१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बीपीले उहिल्यै चिनेका कम्युनिष्टलाई बल्ल चिन्दैछु : देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

छत्तीसौँ बीपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए।

आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भने, “बीपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता काँग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ।”

ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए। काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बीपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्दै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिए।

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बीपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै काँग्रेसीजनका मनमा भए पनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखिन्। रासस

 

प्रकाशित: ६ श्रावण २०७५ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App