित, जनजाति र महिलाको कोटाबाट र चार जना खुला कोटाबाट एमबीबीएस पढाउन प्रदेश सरकारले बजेट नै विनियोजना गर्ने उद्घोष गरेका छन्। 

कर्मचारी समायोजनले कामकारवाहीमा समस्या परेको र बजेट कार्यान्वयनमा चुनौती थपिएको मन्त्री सुवेदीको भनाइ छ। विशषेज्ञ शिविरको उद्घाटन गर्न बाजुरा आइपुगेका सुवेदीले दुर्गमको समस्या संवोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। 

प्रकाशित: २० चैत्र २०७५ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App