१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

टुंगो लागेन नेकपाको एकीकरण

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ल प्रदेश सदस्य नियुक्ति र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने काम अझै टुंग्याउन सकेको छैन।

केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने तथा प्रदेश सदस्यको टुंगो तिहार अघि नै लगाउने गरी नेकपाले सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । ‘उहाँहरुले गृहकार्यमा हुनुहुन्छ अझै टुंगो लागिसकेको छैन,’ नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने । हाल प्रदेश सदस्यहरुको लिस्ट तयार पार्ने काम भइरहेको श्रेष्ठले जानकारी दिए । जिम्मेवारी पूरा गरेपछि समितिले प्रस्ताव सचिवालयमा पेस गर्ने र सो प्रस्तावलाई स्थायी समितिले बैठकमा पारित गर्ने श्रेष्ठले बताए । नेकपाको कात्तिक ८ गते बसेको सचिवालय बैठकले प्रदेश सदस्यको टुंगो लगाउने र केन्द्रीय सदस्यलाई जिम्मेवारी बाँडफाँट गर्ने जिम्मा थापा र पौडेललाई दिएको थियो।

नेकपाले सात वटै प्रदेशमा प्रदेश पदाधिकारी इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि प्रदेशका अन्य सदस्य भने हालसम्म पनि टुंगो लगाउन सकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको साढे पाँच महिनाभन्दा बढी समय भइसक्दा पनि उक्त पार्टीले साढे चार सय केन्द्रीय सदस्यको जिम्मेवारी तोक्न सकेको छैन।

नेकपा उच्च स्रोतका अनुसार दुई पूर्व पार्टी र त्यसभित्र रहेका फरक–फरक गुटबाट प्रदेश सदस्यमा आकांक्षीहरु धेरै हुँदा सदस्य चयनमा केही समस्या देखिएको छ । पार्टीले प्रदेश पदाधिकारीको चयन गरे पनि पार्टीभित्र त्यस विषयमा पनि असन्तुष्टि व्यक्त हुँदै आएको छ । प्रदेश पदाधिकारी नियुक्तिका विषयमा नेकपाका नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाएकामा नेकपाको सचिवालय बैठकले नेपालको असन्तुष्टिको विषयलाई छलफलमा ल्याइसकेको छ । बैठकले नेपालको असन्तुष्टिलाई सम्बोधन भने गरेको छैन।

नेकपाले गुटगत विवादका कारण जिल्ला तह र जनवर्गीय संगठनको एकीकरण समेत टुंग्याउन सकेको छैन । तल्लो तहको एकीकरण सम्पन्न गर्ने गरी नेकपाले कार्यदलको व्यवस्था गरेपनि कार्यदलले विवादका कारण एकीकरण टुंग्याउन नसकेपछि एकीकरणको जिम्मा प्रदेश पदाधिकारीहरुलाई दिइएको छ।

पछिल्लो पटक नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सुस्ताएको छ । नेकपाले वैद्यानिक निर्णय गर्ने निकाय भनिने स्थायी समितिको बैठक कात्तिक १२ र १३ गतेका लागि बोलाए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि अहिले स्थायी समितिको समेत टुंगो लाग्न सकेको छैन । पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि पार्टीका अन्य कामकारबाही पनि प्रभावित हुँदै आएको नेकपाका नेताहरु बताउँछन्।

प्रकाशित: २१ कार्तिक २०७५ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App