१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ।

सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले बताए।

सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ।

त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने पनि कार्यक्षेत्र तोकिएको छ।

नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० वटा सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सोको अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिन भनिएको छ।

समितिका सभापति सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्यकुमार थापा छन् भने सदस्यहरूमा एमालेबाट सरिता भुषाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App